घलेम्दीको साधारणसभा

सन्तोष गौतम/विकल्प न्यूज
बेनी १५ पुस ।
म्याग्दीका सरोकारवालाहरुले झञ्झटिलो नीतीगत ब्यवस्था र समुदाय स्तरमा हुने अवरोधका कारण जलविद्युतको विकास हुन नसकेको बताएका छन् ।

घलेम्दी हाइड्रो लिमीटेडको शुक्रबार बेनीमा भएको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा वक्ताहरुले राज्यका निकायको झञ्झटिलो नीति, कर्मचारीको ढिलासुस्ती र विभिन्न बाहनामा समुदाय स्तरमा हुने अवरोध जलविद्युत विकासको चुनौती रहेको बताएका हुन् ।dsc09136उनीहरुले कागजको पानामा सिमित म्याग्दीको जलविद्युत सम्भावनालाई ब्यवहारमा उतार्न लगानी गर्ने अनुकुल वातावरण, सुरक्षाको प्रत्याभुती, सहज नितीगत व्यवस्था र पुर्वाधार निर्माणमा जोड दिएका छन् । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्माले पछिल्लो समय स्थानीय बासिन्दाको नाममा लगानीकर्ताहरुलाई निरुत्साहीत र हतोत्साहीत बनाउने काम भैरहेको बताउदै लगानी भित्र्याउन सबैले सहयोगी ब्यवहार देखाउन आग्रह गर्नुभयो ।

घलेम्दी हाईड्रो लिमिटेडका सञ्चालक प्रमोद श्रेष्ठले सरकारी निकायको ढिलासुस्ती र प्रक्रियामुखी नियमका कारण जलविद्युतको क्षेत्रमा काम गर्न दुख भएको गुनासो गर्नुभयो । घलेम्दीको सरकारी जग्गा भोगचलन, वित्तिय स्रोत जुटाउने क्रममा सञ्चालकले भोगेका समस्या र दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना स्थानीयलेनै बनाउनुपर्छ भन्ने सरोकार समितिको मागले लगानीकर्ता माझ नकारात्मक सन्देश गएको वत्ताहरुको भनाई थियो ।

साधारणसभामा कम्पनीका अध्यक्ष किशोर सुवेदीले प्रतिवेदन प्रस्तुत गर्दै पाँच मेघावाट क्षमत्ताको घलेम्दीखोला जलविद्युत आयोजनाको आधा भन्दा बढी काम सकिएको जानकारी दिनुभयो । प्रहरी नायव उपरिक्षक विश्वराज खड्का, नारच्याङ गाविसका सचिव दिर्घप्रसाद गौतम, पत्रकार घनश्याम खड्का र लगानीकर्ता भुनु तिलीजाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अध्यक्ष सुवेदीको अध्यक्षता र हरिकृष्ण गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रमको प्रबन्ध निर्देशक श्रेष्ठले समापन गर्नुभएको थियो । आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको नारच्याङमा निर्माणाधिन आयोजनाको सुरुङ निर्माणको काम करिब चार सय मिटर बाँकी छ । एक हजार ७८५ मिटर लामो नहर रहने आयोजनाको विद्युतगृह, ईन्टेक, पेनस्टकको काम भैरहेको छ ।

वि.स २०७१ देखि पुर्वाधार निर्माण सुरु भएको घलेम्दी म्याग्दीमा निजी क्षेत्रले निर्माण सुरु गरेको पहिलो आयोजना हो । ८५ करोड रुपैया लागत अनुमान गरिएको आयोजनामा संस्थापक सेयर सदस्यहरुको तिस करोड रुपैया लगानी रहेको छ । भिबोर सोसाईटी विकास, टुरीजम डेभलपमेन्ट, सिद्धार्थ डेभलपमेन्ट बैङ्क र सिद्धार्थ डेभलपमेन्ट फन्डले यो आयोजनामा ५५ करोड रुपैयाँ लगानी गरेका छन् ।