म्याग्दी क्याम्पसको महायज्ञबाट एक करोड चार लाख नगद उठ्यो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ मंसिर ।
बेनीमा हालै सम्पन्न भएको म्याग्दी बेनी धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञको बुधबार समिक्षा गरिएको छ ।

महायज्ञ मुल आयोजक म्याग्दी बहुमुखी क्याम्पसले सञ्चालक समिति पदाधीकारी, विभिन्न उपसमितिका संयोजक र कर्मचारीहरुको सहभागितामा समिक्षा गरिएको जनाएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तह थप र प्राबिधिक विषयको पठनपाठन सुरु गर्न आयस्रोत जुटाउने उद्देश्यले कात्तिक २५ देखि मंसिर २ गतेसम्म महायज्ञ सञ्चालन गरिएको थियो ।

campush 12क्याम्पस सञ्चालक समिति एवं महायज्ञ मुल आयोजक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले महायज्ञ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । बैठकमा महायज्ञ मुल समिति अन्तरगत गठित उपसमिती मार्फत भएको प्रगती र खर्च विवरण प्रस्तुत गरिएको थियो ।

हालसम्म दुई करोड ८३ लाख रुपैयाँ सहयोगको घोषणा भएको र एक करोड चार लाख रुपैया नगद प्राप्त भैसकेको बैठकमा जानकारी गराइएको थियो । यसैगरी महायज्ञका लागि हालसम्म ४६ लाख रुपैया खर्च भएको विवरण बैठकमा प्रस्तुत गरिएको थियो ।

छिट्टै आम्दानी खर्च विवरण सार्वजनिक गर्ने र उठ्न बाँकी रकम जुटाउन पहल गर्ने निर्णय भएको क्याम्पस प्रमुख टिकाराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सहयोगदाताहरुलाई सम्मानपत्र वितरण र बाँकी रकम उठाउन तिब्रता दिने निर्णय भएको छ ।