सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २९ भदौ ।
म्याग्दीको ताकमका बासिन्दाहरुले स्थानीय तह पुनर्संरचनाका लागि गठन भएको प्राबिधिक सहयोग समिति विरुद्ध अदालत जाने निर्णय गरेका छन् ।
ताकममा बुधबार भएको गाविसबासीको आमभेलाले प्राबिधिक सहयोग समितिले स्थानीय तह पुनर्संरचना आयोगको मापदण्ड विपरीत गाउँपालिका र केन्द्र प्रस्ताव गरि सिफारीस गरेको भन्दै न्यायका लागि अदालत जाने निर्णय गरेका हुन् ।गाउँभेलाको निर्णय अनुसार एक, दुई दिनमा समितिको निर्णय विरुद्ध अदालतमा रिट दायर गरिने स्थानीयबासी नेत्रलाल सुवेदीले बताउनुभयो । स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेल नेतृत्वको प्राबिधिक समितिले सहमती जुट्न नसकेपछि चार वटा विकल्प सहितको प्रस्ताव सिफारीस गरेको थियो ।
समितिको सिफारीस अनुसार गाउँपालिकाको केन्द्र र सिमाना निर्धारणका क्रममा मापदण्ड पुरा नभएकाले त्यसको विरुद्ध अदालत जाने निर्णय भएको ताकमका अगुवाहरुले बताउनुभयो । प्राबिधिक समितिको निर्णय र प्रस्तावप्रती जिल्लाका विभिन्न ठाउँका बासिन्दाहरु तथा राजनीतिक दलका नेताहरुले असन्तुष्टि जनाएका छन् ।