सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ कात्तिक ।
हिन्दु नेपालीहरुले महत्वका साथै मनाउने दसै र तिहार पर्व सकिएलगत्तै पहाडी क्षेत्रका बासिन्दाहरु खेतबारीको काममा व्यस्त भएका छन् ।
म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका कृषकहरु बर्खेबाली भित्र्याउने र हिउँदेबाली लगाउने काममा व्यस्त भएका हुन् । मुख्य खाद्यबाली धान भित्र्याउन व्यस्त कृषकहरु लगत्तै प्रमुख हिउदेबाली गहुँ, जौ, उवा, तोरी बाली लगाउने तयारीमा छन् ।
उच्च पहाडी क्षेत्रका कृषकहरुले धान भित्र्याएर कोदो काट्ने काममा लागेका छन् । तल्लो क्षेत्रका बासिन्दाहरु भने धान काट्ने, झाँट्ने र दाई हाँल्ने काममा व्यस्त छन् । बर्षा रोकीएको र मौसम सफा भएकाले कृषकहरुले यसपाली सुरक्षीत रुपमा बाली भित्र्याउन पाएकोमा उत्साहीत भएका छन् ।
बाली लगाउने, गोडमेल गर्ने र भित्र्याउने बेलामा गाउँघरमा अर्म, पर्म र हुद्दा लागेर एक अर्कालाई सघाउने चलन रहेको छ । युवा युवतीहरु रोजगार, अवसर र सुबिधाको खोजीमा बिदेश तथा सहर पसेकाले खेतीबाली भित्र्याउन श्रमीकको अभाव भएको छ ।
म्याग्दीको तिन हजार ८९७ हेक्टरमा धान, तिन हजार ६२ हेक्टरमा गहुँ, दुई हजार ७४० हेक्टरमा कोदो र नौ हजार ८७२ हेक्टर जमिनमा मकै खेती हुन्छ । गत वर्ष १२ हजार ४९२ मेट्रिक्टन धान उत्पादन भएको म्याग्दीमा यस वर्ष पाँच देखि सात प्रतिशतसम्म उत्पादन बढ्ने अनुमान गरिएको थियो ।
तर असोज तेस्रो साता परेको बर्षा र हावाहुरीले बोट ढलाएको तथा ज्यामरुककोट, बाबियाचौर लगायत केही ठाउँको स्थानीय जातको धानमा दाना नलाग्ने समस्या देखिएकाले अपेक्षाकृत धान उत्पादन नभएपनि सन्तोषजनक मान्न सकिने बागबानि विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।
यसैबीच चाडवाड मनाउन जन्मथलो पुगेकाहरु सहरी क्षेत्रमा फर्कन थालेपछि चहलपहल बढ्न थालेको छ । विद्यार्थी, कर्मचारी र कामका लागि सहरी क्षेत्रमा बसोबास गर्नेहरु कर्मथलोमा फर्कन थालेका छन् । गाउँबाट सदरमुकाम र सदरमुकामबाट राजधानी काठमाडौ, पोखरा, चितवन तथा बुटबल लगायत सहरी क्षेत्रमा जाने सवारी साधनमा यात्रुको चाप बढेको छ ।
उता उपल्लो मुस्ताङका बासिन्दाहरु पनि फापर, आलु लगायतका बाली भित्र्याएर बेशी झर्न थालेका छन् । चिसो बढ्न थालेपछि उपल्लो मुस्ताङका बासिन्दाहरु घुम्ती ब्यापारका लागि म्याग्दी, कास्की, बागलुङ, पर्वतमा आउन थालेका हुन् ।