जलजलामा कक्षा ८ को नतिजा कमजोर

ठाकुरप्रसाद आचार्य /बेनी
बैशाख १९ गते ।

विद्यालयको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य  र गाउँपालिकाका शिक्षा संयोजक एकिन्द्र खत्री । तस्विर ठाकुरप्रसाद आचार्य 

म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयहरुको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैले कक्षा ८ को परीक्षा संचालन गरी उत्तरपुस्तिाका जाँच समेत गरेर नतिजा प्रकाशित गरेको छ ।

गाउँपालिका भित्र आधारभूत र माध्यमिक गरी १२ सामुदायिक र दुई संस्थागत गरी १४ विद्यालयका कक्षा ८ मा अध्ययनरत दुईसय ३० जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्य ७४ जना मात्र उत्तीर्ण भएका छन् । ती मध्य दुईवटा विद्यालयको नतिजा शून्य रहेको छ । गाउँपालिकाले हालै मात्र आधारभूत शिक्षा परीक्षा २०८० को नतिजा सार्वजनिक गरेको थियो ।

गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको नतिजा अनुसार अधिकांश विद्यालयको उत्तीर्ण संख्या न्यून छ । परीक्षा दिएका मध्य एकसय ५६ जना विद्यार्थी कक्षा ८ अनुत्तीर्ण भएको शिक्षा शाखाका अधिकृत यज्ञप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

ADV

 

परीक्षा संचालनका लागि गाउँपालिकाले परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षको समेत व्यवस्था गरी अनुगमन गर्ने व्यवस्था मिलाएर परीक्षाको सबै प्रक्रिया पुरा गरेकाले वास्तविक नतिजा आएको उहाँले बताउनुभयो ।

सबै उत्तरपुस्तिकालाई गाउँपालिका केन्द्रमा संकलन पश्चात कोर्डिङ गरेर विषय विशेषज्ञ शिक्षकबाट उत्तरपुस्तिकाको जाँचेर नतिजा सार्वजनिक गरिएकाले अघिल्लो वर्ष भन्दा यस वर्षको नतिजा फरक आएको उहाँको भनाई छ ।

गाउँपालिकाले दिएको जानकारी अनुसार शालिजा माध्यमिक विद्यालयबाट १४ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा सबै फेल भएका छन् । यस्तै ९ जना विद्यार्थी सहभागी भएको ज्योती माविका सबै विद्यार्थी फेल भए ।

यस्तै विद्याज्योती माविबाट ३९ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्य एकजना मात्र उत्तीर्ण भए । कृष्ण भवन धर्म माविमा १२ जनाले परीक्षा दिएकोमा एकजना मात्र उत्तीर्ण भएको शिक्षा अधिकृत लामिछानेले जानकारी दिनुभयो । बनौं माविमा १५ जना सहभागी भएकोमा तीन जना मात्र उत्तीर्ण भए । शिव माविमा १३ जनाले परीक्षा दिएकोमा तीन जना मात्र उत्तीर्ण भए । शान्ति आधारभूत विद्यालयमा ६ जनाले परीक्षा दिएकोमा दुईजना मात्र पास भए ।

फर्से धाईरिङ माविमा १३ जनाले परीक्षा दिएकोमा तीन जना मात्र उत्तीर्ण भए । ज्योती मण्डल माविमा १३ जनामा ८ जना विद्यार्थी पास भएका छन् ।
यसैगरी लुङ्दी आधारभूत विद्यालयमा १३ विद्यार्थी परीक्षामा सहभागी भएको मध्य तीन जना मात्र उत्तीर्ण भए । जनकल्याण माविमा २५ जनाले परीक्षा दिएकोमा १५ जना उत्तीर्ण भएका छन् । ग्राम प्रकाश माविमा २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ८ जना मात्रले कक्षा ८ उत्तीर्ण गरेको शिक्षा शाखाले जनाएको छ ।

यस्तै संस्थागत विद्यालयको नतिजा पनि सन्तोषजनक देखिएको छैन । न्यू होराइजन माविमा २३ जनाले परीक्षा दिएकोमा १३ जना पास भए । अमृत आदर्श माविमा २१ जनामा १८ विद्यार्थी पास भए ।

कक्षा ८ को नतिजालाई मुल्याङ्कन गर्दा अत्यन्त निराशाजनक स्थित देखिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कक्षा ८ को नतिजालाई गम्भिर रुपमा लिएका छौं । नतिजाले शिक्षा क्षेत्रमा राज्यले गरेको लगानी बालुवामा पानी जस्तै भएको छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि ठोस कदम चाल्नुपर्ने बाध्यता सिर्जना गरेको छ ।’’ उहाँका अनुसार अन्य कक्षाहरुको नतिजा पनि राम्रो नदेखिएको बताउनुभयो ।

यसपाली गाउँपालिका आफैले उत्तरपुस्तिका जाँचेको थियो उहाँले भन्नुभयो शिक्षा अधिकृत लामिछानेले भन्नुभयो, ‘‘नतिजा वास्तविक आएको छ । नतिजाले सबैलाई झस्काइदिएको छ । आगमी दिनमा सुधार गर्ने ठोस योजना बनाउन आवश्यक छ ।’’
कोभिड–१९ को प्रभाव र अघिल्ला वर्षहरुमा स्वतः पास हुने प्रचलनका कारण विद्यार्थीहरुमा पठन संस्कृति हस हुँदै जानुले नतिजा निराशाजनक देखिएको शिक्षा अधिकृत लामिछानेको भनाई छ ।

कक्षा ८ को परीक्षा नतिजा निराशाजनक देखिएपछि गाउँपालिकाले आज बुधबार वार्षिक परीक्षाको नतिजाको विश्लेषण र आगामी शैक्षिक कार्ययोजनाका बारेमा सरोकारवालाहरुकाबीच बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत फणीन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो । साभारः गोरखापत्र अनलाइन