ठेक्का प्रक्रियालाई प्रबिधि मैत्री र आधुनीकीकरण गर्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ मंसिर ।
ठेक्का प्रक्रियालाई प्रबिधिमैत्री र आधुनिकीकरण गर्ने तयारी भएको सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौले जनाएको छ ।

काठमाडौले बुधबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पुर्वाधार योजना निर्माणमा हुने अनियमितता, मिलेमतो, अस्वस्थ्य प्रतिस्पर्धा, ढिलासुस्ती नियन्त्रणका लागि ठेक्का प्रक्रियामा आधुनिक प्रबिधिको प्रयोग गर्न लागीएको जानकारी दिइएको हो ।

ईविडीङ मार्फत ठेक्का प्रस्ताव गर्ने कार्यलाई थप प्रभावकारी बनाउन मूल्याङकन पनि कम्प्युटरबाटै गर्न सकिने प्रबिधि प्रयोगमा ल्याउन ऐन संसोधनको प्रक्रिया अघि बढेको कार्यालयका निर्देशक शंकरकृष्ण श्रेष्ठले बताउनुभयो ।

ठेक्का प्रक्रियामा हुने अनियमितता र अपारदर्शी गतिबिधिले समग्र पुर्वाधार योजनाहरुको गुणस्तर तथा दिगोपनामा असर परेकाले त्यसलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गर्न लागिएको उहाँको भनाई थियो । श्रेष्ठले निर्माण ब्यवसायीले आर्थिक र प्राबिधिक छुट्टाछुट्टै प्रस्ताव पेश गर्नुपर्ने ब्यवस्था समेत गर्न लागिएको जानकारी दिनुभयो ।

ठेक्का प्रक्रियामा न्युन दरमा बोलपत्र र नक्कली कागजात पेश गर्ने, मोवीलाईजेसन रकम लगेर लामो समयसम्म काम नगर्ने, मिलेमतो गर्ने र उपभोक्ता समितिले जिम्मा लिएको काम तेस्रो व्यक्तिलाई लगाउने जस्ता समस्या नियन्त्रणका लागि पहल गर्नुपर्ने सहभागिको भनाई थियो ।

कार्यालयका सहसचिव हरिशरण पुडाशैनीले विकास योजनालाई पारदर्शी, गुणस्तरीय र दिगो बनाउन सार्वजनिक खरिद ऐनमा भएका व्यवस्थाहरु कडाईका साथ कार्यान्वयन गर्न सरकारी अधिकारीहरुलाई अनुरोध गर्नुभयो ।

दवाव र प्रभावमा नपरी ऐनमा भएका व्यवस्था कडाईका साथ कार्यान्वयन गरे सार्वजनिक खरिदमा धेरै सुधार आउने उहाँको भनाई थियो ।
प्रमख जिल्ला अधिकारी केशवराज आचार्यले न्युन दरमा ठेक्का कबोल गर्ने र गुणस्तरहिन काम गर्न खोज्ने, ढिलासुस्ती गर्ने, उपभोक्ता समितिमा देखिएको ठेकेदार प्रथालाई नियन्त्रण गर्न सचेत बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागि कार्यालय प्रमुख र कर्मचारीहरुले ऐनमा भएका अन्यौलतालाई हटाएर स्पष्ट पार्न र ठेक्का प्रक्रियाको समयअवधि छेटाउने व्यवस्था गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा स्थानीय विकास अधिकारी प्रेमराज गिरी, कोष तथा लेखा नियन्त्रक छवीन्द्र बेलबासे, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, निर्माण ब्यवसायी संघका सचिव ईन्द्रबहादुर बानिया र पत्रकार महासंघका अध्यक्ष सुरत केसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।