म्याग्दीमा फोहोर र ढल व्यवस्थापनको चुनौती थपिदैँ

सन्तोष गौतम/विकल्प न्यूज
मंसिर १४ गते ।
म्याग्दीको ग्रामिण बजार क्षेत्रमा फोहोर र ढल व्यवस्थापनको समस्याले सरसफाइमा चुनौती थपिएको छ । दरवाङ, सिंगा तातोपानी, बाबियाचौर, पोखरेबगर, भुरुङ तातोपानी क्षेत्रको ढल र फोहोर व्यवस्थापनमा समस्या भएको हो ।tatopani-ko-fohorबेनपा १३ तातोपानी बजारको फोहोर फाल्ने ठाउँ । बेनी–दरवाङ सडक तल म्याग्दी नदी किनारमा फोहोर फाल्ने गरिएको छ । तस्विर नवविकल्प

तिब्र रुपमा सहरीकरण हँुदै गएका ग्रामिण बजार क्षेत्रको फोहोर र ढल निकास ब्यवस्थित हुन सकेको छैन् । बढ्दो जनसंख्या, जनचेतनाको कमी, दिर्घकालीन योजना, फोहोर फाल्ने ठाउँको अभाव र फोहोरमैला व्यवस्थापन सम्बन्धि ऐन नियम कार्यान्वयन नहुँदा समस्या भएको हो ।

फोहोर तथा ढल निकास ब्यवस्थित नहुँदा प्रदुषण बढ्ने र जनस्वास्थ्यमा असर पर्ने खतरा छ । साँघुरा गल्लिमा रहेका खुल्ला नाली र अव्यस्थित रुपमा फालीने फोहोरले ग्रामिण बजार क्षेत्रमा प्रदुषण बढाएको हो ।

फोहोर फाल्ने ठाउँ र ढल निकास गर्ने नाली नहुँदा सरसफाइ कायम गर्न समस्या भएको बेनपा १३ तातोपानीका योगेन्द्र केसीले बताउनुभयो । करिब दुई सय घर रहेको सिंगा तातोपानी बजारमा बस्ती विस्तारसंगै पक्कि घरहरु निर्माण हुन थालेका छन् ।

“बस्ती विकाससंगै फोहोर व्यवस्थापन र ढल निकास तथा खानेपानी आपूर्तीमा ध्यान नदिने हो भने भविष्यमा ठूलै समस्या हुन सक्छ” केसीले भन्नुभयो । तातोपानीमा दैनिक एक ट्याक्टरको हाराहारीमा फोहोर संकलन हुने गर्छ ।sarsafai-2बजारमा संकलन गरिने फोहोर बाबियाचौरको सिमानामा रहेको फापरखेतको पहिरो नजिकै बेनी दरवाङ सडक भन्दा तल म्याग्दी नदी किनारमा लगेर बिर्सजन गरिँदै आएको छ । तातोपानी बजारमा खानेपानीको व्यवस्थित वितरण र आपूर्ती हुन सकेको छैन् ।

यसै वर्ष बेनी नगरपालिका कार्यालयले तातोपानी बजारको ढल निकास सम्बन्धि योजना सुरु गर्ने तयारी गरेको छ । यो योजनालाई नगरपालिकाले २६ लाख रुपैयाँ बिनियोजन गरेको कार्यकारी अधिकृत छबीलाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपभोक्ताबाट थप २६ लाख रुपैयाँ जुटाएर तल्लो र उपल्लो तातोपानी बजारमा ढल निकासका लागि नाली निर्माण गरिने भएको छ । म्याग्दीको दोस्रो सदरमुकामको रुपमा परिचित दरवाङ बजारको फोहोर संकलन गरेर केही टाढा रहेको छ्यार छ्यारेमा लगेर व्यवस्थापन गरिएपनि ढल निकास र खानेपानी आपूर्तीको भने समस्या रहेको छ । wass myagdi doba sarsafai (3)दरवाङ बजारमा रहेका सार्वजनिक धारामा नियमित पानी आउँदैन् । नुहाउन, कपडा धुन देविस्थानको थापाचौर स्थित म्याग्दी नदी किनारको मुहानमा जानु पर्छ । स्थानीय बासिन्दाले ठूलो धनराशी खर्च गरेर टाढा टाढाको मुहानबाट पाईप मार्फत घरमा पानी ल्याएर उपयोग गरेका छन् ।

वि.स २०६७ सालमा जिविसको ड्रिलीप परियोजना मार्फत सुरु भएको दरवाङको ढल निकासी योजनाको अझै बेरुजु रहेको छ । जिविसका अनुसार उपभोक्ता समितिले इस्टिमेट गरेको परिमाणको काम नगरेकाले बेरुजु देखिँदा योजना अधुरो रहेको हो ।

दरवाङ बजारमा पनि स्थानीय बासिन्दाको पहलमा ट्याक्टरमा फोहोर संकलन गर्ने र छ्यारछ्यारेको बगरमा लगेर बिर्सजन गरिदै आएको छ । यद्यपी पुलबाट म्याग्दी नदीमा सिधै फोहोर फाल्नेहरु पनि उत्तिकै छन् ।

दरवाङका दुई सय भन्दा बढी घरमा खानेपानी आपूर्तीसंगै ढल व्यवस्थापन गर्ने लक्ष्य सहित खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय मार्फत करिब तिन करोड रुपैयाँ लागतमा आयोजना सञ्चालन गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश शेरचनले बताउनुभयो ।

