ताजा समाचार:
Search

सुन्तलाले फेरीयो गाउँको परिचय (फोटो सहित)

सन्तोष गौतम/विकल्प न्यूज
माघ ७ गते ।
म्याग्दीको बरङ्जा गाविस १ का बासिन्दाहरु व्यवसायिक सुन्तलाखेती मार्फत गाउँको परिचय फेर्ने अभियानमा लागेका छन् ।Bhedabari Orange Village (2)अनुकुल वातावरण, भुगोल र बजार सुबिधा भएपछि बरङ्जा गाविसको वडा नम्बर १ मा पर्ने भेडाबारी र भोर्लेनीका बासिन्दा सुन्तला खेती विस्तार गरी गाउँलाई सुन्तलाबारीको रुपमा चिनाउने अभियानमा लागेका हुन् । मकै, कोदो, गहुँ लगायत अन्नबालीको विकल्पमा उनिहरुले धमाधम सुन्तला खेती विस्तार गरेका स्थानीय कृषक प्रेम गिरीले बताउनुभयो ।     Bhedabari Orange Village (6)भेडाबारी अहिले सुन्तलाबारीमा परिणत भएको छ भने सोही वडाको भोर्लेनी गाउँमा पनि सुन्तला खेती बिस्तार हुने क्रम बढेको छ । भेडाबारीका ओम गिरी, बेम गिरी र प्रेम गिरीले व्यवसायीक खेती गरेका छन भने भोर्लेनीका १७ घरधुरी बासीन्दा पनि सुन्तला खेती बिस्तारको अभियानमा लागेका छन् ।Bhedabari Orange Village (1)बिहानको झुल्के घाम पर्ने पुर्वतर्फ फर्कीएको भिरालो पाखोमा अवस्थित भोर्लेनी र भेडाबारीको भुगोलले कृषकलाई साथ दिएको अगुवा कृषक ओम गिरीले बताउनुभयो । ‘पहिले वर्षमा पाँच पाथी कोदो फल्थ्यो’ गिरीले सुन्तलाबारी देखाउँदै भन्नुभयो ‘त्यही जमिनमा सुन्तला लगाएर २५ हजार कमाई हुन्छ ।’ सुन्तला खेतीबाट गत वर्ष दश लाख रुपैयाँ आम्दानी गरेका भेडाबारीका कृषकहरुले यस वर्ष पन्ध्र लाख रुपैया बराबरको बिक्री गर्ने लक्ष्य राखेका छन् । त्यहाँको पोखराको बजारमा निकासी हुने गरेको छ । सुन्तला बजारीकरणका लागि कृषकहरु आफै लगानी गरेर गाउँमा सडक पुराएका छन् ।Bhedabari Orange Village (3)भेडाबारी र भोर्लेनीमा सुन्तला खेतीका लागि आवश्यक सिँचाई सुबिधा पनि उपलब्ध छ । स्वादीलो र रसीला सुन्तला उत्पादनका हिसावले प्रसिद्धी कमाएको भेडाबारीको सुन्तलाले बजार पाउन थालेपछि आसपासमा रहेको अन्य पाखो र बारीमा पनि सुन्तला खेती बिस्तार हुने क्रम बढेको छ ।

सुन्तला खेतीबाट उनिहरु रोजगारी सृजना र आयआर्जन वृद्धिको पथमा लम्किएका छन् । त्यहाँका बासिन्दाले न्युनतम एक सय देखि पाँच सय बोटसम्म सुन्तला खेती गरेका छन् । एक परिवारले वर्षमा साढे तिन लाख रुपैयाँ सम्म सुन्तलाबाट आम्दानी गर्छन् ।

पाँच मुरी कोदो फल्ने बारीमा सुन्तला खेती गरेर तिन लाख रुपैयाँ सम्म आम्दानी भएको कृषक बेम गिरीले बताउनुभयो । सुन्तला खेतीमा नमुना बनाउने र कृषि पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले शुक्रबार भेडाबारी पुगेका जिल्लाका सरकारी अधिकारीले सो क्षेत्रलाई सुन्तला गाउँ घोषणा गरेका छन् ।Bhedabari Orange Village (4)कृषकहरुसंगको अन्तरक्रियाका क्रममा जिल्ला न्यायाधिश रामप्रसाद शर्माले भेडाबारीको पाखोबारीमा पहेलपुर फलेका सुन्तलाले नेपालमा गर्न सकेमा सम्भावना छ भन्ने पुष्टी गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले म्याग्दीका कृषकको आयआर्जन वृद्धीका लागि सुन्तला खेतीको राम्रो सम्भावना भएको बताउनुभयो । स्थानीय विकास अधिकारी प्रेमराज गिरीले कृषकको सुबिधा र उत्पादन वृद्धीका लागि पुर्वाधार निर्माणमा जोड दिइएको बताउनुभयो ।Bhedabari Orange Village (7) बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले सुन्तला गाउँ घोषणा गर्दै भेडाबारीलाई कृषि पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताउनुभयो । जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेलले सुन्तलाको बगैचाभित्र अदुवा र बेसार खेती गरेर अतिरित्त आम्दानी गर्न सकिने बताउनुभयो ।

स्थानीय युवा गणेश गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा बरंजा र अर्मन गाविसका राजनितिक दलका प्रमनिधि र अगुवाहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागि स्थानीय बासिन्दाले दुर्गम गाउँमा पहिलो पटक कार्यालय प्रमुखहरु पुगेकोमा खुसी व्यक्त गर्दै खानेपानी, सिचाई, सडक, बिद्युत सम्बन्धि योजना माग गरेका थिए ।