बजेट कार्यान्वयनमा जुट्न आग्रह

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ मंसिर ।
म्याग्दीका सरोकारवालाहरुबीच आगामी आर्थिक वर्ष २०७४७५ को जिल्ला विकास योजना निर्माणका सम्बन्धमा बिहीबार बेनीमा छलफल भएको छ ।dsc07747

जिविस म्याग्दीले आयोजना गरेको सो पुर्व योजना तर्जुमा गोष्ठिमा जिल्लाका सांसद, राजनीतिक दलका नेता, कार्यालय प्रमुख, गाविस सचिव, गैरसरकारी संघ संस्थाका प्रतिनिधि लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागिहरुले जिल्लामा सिमीत मात्रामा भित्र्ने बजेटको समेत प्रभावकारी र व्यवस्थित परिचालन हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनिहरुले बजेट भित्र्याउने भन्दा पनि योजनालाई प्रभावकारी कार्यान्वयनमा जुट्न जिल्लाबासीलाई आग्रह गरेका हुन् ।

योजनाका लागि बजेट पार्न सक्रिय हुने तर गुणस्तरीय, टिकाउ र प्रभावकारी काम गर्न चासो नदेखाउने प्रवृती जिल्लाको विकासमा बाधक देखिएको सरोकारवालाको ठहर छ । यसलाई समाधान गर्न उपभोक्ता समिति, निर्माण ब्यवसायी र प्राबिधिकलाई जिम्मेवार तथा उत्तरदायी बनाउन सुझाव दिएका छन् ।सांसद रेशमबहादुर बानियाँले रोजगारी सिर्जना, जनसहभागिता र दिर्घकालीन फाईदा पुग्ने योजनाहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले योजना तथा कार्याक्रम कार्यान्वयनमा हुने ढिलासुस्तीको अन्त्यका लागि पहल गर्न कार्यालय प्रमुख, नेता र सर्वसाधारणलाई अनुरोध गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले भौतिक, आर्थिक र सामाजिक विकासका लागि समान महत्व दिनुपर्ने बताउदै एकै ठाउँमा धेरै निकायले एउटै किसीमको योजना सञ्चालन हुँदा डुब्लीकेशन हुने समस्या समाधानका लागि विषयगत कार्यालय, स्थानीय निकाय र गैरसरकारी संस्थाले समन्वय गर्न जोड दिनुभयो ।

स्थानीय विकास अधिकारी प्रेमराज गिरीले योजना र बजेट पार्नका लागि भन्दा कार्यान्वयनका लागि सघाउन आग्रह गर्नुभयो । बजेटको प्रभावकारी परिचालन र दुरुपयोग रोक्न अनुगमन तथा पृष्ठपोषणको अपेक्षा व्यक्त गर्नुभयो ।new-ldoनेपाली काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा, एमालेका सचिव बालकृष्ण सुवेदी, नेकपा माओवादी केन्द्रका गंगाबहादुर बानियाँ, राप्रपा नेपालका पहलबहादुर खत्री, राप्रपाका एकेन्द्र रावल, राष्ट्रिय जनमोर्चाका छवी विश्वकर्मा, अखण्ड नेपालका डम्मरबहादुर बानियाँ र नयाँ शक्तिका प्रेम गिरीले कार्यक्रममा मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्राप्त मार्गदर्शन अनुसार आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम तय गर्दा विपद् ब्यवस्थापनलाई समेत प्राथमिकता दिनुपर्ने नयाँ विषय थपीएको जानकारी गराइएको थियो । स्थानीय विकास अधिकारी प्रेमराज गिरीको अध्यक्षता र जिविसका सूचना अधिकारी पदम भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले योजना तर्जुमाको आधार तथा मार्गदर्शनको बारेमा जानकारी गराउनुभएको थियो ।