शब्द /तस्विर सन्तोष गौतम
विकल्प न्यूज ।
म्याग्दीको पुनहिल घोडेपानी पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा विकसीत भएको छ ।समुन्द्रि सतहदेखि ३ हजार २१० मिटरको उचाईमा पहाडको टाकुरामा अवस्थित पुनहिल दृष्याअवलोकनका लागि चर्चित बनेको हो । एकै स्थानबाट धेरै हिमालका साथै टाढा टाढा र सुर्योदयको मनमोहन दृष्य अवलोकन गर्न सकिने भएकाले पुनहिलले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।
घोडेपानी र पुनहिल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत म्याग्दीको घार गाविसको १ नम्बर वडामा पर्छ । मगर समुदाय अन्तरगत पुन थरसंग सांस्कृतीक सम्बन्ध जोडिएको पुनहिलबाट अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, धौलागिरि, गुर्जा, मानापाथी लगायतका १५ भन्दा बढी हिमालको नजिकबाट अवलोकन गर्न सकिन्छ ।यसैगरी बिहानीको सुर्योदयको दृष्य अवलोकन गर्न पाउनु पुनहिलको अर्को आकर्षण हो । बिहानीमा झुल्कने सुर्यको उषाकिरणले पुनहिल अगाडी उभिएका सेताम्मे हिमालका टाकुराहरुलाई मोतीझै टल्काउँदा यहाँ पुग्ने पर्यटकहरु प्राकृतिक सौन्दर्यले मोहीत हुन्छन् ।
चारै तिर जंगल रहेको पुनहिल पुग्ने पर्यटकहरु सुर्योदय र आँखै अगाडीका हिमश्रृङखलाहरुको दृष्यमा रमाउँछन् । पदयात्राका लागि असोज पहिलो हप्ता पुनहिल पुगेकी ललीतपुरकी नेहा प्रजापतीले यहाँको प्राकृतिक सौन्र्दयताले खुसी र उत्साहीत भएको बताईन् ।
यो स्थानको सौन्दर्यताले पदयात्राको थकाई मात्र मेटाउँदैन कोलाहल र प्रदुषित वातावरणदेखि टाढा बनाएर प्रकृतिमा रमाउने अवसर पनि दिन्छ । एक पटक पुनहिल पुगेपछि यसको प्राकृतिक सोन्दर्यताले मन मस्तीष्कमा दिगो छाप नपार्ने कमै हुन्छन् ।
क्यानडाकी सेलेनाले पहिलो पटक पुनहिल भ्रमण गर्दाको अनुभव साथीहरुलाई सुनाईन् । उनि हालै अन्य दश जना साथीहरुलाई पुनहिल भ्रमणमा ल्याएर आएकी थिईन् । सेलेना जस्तै धेरै पर्यटक अर्कोपटक साथीहरुलाई लिएर घुम्न आउने गरेका छन् ।
नेपाल टे«कर्स साउथ एसीयाका सञ्चालन रामचन्द्र सुवेदीले एकै स्थानबाट धेरै हिमश्रृङला र सुर्योदयको आकर्षक दृष्यले पुनहिलमा पर्यटकलाई आकर्षित गरेको बताउनुभयो । एकपटक यहाँ आएका पर्यटकले आफ्नो देशमा पुगेर पुनहिलको बिशेषताबारे प्रचार गर्ने र फेरी साथी लिएर आउने गरेका छन् ।भ्यु प्वाईन्टको रुपमा विकसित पुनहिल जैविक विविधता, वन्यजन्तु, पंक्षी र सांस्कृतीक हिसावले पनि उत्तिकै महत्वपूर्ण छ । भुगोल, संस्कृती, जनजिवन र जैविक विविधताले पर्यटकलाई यो स्थानमा आकर्षित गर्ने गरेको छ ।
