मापसे चेकिङमा म्याग्दीमा दुईसय सवारी चालक कारबाहीमा

ठाकुरप्रसाद आचार्य
म्याग्दी,बैशाख १९ गते ।

जिल्ला ट्राफिक कार्यालय म्याग्दीले पछिल्लो तिनमहिना यता मापसे चेकिङलाई प्रभावकारी रुपमा संचालन गरेको छ । अभियानका क्रममा तीन महिनाको अवधिमा दुईसय भन्दा बढी सवारी चालक कारबाहीमा परेका छन् ।
मादक प्रदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढेपछि ट्राफिक कार्यालयले तीन महिना अघि देखि मापसे चेकिङलाई अभियानका रुपमा संचालन गर्दै आएको छ ।
साँझ देखि राती अबेर सम्म सदरमुकाम बेनी बजारका विभिन्न चोकहरु,बसपार्क क्षेत्र,बेनी भित्रिने र बाहिरीने नाकामा ट्राफिक प्रहरीले मापसे चेकिङलाई कडाई गरेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वरिष्ठ नायव निरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

जिल्लाको जुनसुकै स्थानमा पनि हामीले मापसे चेकिङ गर्ने गरेका छौं उहाँले भन्नुभयो, ‘‘हामीले सरप्राइज चेकिङ गर्दछौं । मापसे चेकिङका क्रममा कारबाहीमा परेकाहरुलाई ट्राफिक नियम,कानूनी विषय,मापसे गरेर सवारी चलाउदा हुने दुर्घटना र क्षतिका वारेमा कलाश संचालन गरेका छौं ।’’ मापसे चेकिङमा परेकालाई प्रशिक्षण दिएर मात्र कागजात दिने गरेको उहाँको भनाई छ ।
म्याग्दीमा मापसे गरेर सवारी चलाउने बढी देखिएको छ ट्राफिक प्रहरी प्रमुख केसीले भन्नुभयो,‘‘मापसे चेकिङलाई प्रभावकारी रुपमा संचालन गरेका छौं । महिनामा एकसय जनासम्म सवारी चालक कारबाहीमा पर्ने गरेका छन् ।यो संख्या धेरै हो ।’’ मापसे गरेर सवारी चलाउनेलाई पहिलो पटक एकहजार रुपियाँ जरिवाना तिराउने गरेको कार्यालय प्रमुख केसीले बताउनुभयो ।


चेकिङलाई कडाई गरेपछि मापसे गरेर सवारी चलाउने प्रवृत्ति निरुत्साहित हुनुका साथै सवारी दुर्घटनामा समेत कमी आएको प्रमुख केसीको भनाई छ । अभियानलाई तिव्रता दिएका कारण मापसे गरेर सवारी चलाउने प्रवत्तिमा कमी आएको उहाँले बताउनुभयो ।
मापसे चेकिङका क्रममा कारबाहीमा परेकाहरुबाट तीन महिनाको अवधिमा दुईलाख पाँचहजार रुपियाँ जरिवाना बापत राजश्व संकलन भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार रामकृष्ण पन्तले जानकारी दिनुभयो । बेनीको कालिपुल बसपार्कमा रहेको कार्यालयका साथै सिंगा,भुरुङ तातोपानी,दाना र दरबाङमा रहेको अस्थायी ट्राफिक पोष्टबाट समेत ट्राफिक व्यवस्थापन र चेकिङको व्यवस्था मिलाइएको कार्यालयको भनाई छ ।

यसैगरी चालु आर्थिक वर्षको साउन देखि बैशाख १७ गते सम्म ट्राफिक नियम उल्ङ्घन गर्ने करिब सात हजार पाँचसय जना सवारी चालकहरु कारबाहीमा परेको र ५५ लाख १३ हजार पाँचसय रुपियाँ जरिवाना वापत राजश्व संकलन भएको ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । यो अवधिमा जिल्लाका विभिन्न स्थानहरुमा संचालन गरेको सचेतनामुलक कार्यक्रम मार्फत करिब पच्चिस हजार जनालाई ट्राफिक नियमका बारेमा जानकारी गराइएको ट्राफिक कार्यालयका प्रमुख केसीले बताउनुभयो ।