सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ४ असोज ।
म्याग्दीको बेनीमा राष्ट्रिय सहकारी बैङ्कको शाखा स्थापना गर्ने विषयमा मंगलबार अन्तरक्रिया गरिएको छ ।
बैङ्कको बागलुङ शाखाको आयोजनामा म्याग्दी र उत्तरी पर्वतमा रहेका सहकारी संस्थाका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरिएको हो । सो कार्यक्रममा सहभागिहरुले बेनीमा सहकारी बैङ्कको शाखा स्थापना गर्ने निर्णय भएको छ ।शाखा खोल्नका लागि सदस्य विस्तार गर्न जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की (दिपख बिखर्ची)को संयोजकत्वमा ११ सदस्यीय समन्वय उपसमिति गठन भएको छ । ४० भन्दा बढी सहकारीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैङ्कका प्रबन्ध सञ्चालक केवी उप्रेतीले सहकारीको विकास र प्रर्वद्धनका लागि शाखा खोल्न आवश्यक रहेको बताउनुभयो । बैङ्कका सञ्चालक रामबहादुर जिसीले कार्यक्रमको उद्देश्य र धौलागिरीमा सहकारीको अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपाल सूचना तथा सञ्चार सहकारी संघका सञ्चालक बिष्णुहरी ढकाल, बचत तथा ऋण सहकारी संघ म्याग्दीका अध्यक्ष अमृता भण्डारी, जिल्ला सहकारी संघ म्याग्दीका पुर्व अध्यक्ष सुर्दशन श्रेष्ठ र बहुउद्देश्यिय सहकारी संघ बागलुङका अध्यक्ष अञ्जु जिसीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की (दिपक बिखर्ची)को अध्यक्षता र राष्ट्रिय सहकारी बैङ्क बागलुङ शाखाका प्रबन्धक सुरेश खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।