पुनहिल क्षेत्रमा रहेको जंगलमा १६ प्रजातीका लालीगुँरास पाईन्छ । बसन्त ऋतुमा ढकमक्क रामाम्मे भएर फुल्ने लालीगुरासले पर्यटक लोभ्याउन सहयोग गरेको छ । शरद ऋतुमा यहाँका पाखाहरु बुकी फुलेर रंगीन्छन् ।
कालीज, डाँफे जस्ता पंक्षी मृग लगायत बन्यजन्तुको अवलोकन पनि गर्न सकिने भएकाले पुनहिलले प्रसिद्ध अझ बढेको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रमुख शुशिल लामिछानेका अनुसार २०७३ बैशाखदेखि असोज पहिलो सातासम्म साढे १२ हजार पर्यटक यस क्षेत्रको भ्रमणमा आएका छन् ।
२०७१ को बैशाख देखि असोजसम्म सात हजार ५९७ जना पर्यटकले भ्रमण गरेको घोडेपानीमा २०७२ को सोही अवधिमा चार हजार २१६ जना पर्यटक आएका थिए । चिन, दक्षिण कोरीया, अस्ट्रीया, अमेरीका, बेलायत, जापान, बेल्जीयम, ईजरायल लगायत देशका नागरीक यो क्षेत्रको भ्रमणमा आउँछन् ।
काठमाडौ, पोखरा, चितवन, तनहुँ, बागलुङ, भैरहवा लगायत ठाउँका आन्तरीक पर्यटकको आगमन पनि बढेको छ । यो सिजनमा पर्यटक आगमन उत्साहजनक रहेको घोडेपानी होटल ब्यवसायी समितिका उपाध्यक्ष देवेन्द्र पुन (शुशिल)ले बताउनुभयो । अनुकुल मौसम, विद्यालय, कलेज छुट्टि भएकाले आन्तरीक पर्यटकको संख्या पनि बढीरहेको छ ।
कास्कीको नयाँपुल, घान्द्रुक, म्याग्दीको राम्चे, पोखरेबगरको बाटो भएर घोडेपानी पुग्न सकिन्छ । पर्यटकीय नगरी पोखरा र बेनी देखि एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । घोडेपानीमा ४३ घरधुरी मगर समुदायको बसोबास छ । घोडेपानीदेखि एक घण्टाको पैदल दुरीमा उकालो हिँडेपछि पुनहिल पुगीन्छ ।पुनहिल पहिले सामान्य पहाडको टाकुरा थियो । पर्यटक आउने क्रमसंगै घार खिवाङका मेजर टेकबहादुर पुनले २०२१ सालमा सो डाँडोलाई पुनहिल नामाकरण गरेका थिए । उनका आफन्तले २०४६ सालतिर मेजर पुनको स्मृतीमा भ्यु टावर स्थापना गरेपछि पर्यटकलाई थप सुबिधा पुगेको छ ।
घोडेपानीका बासिन्दाहरुले स्थानीय स्रोत जुटाएर गाउँको वरपर पदमार्ग र प्रवेशद्धार निर्माण गरेका छन् । लालीगुराँसको जंगल संरक्षण गर्न चरिचरन बन्द गरिएको छ । एक्यापको सहयोगमा जंगलमा तारबार लगाएर घेराउ गरिएको छ ।पर्यटक आगमन बढेसंगै घोडेपानीका होटल ब्यवसायीले सेवा र सुबिधा विस्तार गरिरहेका छन् । घोडेपानीमा रहेका २३ वटा सुबिधा सम्पन्न होटलमा एक दिनमा पाँच सय जना सम्म पाहुना बास बस्न सक्छन् ।पोखरा, काठमाडौ लगायत सहरी क्षेत्रमा रहेका होटल सरहको सुबिधा दिइएको घोडेपानी होटल ब्यवस्थापन उपसमितिका संयोजक जुनबहादुर पुनले बताउनुभयो । ईन्टरनेट, तातो पानीले नुहाउने र माग अनुसारका खानाको परिकार पाईन्छ । घोडेपानीका प्राय होटलका कोठाबाटै हिमाल देख्न सकिन्छ ।