दुर्गममा स्वास्थ्यकर्मी नहुँदा सेवा प्रभावित

सन्तोष गौतम/विकल्प न्यूज
माघ ११ गते ।
म्याग्दीका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका प्राबिधिक जनशक्तीको अभाव भएको छ । स्वास्थ्यकर्मीको कमीले सर्वसाधारण नागरिकहरुले सास्ती भोग्नु परेको छ ।Lack Of Health Parson Main

तस्विर ः भगवती स्वास्थ्य चौकीमा बिरामीलाई परामर्श दिदै करार दरबन्दिकी स्वास्थ्यकर्मी बिपासा परियार । तस्विर नवविकल्प

चार वटा स्वास्थ्य संस्था करार दरबन्दीका स्वास्थ्यकर्मीले धानेका छन । अधिकांश स्वास्थ्य संस्थामा प्रमुख बिहीन छन् । दरबन्दी अनुसारका प्राबिधिकको पदपुर्ती नहुँदा दुर्गमका सर्वसाधारण गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्नबाट बञ्चित भएका मुनाका यामबहादुर भण्डारीले बताउनुभयो ।

छ जनाको दरबन्दी भएको मुना स्वास्थ्य चौकीमा हाल कार्यालय सहयोगी सहित दुई जना मात्र छन् । “एकएक जना हेल्थ असिस्टेन्ट र अनमीसंगै २ जना अहेवको गत महिना एकै पटक सरुवा भयो” भण्डारीले भन्नुभयो “एक जना करार अनमी र कार्यालय सहयोगीले संस्था धानेका छन् ।”

सदरमुकाम बेनी देखि दुई दिनमा पुगीने म्याग्दीको सबैभन्दा दुर्गम गाविस गुर्जामा कार्यरत चार जना स्वास्थ्यकर्मीको अघिल्लो महिना एकै पटक सरुवा भयो । कार्यरत कर्मचारीहरुको सरुवा भएको र नयाँ कर्मचारी नआएकाले समस्या भएको गुर्जाका बासिन्दाले बताएका छन् ।
“दुर्गम भएकाले कर्मचारी आउनै मान्दैनन्, आएपनि यहाँ पुरा समय बसेर काम गर्दैनन्” गुर्जाका अगुवा रिद्धबहादुर छन्त्यालले भन्नुभयो “तालीम, गोष्ठिको बाहनामा सदरमुकाम जाने स्वास्थ्यकर्मी महिनौसम्म उतै हराउँछन् । सर्वसाधारण आधारभुत औषधि उपचार सेवाबाट बञ्चित छन् ।”

मुना र गुर्जासंगै भुरुङ तातोपानी, पाखापानी स्वास्थ्य चौकीमा कार्यरत दरबन्दीका सबै स्थायी स्वास्थ्यकर्मी सरुवा भएपछि अहिले करारमा नियुक्त भएका कर्मचारीले धानेका छन् । पर्याप्त जनशक्ती नहुँदा भएका स्वास्थ्यकर्मीलाई कामको बोझ बढेको भगवती स्वास्थ्य चौकीका प्रमुख टिकाबहादुर शाहीले बताउनुभयो ।

विभिन्न तहका छ जनाको दरबन्दी रहेको भगवती स्वास्थ्य चौकीमा हाल दुई जना मात्र प्राबिधिक छन् । बिरामीको स्वास्थ्य परिक्षण, परामर्श, औषधि वितरण, प्रसुती केन्द्र, गाउँघर क्लिनिक र कार्यालय सञ्चालन गर्न सिमित जनशक्तीलाई समस्या भएको शाहीले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्थामा हाल १११ जना स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ । २४ वटा स्वास्थ्य चौकीका प्रमुख हेल्थ असिस्टेन्ट पद रिक्त छ । जिल्ला अस्पतालमा तिन जना हेल्थ असिस्टेन्ट र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा तिन जना अहेवको दरबन्दी खाली भएको अस्पतालका नायव सुब्बा रामचन्द्र रेग्मीले बताउनुभयो ।

२७ जना हेल्थ असिस्टेन्ट, २९ जना अहेव, ४१ जना अनमी, ६ जना कार्यालय सहयोगी चार जना स्टाफ नर्स, एक जना मेडिकल रेर्कडर र तिन जना ल्याब टेक्नीसियनको दरबन्दीमा पदपुर्ती हुन सकेको छैन् ।

मन्त्रालय, बिभाग र क्षेत्रीय निर्देशनालयले जिल्लासंग समन्वय नगरिकन केही स्वास्थ्य संस्थाका सबै कर्मचारीको सरुवा गरिदिएकाले समस्या भएको जिल्ला स्वास्थ्य प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानले बताउनुभयो । “समय अवधि पुगेका कर्मचारीको सरुवा गर्दा जिल्लासंग समन्वय गर्नुपर्छ” न्यौपानेले भन्नुभयो “करारका कर्मचारी पठाएर सेवानै ठप्प हुने अवस्था आउन दिएका छैनौ तर समस्या चाँही छ ।”

गत वर्ष लोक सेवा आयोगमा माग गरिएको विभिन्न तहका ६२ जना जनशक्तीको यस वर्ष पदपूर्तीको तयारीमा रहेको छ । यस वर्ष थप ३७ जना दरबन्दीमा पदपुर्तीका लागि आयोगमा माग गरिएको छ ।