सन्तोष गौतम/न्यूज
म्याग्दी २ असोज ।
चारैतिर पहिरोले घेरीएको म्याग्दीको बेग गाविस १ बाँसबोट र २ लिस्ने गाउँका बासीन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
पहिरोको उच्च जोखिममा रहेका ३० घरपरिवारलाई बेग स्थित आफन्तको घर, सामुदायीक भवन र महादेव माविमा सारिएको हो । करिब पन्ध्र दिनदेखिको निरन्तरको पहिरोका कारण जोखिममा परेको दुई वटा बस्तीका बासिन्दालाई शनिबार सुरक्षित स्थानमा सारिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सभापती लेखबहादुर हमालले जानकारी दिनुभयो ।
रेडक्रसकर्मी, युवा विद्यार्थीको स्वयमसेवक संगै प्रहरी टोलिले जोखिममा रहेका घरका सामानहरु निकालेर सुरक्षित ठाउँमा ओसार्न सहयोग गरेका थिए । पहिरोले स्थानीय ३७ घरधुरी जोखिममा रहेका छन् । प्रहरी नायब उपरिक्षक विश्वराज खड्काले बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै बास्बोट र लिस्ने जोड्ने लिस्नेखोला झोलुङ्गे पुल अत्यन्त जीर्ण बनेकाले आवत जावतमा पनि समस्या भएको बताउनुभयो ।
पुलबाट आवतजावत गर्न समस्या भएपछि काठ राखेर अस्थायी रुपमा वारपार गर्ने गरिएको छ । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले विस्थापितलाई आवश्यक कम्बल, त्रिपाल र खाद्यान्न सामाग्रीको व्यवस्था गरेको छ । पहिरोको केही कम जोखिममा रहेका घरधुरी भने घर छाड्न नमानेर बसेका छन ।