उपभोक्ता समिति गठन र सर्वेक्षणको काम भैसकेको दरवाङ खानेपानी तथा सरसफाइ आयोजना यसै वर्षदेखि निर्माण सूरु हुने जनाइएको छ । यस आयोजना मार्फत दरवाङका सबै घरघरमा खानेपानीको धारा जडान र ढल निकासका लागि नाली निर्माण गरिने भएको छ ।

हालै बाबियाचौर बजारका सबै घरमा धारा जडान गरेर खानेपानी आपूर्ती गरिएपनि ढल निकास र फोहोर व्यवस्थापनका लागि पहल नभएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । स्थानीयबासीले म्याग्दी नदी र किनार क्षेत्रमा लगेर फोहोर फाल्ने गरेका छन् ।

फोहोर संकलन गर्ने व्यवस्था र व्यस्थित रुपमा ढल निकासका लागि योजनाको आवश्यकता रहेको बाबियाचौर बजारका बासिन्दा होमप्रसाद सुवेदीले बताउनुभयो । फोहोर संकलन गर्ने ट्याक्टर बिग्रीएपछि बाबियाचौर बजारका बासिन्दाले आफ्नै तरीकाले व्यवस्थापन गर्न थालेका छन् ।

पलास्टीक र कागजजन्य फोहोर जलाउने तथा नकुहिने फोहोर खाडलमा पर्ने गरेको सुवेदीले बताउनुभयो । बाबियाचौरको साँघुरो नाली भत्कीएको र पुरीएको छ । सडक नालीमा परिणत भएको छ । उत्तरी क्षेत्रमा रहेको प्रस्तावीत अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा पनि ढल, खानेपानी आपूर्ती र फोहोर व्यवस्थापनको समस्या छ ।

पर्यटकीय स्थल भुरुङ तातोपानी बजारमा नाली निर्माण योजना सञ्चालन गर्न पहल गरेपनि पर्याप्त बजेटको व्यवस्था हुन नसकेको स्थानीय अगुवाहरुले बताएका छन् । ग्रामिण बजार क्षेत्रको फोहोर र ढल व्यवस्थापनमा समयमै ध्यान दिन नसक्ने हो भने पछि समस्या आउने देखिन्छ ।

उसो त सदरमुकाम बेनी र गलेश्वर बजारको फोहोर ब्यवस्थापन गर्दै आएको बेनी नगरपालिकाले ल्याण्डफिल साइट बनाउन बर्षौदेखि गरेको पहलले अझै मुर्त रुप लिन सकेको छैन् । ल्याण्डफिल साइट बनाउन नगरपालिका कार्यालयले चालीस लाख ६० हजार रुपैयाँ छुट्टाएको छ । ठाउँ भने अझै पहिचान भैसकेको छैन् ।

नदि किनार र सार्वजनिक स्थलमा फोहोर फाल्ने बेनी बजारका केही सर्वसाधारणको ब्यवहारमा अपेक्षाकृत सुधार आउन सकेको छैन् । म्याग्दी नदी किनारमा सञ्चालित बध स्थल जलप्रदुषणको अर्को कारण बनेको छ ।

बेनीका कतीपय बासिन्दाले फोहोर उत्र्सजन र ब्यवस्थापनका लागि व्यक्तिगत प्रयास समेत गरेका छन् । घरमा उत्पादीत कुहिने, नकुहिने फोहोर छुट्याउने र कुहिने फोहोर मल बनाउन प्रयोग गरेका हुन् । कुहिने फोहोरलाई घरको छतमा बगैचा, गमला र तरकारी लगाउन मलको रुपमा प्रयोग गर्ने बिधी प्रभावकारी र नमुना मानिएको छ ।

टोल सुधार समिति र विभिन्न संघ संस्थाले बजार सरसफाइ कार्यक्रम गर्दै आएका छन् । ढल निकासको लागि बेनीका धेरै टोलहरुमा नाली निर्माण भैसकेको छ । कालीपुल बसपार्क र केही भित्री गल्लीहरुमा ढल बनाउन बाँकी रहेको छ ।

जिल्लाका अन्य ठाउँमा जतिनै सरसफाइ गरेपनि प्रवेशद्धारको मुखैमा रहेको अव्यवस्थित नाली र बसपार्कको फोहोरले नकारात्मक सन्देश प्रवाह गराएको कालीपुलका बासिन्दा रवी भण्डारीले बताउनुभयो ।

उहाँले कालीपुलमा व्यवस्थित नाली बनाउने र फोहोर व्यवस्थापनमा स्थानीय तथा यातायात व्यवसायीलाई उत्तरदायी बनाउनुपर्ने बताउनुभयो । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका प्रमुख इन्जिनियर शेखरचन्द्र केसीले बजार क्षेत्रको फोहोर व्यवस्थापसंगै उत्र्सजनमा पनि उत्तिकै जोड दिनुपर्ने बताउनुहुन्छ ।

फोहोरको बर्गीकरण गरेमा व्यवस्थापन धेरै सहज हुने केसीले बताउनुभयो । फोहोर मैलाको स्रोतमै न्युनीकरण, पुनप्रयोग, प्रसोधन र बिर्सजन गरि फोहोरबाट जनस्वास्थ्यमा हुने असर न्युनीकरण गर्न सकिने इन्जिनियर केसीको भनाई छ । सरकारले फोहोर मैला ब्यवस्थापनका लागि ऐन र नियमावली समेत ल्याएको छ । ऐन नियम कार्यान्वयनका लागि स्थानीय निकायलाई जिम्मेवारी दिएको छ ।