खुसिको खबर ः आइतवारबाट बेनी– दरबाङ जीप सेवा सञ्चालन हुने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ मंसिर ।
म्याग्दीमा साढे तिन करोड रुपैयाँको लगानीमा नयाँ यातायात कम्पनी स्थापना भएको छ ।

म्याग्दीको दरवाङ क्षेत्रका युवा व्यवसायीहरुले स्थापना गरेको पश्चिम म्याग्दी यातायात सेवा प्रा.लीले बेनी–दरवाङ सडकमा आगामी आइतबार देखि जिप सेवा सुरु गर्ने तयारी गरेको जनाएको छ ।

हाल पाँच जनाको तिन करोड पचास लाख रुपैयाँ लगानी रहेको प्रालीले पहिलो चरणमा दश वटा जिप सञ्चालन गर्ने बिहीबार बेनीमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको छ ।dsc07714सात जना यात्रु बोक्ने क्षमत्ता भएको महेन्द्र कम्पनीको हाईलक्स ब्राण्डको जिप सेवा अन्य सडकमा समेत विस्तार गर्ने योजना रहेको प्रा.लीका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो ।

छिटो, छरितो, सहज र मर्यादीत यातायात सेवा दिने उद्देश्यले कम्पनी स्थापना गरेको अध्यक्ष रोकाले बताउनुभयो । हाल २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकमा प्रतियात्रु तिन सय रुपैयाँ भाडादर तोकिएको समितिका अनील रोकाले बताउनुभयो ।

थप बिस वटा जिप ल्याएर बेनीदेखि कुहुँ, बरंजा तथा दरवाङबाट लामेला तमान, देविस्थान, निस्कोट, रुम, मराङ र बिम जोड्ने सडकमा पनि सेवा दिने प्रालीले जनाएको छ । यो कम्पनीले यातायात ब्यवस्था कार्यालयबाट धौलागिरी क्षेत्रका सडकमा सेवा दिन अनुमती पाएको छ ।
समितिका सल्लाहकार मुक्ति रोकाले यातायात व्यवसायीहरुबीच प्रतिस्पर्धा हुदाँ सर्वसाधारणले सहज, सर्भसुलभ र छिटो छरिटो सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । बेनी दरवाङ सडकमा हाल म्याग्दी जिप तथा बस व्यवसायी समिति र ट्याक्सी ब्यवसायी समितिले सेवा दिदै आएका छन् ।