गाउँ पुगेका सांसदलाई समस्या र गुनासोको भारी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ मंसिर ।
म्याग्दीको उत्तरी क्षेत्रको भ्रमणमा गएका सांसद रेशमबहादुर बानियाँलाई स्थानीय बासिन्दाले समस्या र गुनासोको भारी बोकाएर पठाएका छन् ।

प्रस्तावीत अन्नपूर्ण गाउँपालिकामा समावेश भएका आठ गाविसको विकास गतिबिधिको अनुगमन र सरोकारवालाहरुसंग भेटघाट गर्न गाउँ पुगेका सांसद बानियाँलाई समक्ष स्थानीय बासिन्दाले विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत क्षेत्र संग सम्बन्धित समस्या व्यक्त गरेका हुन् ।dsc07632भ्रमणका क्रममा दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, घार, हिस्तान र राम्चेका गाविस सचिव, विभिन्न राजनितिक दलका स्थानीय नेता, सामाजिक अगुवाहरुसंग विकास योजना कार्यान्वयको अवस्था, समस्याको विषयमा छलफल र अन्तरक्रिया गरेको नेपाल प्रेस युनियन म्याग्दी शाखाले मंगलबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद बानियाले जानकारी दिनुभयो ।dsc07197स्थानीय जनताको समस्या र आवश्यकता पहिचानका लागि भ्रमण उपयोगी भएको बताउँदै उहाँले धेरैजसो ठाउँबाट सामुदायीक विद्यालयमा स्थाई दरबन्दिका शिक्षकको व्यवस्था, विद्यालय परिसर घेराबार, सडक स्तरउन्नती, सामुदायीक भवन निर्माण सम्बन्धि योजनाको माग गरेको जानकारी दिनुभयो ।

सांसद बानियाँले उत्तरी क्षेत्रका गाउँहरुमा जनप्रतिनिधि नभएको अवस्थामा स्थानीयबासीले चुनेका गाउँ र वडा संयोजकहरुले विकास गतिबिधिमा महत्वपूर्ण योगदान गरेको बताउनुभयो । सरकारी निकायको न्युन सहयोगमा स्थानीय स्तरमा आर्थिक र श्रम जुटाएर सडक, भवन जस्ता योजना निर्माण भएको सांसद बानियाको भनाई छ ।

उहाँसंग स्थानीय बासिन्दाले पुर्वाधार योजना निर्माणमा ढिलासुस्ती भएको, बेनी जोमसोम सडक स्तरवृद्धी, दाना सबस्टेशन निर्माण कार्यलाई तिब्रता दिन, पोखरेबगर पाउद्धार किन्दु र फलामेडाँडा, राम्चे, हिस्तान, घार, शिख सडक योजनालाई प्राथमिकता दिन माग गरेका छन् ।

जनताको समस्या र गुनासोलाई सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता जनाउँदै सांसद बानियाले यस्तो अभियानलाई निरन्तरता दिने समेत बताउनुभयो । गत बुधबार दोवाबाट गाउँ अभियान सुरु गर्नुभएका सांसद बानियाको टोली नांगी हुदै मंगलबार बेनी फर्कीएको हो । सांसद बानियाँले यो भ्रमण विकाससंग सम्बन्धित भएको प्रष्ट पार्नुभएको छ ।

नेपाल प्रेस युनियन म्याग्दी शाखाका सभापति गोपाल छन्त्यालको अध्यक्षता र सदस्य राकेश शर्माको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, सचिव हरिकुमार श्रेष्ठ, कोषाध्यक्ष टंक हमाल, पुर्व सहसचिव अजयमिलन श्रेष्ठ, सदस्य कृष्णप्रसाद बरुवाल र महिला संघकी सभापति बिमला गौचनको समेत उपस्थिती रहेको थियो ।