जिल्ला अस्पतालमा औषधि अभाव

घनश्याम खड्का /बेनी
माघ ११ गते ।

  • सिटामोलसमेत बाहिर किन्नुपर्ने
  • केन्द्र र क्षेत्रीयले नै औषधि ढिला पठाउँछन्
  • ७० मध्ये ३५ प्रकारका औषधि मात्र अस्पतालमा उपलब्ध
  • औषधि भए पनि बिरामीले पाउँदैनन्
 बीस रुपैयाँको टिकट काटेपछि बिरामी चिकित्सककहाँ जाँच्न पुग्छन् । डाक्टरले कार्डमा औषधिको ‘प्रेस्क्रिप्सन’ लेखिदिएपछि उनीहरू औषधि लिन जिल्ला अस्पतालको ‘डिस्पेन्सरी’ (औषधि वितरण कक्ष) मा जान्छन् । तर त्यहाँ सिटामोलदेखि अधिकांश नि:शुल्क भनिएका कुनै औषधि पाइँदैन । बिरामीले ती औषधि बाहिरबाटै किन्नुपर्ने बाध्यता छ ।
Jilla Aaspatal Ra DHO Parisarडिस्पेन्सरीको बाहिरपट्टि नि:शुल्क पाइने ७० प्रकारका औषधिको सूची झुन्ड्याइएको छ । तर त्यहीं कार्यरत स्वास्थ्यकर्मीका अनुसार अस्पतालको औषधि वितरण कक्षमा ३५ भन्दा बढी प्रकारका औषधि नै उपलब्ध छैन ।
नि:शुल्क औषधि पाइने आसमा त्यहाँ जँचाउन पुगेका विपन्न, ज्येष्ठ नागरिकहरू नाम दर्तास्वरूप अस्पताललाई उल्टो २० रुपैयाँ तिर्न बाध्य छन् । अस्पतालको बिरामी दर्ता चलानी फाँटकी मेलिना चोखालले इमर्जेन्सीबाहेक ओपीडीमा दैनिक ८० बढी बिरामी आउने गरेको बताइन् ।
‘अस्पतालमा नि:शुल्क पाइनेमध्ये केही औषधि सकिएको छ । अब बढीमा एक सातालाई पुग्छ,’ स्टोरकिपर लीला पौडेलले भने, ‘सम्बन्धित निकायले जिल्लामै औषधि नपठाएकाले यस्तो समस्या उत्पन्न भएको हो ।’ अस्पतालको स्टोर शाखाले केहीबाहेक औषधि उपलब्ध रहेको भने पनि डिस्पेन्सरी भने रित्तै छ ।
स्टोरमा रहेको औषधिसमेत बिरामीलाई उपलब्ध नगराएको पाइएको छ । सरकारले जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र स्वास्थ्यचौकीमा ४२ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराउनु भनेको छ । नि:शुल्क औषधिमध्ये केन्द्रीय स्टोरबाट ७० प्रतिशत, क्षेत्रीय मेडिकल स्टोर्सबाट १० प्रतिशत र बाँकी औषधि सम्बन्धित जिल्लाले खरिद गर्न पाउने व्यवस्था छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार केन्द्रीय तथा क्षेत्रीय मेडिकल स्टोरबाट तोकिएका सबै ७० प्रकारका नि:शुल्क औषधि आएको छैन । बर्सेनि अपुग र अधुरा औषधि मात्र आउने गरेको छ । अभाव थेग्न अस्पताल विकास समितिले गत वर्ष २४ लाख रुपैयाँ बराबरको औषधि खरिद गरे पनि अपुग भएको हो ।
लामो समयदेखि सिटामोलसमेत अभाव भएपछि जिल्ला स्वास्थ्य कार्यालयले छुट्टै टेन्डर प्रक्रियामा रहेको जनाएको छ । ‘अस्पतालमा तोकिएका सबै नि:शुल्क औषधि प्राय: अपुग नै भइरहन्छ । केन्द्र र क्षेत्रीयबाट औषधि आउनै ढिला हुने गरेको छ । हामी सकेसम्म व्यवस्थापन गर्ने प्रयासमा छौं,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. रोशन न्यौपानेले भने, ‘जिल्लाले खरिद गरेको औषधिको पहिलो चरण यो सातामा आइपुग्छ, बाँकी छिट्टै ल्याउन ठेकदारलाई भनेका छौं ।’
डाक्टरको उपलब्धता, भिडियो एक्सरे, डिजिटल एक्सरे, ल्याबसमेतका भौतिक पूर्वाधारमा सुधार भए पनि औषधि पर्याप्त नहुँदा उपचार सेवा प्रभावित भएको छ । जिल्ला अस्पतालमा कहिल्यै सामान्य सिटामोलसमेत नपाइने हुँदा सर्वसाधारणले औषधिको दुरुपयोग भएको आशंका गरेका छन् । ekantipur.com