मुटुरोगी बालीका बचाउ अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ मंसिर । म्याग्दीको एक मुटुरोगी बालीकाको उपचारका लागि आर्थिक स्रोत जुटाउन अभियान सुरु भएको छ ।arnimaबेनी नगरपालिका २ रत्नेचौरकी ७ वर्षिया अरनीमा नेपालीको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको हो । ज्ञानपुञ्ज प्राबिमा कक्षा ३ मा पढ्ने नेपालीको मुटुमा प्वाल परेको गत कात्तिकमा पहिचान भएको थियो ।

अभिभावकको कमजोर आर्थिक अवस्थाका कारणले उनको उपचारमा समस्या भएपछि कोषले सहयोग जुटाउन पहल थालेको हो । उनको हाल काठमाडौ स्थित गंगालाल हृदयरोग उपचार केन्द्रमा उपचार भैरहेको छ ।

मुटुको अप्रेशन गर्न चार लाख पचास हजार रुपैयाँ आवश्यक पर्ने चिकित्सकले बताएका छन् । शल्यक्रिया गरेमा उनको उपचार सफल हुने चिकित्सकको भनाई छ । छोरीको जिवन बचाईदिन बुवा बुढे दमाई र आमा निशा नेपालीले अपिल गर्नुभएको छ ।

विपन्न समुदायका उनिहरु ज्याला मजदुरी र खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका छन् । सहयोग जुटाउन शान्ति कोषले शुक्रबार उपाध्यक्ष हरिकृष्ण गौतमको संयोजकत्वमा स्थानीय राजेश थापामगर, पत्रकार घनश्याम खड्का, विद्यार्थी नेता प्रकाश पौडेल लगायत सदस्य रहेको उपसमिति गठन भएको छ ।

कोषका अध्यक्ष राजेश शाक्यले देश बिदेशमा रहेका म्याग्देलीहरुलाई अरनीमाको जिवन रक्षाका लागि सक्दो सहयोग गर्न आव्हान गर्नुभएको छ । नेपालीको उपचारका लागि शाक्य, कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र बेनपा १ रत्नेचौरका निराजन थापाले पाँचपाँच हजार तथा उपाध्यक्ष गौतम र विद्यार्थी नेता पौडेलले दुईदुई हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

दुई वर्षअघि स्थापित ओमकुमारी शान्ति कोषले हालसम्म २५ जनालाई उपचारका लागि आर्थिक सहयोग जुटाउन समन्वय गरेको छ ।dsc07779 कोषका सचिव लोकेश पुनमगरको सञ्चालन, उपाध्यक्ष गौतमको स्वागत र अध्यक्ष शाक्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा फिनल्याडमा रहेर कोषले सञ्चालन गर्ने अभियानलाई सघाउदै आएका निराजन थापालाई स्वागत गरिएको थियो ।