सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २४ भदौ । स्थानीय तह पुनर्संरचनाको लागि सिमाङ्कन र केन्द्र निर्धारण सम्बन्धि प्रस्ताव तथा सिफारीसप्रती म्याग्दीका विभिन्न ठाउँका बासिन्दाले असन्तुष्टि जनाएका छन् ।स्थानीय तहको पुनर्संरचनाको लागि जिल्ला स्तरमा गठित प्राबिधिक सहयोग समितिले एक हप्ताअघि पुनर्संरचना आयोगलाई चार वटा विकल्प सहित गरेको सिफारीसप्रती विभिन्न गाउँका बासिन्दाहरुले असन्तुष्टि जनाएका हुन् ।
प्राबिधिक समितिले कुनै एउटा प्रस्तावमा सबैको सहमती जुट्न नसकेपछि सबै प्रस्ताव आयोगलाई पठाएको थियो । सिफारीस गरिएका आफ्नो क्षेत्र र भुगोल अनुकुलको प्रस्ताव पारित गराउन जिल्ला स्थित राजनीतिक दल र कार्यालयहरुमा आएर गाउँका प्रतिधिहरुले दवाव दिन थालेका छन् ।दुई वटा नगरपालिका र तिन वटा गाउँपालिका बनाउने प्रस्ताव प्रती असहमती जनाउँदै दरवाङका बासिन्दाहरुले दरवाङ भेगका गाविसहरुलाई नगरपालिका बनाउँदा पुर्वाधार नपुग्ने र जनताले दुख पाउने बताएका छन् ।
दरवाङका नेता, संघ संस्था र सरोकारवालाहरुको टोलीले शुक्रबार बेनीमा दल र सरकारी कार्यालयहरुमा दरवाङ केन्द्र हुने गरि आसपासका गाविसलाई समेटेर गाउँपालिका बनाउन ज्ञापनपत्र बुझाएका छन् ।
यसैगरी उनिहरुले बेनी दरवाङ सडक स्तरवृद्धी, तार जडित टेलिफोन सेवा विस्तार र विद्युत सुबिधालाई सहज बनाउन माग गर्दै सम्बद्ध कार्यालयहरुको पनि ध्यानाकर्षण गराएका छन् । उता राखुका अगुवाहरुले भगवती र पिप्ले गाविसलाई बेनी नगरपालिकामा समावेश गर्ने प्रस्तावप्रती असहमती जनाउँदै मौवाफाँट केन्द्र हुनेगरी गाउँपालीका बनाउन माग गरेका छन् ।
भगवती र पिप्ले सहितका गाविसलाई समेटेर रघुगंगा गाउँपालिका बनाउनुपर्ने र त्यसको केन्द्र मौवाफाँटलाई बनाउन लविङ गरिरहेका राखुबासीहरुले बिहीबार बेनीमा भेलाको आयोजना गरेर छलफल गरेका थिए । रघुगंगा क्षेत्रका गाविसहरु समेटेर बन्ने स्थानीय तहको केन्द्र मौवाफाँट वा पाखापानी कहाँ बनाउने भन्ने विषयमा बिवाद देखिएको छ ।
उता प्रस्तावीत धौलागिरी गाउँपालिकाको केन्द्र आफ्नो गाउँमा बनाउनुपर्ने माग राख्दै ताकमका बासिन्दाहरुले पनि लविङ थालेका छन् । मुना, मुदी, गुर्जा र लुलाङ गाविसबाट मुनालाई केन्द्र बनाउनुपर्ने प्रस्ताव आएपछि शशंकित भएका ताकमका अगुवाहरुले पुर्वाधार, आयोगको मापदण्ड, सुगमता, भौतिक संरचना लगायतका कारणले ताकमलाई केन्द्र बनाउन माग गरेका हुन ।यस्तै राम्चेका बासिन्दाहरुले कालीगण्डकी भेगका गाविसहरु समेटेर प्रस्तावीत गाउँपालीकाको केन्द्र पोखरेबगर अपायक परेको भन्दै त्यसको विकल्प खोज्न माग गरेका छन् । प्राबिधिक समितिले धेरै विकल्प सहितको प्रस्ताव सिफारीस गरेकाले गाउँ स्तरमा अन्यौलता सिर्जना भएको छ ।