सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी ८ असोज ।
आगामी मंसिरमा पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सहभागि हुने म्याग्दीका खेलाडीहरु छनौट गरिएको छ ।जिल्ला खेलकुद विकास समितिले पाँच वटा बिधामा १२८ जना खेलाडी छनौट गरेको हो । तेक्वान्दोका १६ जना खेलाडीहरुको आईतबार छनौट गरिने समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले जानकारी दिनुभयो । पुरुष महिला भलिबलतर्फ १०/१० जना, बास्केटबलका लागि दश जना र फुटबलमा १८ जना खेलाडी छनौट भएका छन् । एथलेटिक्स तर्फ ४ जना महिला र ४ जना पुरुष खेलाडी छनौट भएका छन् । करातेको विभिन्न तौल समूहमा २० जना खेलाडी छनौट गरिएको छ ।
यसअघि राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाईसकेकी भलिबलकी अरुणा शाही, बिना बुढाथोकी, रेवीना घर्ती, पवित्रा बिक, करातेका चन्द्र बुढा, बिना बुढाथोकी लगायतका खेलाडीहरु छनौटमा परेका प्रशिक्षक तेजेन्द्र बानियाँले बताउनुभयो ।जिल्लाबाट छनौट भएका खेलाडीहरुलाई कात्तिक अन्तिम सातादेखि पोखरामा हुने क्षेत्रीय स्तरको प्रतियोगितामा सहभागि गराइनेछ । क्षेत्रीय खेलबाट छनौट हुने खेलाडीले राष्ट्रिय खेलमा अवसर पाउनेछन् ।बास्केटबल खेलको छनौटमा समितिका पुर्व अध्यक्ष बिनोद केसी, भलिबलमा अनोद श्रेष्ठ र फुटबलको छनौटमा सल्लाहकार सुरत केसीलाई प्रमुख अतिथि बनाइएको थियो ।