ताजा समाचार:
Search

तिव्ररुपमा अघि वढ्दै बेनी खानेपानी आयोजनाको क्षमत्ता विस्तार

विकल्प न्यूज/बेनी
भदौ २३ गते ।
बेनी खानेपानी तथा सरसफाई आयोजनाको क्षमत्ता विस्तारका लागि एक तिहाई काम सकिएको छ ।

बेनी बजारमा तिब्र बस्ती विकास, जनघनत्व वृद्धी र पुरानो संरचनाले खानेपानीको माग धान्न नसकेपछि गत बैशाखदेखि छ करोड ४२ लाख छ हजार ४५७ रुपैयाँको ठेक्का सम्झौतामा आयोजनाको क्षमत्ता विस्तार कार्य सुरु भएको थियो ।

ठेकेदार कम्पनी लुम्बीनी बिल्डर्सले मुख्य पाईप लाईन जडान गर्ने, खाडल खन्ने र रिजर्भ टंकी निर्माणको एक तिहाई काम पुरा गरिसकेको बेनी खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक चन्द्रबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म दुई करोड रुपैयाँ खर्च भैसकेको छ । पुम्दी खोलाको मुहानदेखि बेनी स्थित रिजर्भ टंकीसम्मको दश किलोमिटर मुख्य पाईपलाईन जडान गर्ने काम भैरहेको छ । छ ईञ्चको एक हजार चार सय मिटर र पाँच ईञ्चको एक हजार छ सय मिटर जडान भएको छ ।

चार हजार तिन सय मिटर छ ईञ्चको र पाँच किलोमिटर पाँच ईञ्चको पाईप जडान गर्ने लक्ष्य रहेको छ । मुख्य पाईपलाईन बिछ्याउन तिन किलोमिटर खाडल खनिएको छ । बेनीको बराहपाखो सामुदायिक वन क्षेत्रमा दुई लाख लिटर क्षमत्ताको रिजर्भ टंकी निर्माणको पचास प्रतिशत काम सकिएको छ ।beni-khanipani-ko-photoहाल ९३९ घरधुरी उपभोक्ता रहेको आयोजनाको क्षमत्ता विस्तार भएपछि बेनी बजारमा सन २०२२ सम्म २४ सै घण्टा माग अनुसारको खानेपानी आपूर्ती हुने उपभोक्ता समितिका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो ।

हाल प्रतिसेकेण्ड १५ लिटर पानी आउने आयोजनाको क्षमत्ता बढाएर प्रतिसेकेण्ड ३० लिटर आपूर्ती हुने बनाउन लागिएको हो । आगामी पुस सम्म आयोजनाको क्षमत्ता विस्तार गरिसक्ने लक्ष्य सहित काम तिब्र गतिमा अघि बढेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सरकारको सत्तरी प्रतिशत अनुदान, नगर विकास कोषको २५ प्रतिशत ऋण र उपभोक्ताहरुको ३६ लाख रुपैयाँको लागतमा आयोजनाको क्षमत्ता विस्तार हुन लागेको हो ।