गलेश्वरमा पौने पाँच लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १५ मंसिर ।
बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा यस वर्षको बालाचर्तुदर्शी पर्वमा पौने पाँच लाख रुपैयाँ भेटि संकलन भएको छ ।

बालाचर्तुदर्शी पर्वको अवसर पारेर गलेश्वरमा सतविज छर्न, मन्दिरमा पुजाआचा र दर्शनका लागि आएका भक्तजनले चार लाख ७६ हजार १३७ रुपैयाँ भेटि चढाएका हुन् । सोमबार भक्तजनले चढाएको भेटि गनेर बुधबार दिउँसो सकिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।galeshowarउहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष धेरै भक्तजन आएकाले डेढ लाख रुपैयाँ भन्दा बढी भेटि संकलन भएको छ । गत वर्षको बालाचर्तुदर्शी पर्वमा तिन लाख १६ हजार ७८९ रुपैया भेटि संकलन भएको थियो ।

गलेश्वर मन्दिरमा संकलन हुने भेटी साप्ताहिक र मासिक रुपमा सार्वजनिक गरिँदै आएको छ । यस वर्षको बालाचर्तुदर्शी पर्वमा सतबिज छर्न र गलेश्वरको पुजाआजा तथा दर्शनका लागि पचास हजार जना भक्तजन आएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो ।

संकलीत भेटी कोषको खातामा जम्मा गर्नुका साथै मन्दिर परिसरमा पुर्वाधार निर्माण, वृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन हुदै आएको छ । कालीगण्डकी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैँलीएको चट्टान माथि अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

मुक्तीनाथ प्रवेशद्धार मानिने गलेश्वरमा सतीदेवीको गला पतन भएको धार्मीक ग्रन्थहरुमा उल्लेख छ । गलेश्वरमा बालाचर्तुदर्शी, शिवरात्री र साउन महिनाको सोमबारका दिन बिशेष पुजाआजा हुने गर्छ ।