म्याग्दीका साठी विद्यालयमा पुस्तकालय र प्रयोगशाला स्थापना गरिने

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ मंसिर ।

यस वर्ष म्याग्दीका साठी वटा विद्यालयमा पुस्तकालय र प्रयोगशाला स्थापना गरिने भएको छ ।

जिल्ला शिक्षा कार्यालयले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा तिस वटा विद्यालयमा विज्ञान, गणित अंग्रेजी प्रयोगशाला र तिस वटामा पुस्तकालय स्थापना गर्न लागिएको जानकारी दिइएको हो ।edu office myagdiप्रयोगशालाका लागि प्रतिविद्यालय एक लाख पचास हजार र पुस्तकालयका लागि छ लाख ५० हजार रुपैयाँका दरले अनुदान दिइने कार्यालयका शाखा अधिकृत दलबहादुर थापाले जानकारी दिनुभयो ।

विद्यार्थीको पढाईप्रति रुची बढाउने र सिकाई उपलब्धी बढाउने उद्देश्यले पुस्तकालय र प्रयोगशाला स्थापनाका लागि विद्यालयहरुबाट प्रस्ताव संकलन गरेर छनौट गर्ने योजना रहेको छ ।
यस वर्ष शिक्षा कार्यालय मार्फत सञ्चालन हुने विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १५ करोड ७९ लाख छ हजार रुपैयाँ बजेट प्राप्त भएकोमा पहिलो चौमासीकमा पाँच करोड २५ लाख ५८ हजार रुपैयाँ खर्च भएको शाखा अधिकृत थापाले बताउनुभयो ।

पहिलो चौमासीकमा लक्ष्यको ८० प्रतिशत वित्तिय प्रगती भएको उहाँले जानकारी दिनुभयो । यस वर्ष हालसम्म भवन लगायत विद्यालय पुर्वाधारका कार्यक्रमहरुका लागि बजेट प्राप्त भईसकेको छैन् ।

भुकम्प प्रभावित जिल्लाहरुमा कक्षाकोठा भवनका योजनाहरु पछि प्राप्त हुने कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले यस वर्ष म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेको जनाएको छ ।

जिशिअ रामकुमार श्रेष्ठले घोषणा गर्न योग्य गाविसलाई साक्षर घोषण गर्ने र योग्य नभएका गाविसमा नयाँ साक्षरता कक्षा सञ्चालन गरेर साक्षर बनाउने अभियान चलाईने बताउनुभयो ।

उहाँले जिल्लाको शैक्षिक सुधारका लागि शिक्षा समितिलाई पूर्णता दिने, शिक्षक महासंगको गठन र दरबन्दी मिलानको पहल थालीएको जानकारी दिनुभयो ।