सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २१ भदौ । म्याग्दीको बेगखोला र देविस्थानका बाढी पहिरो पीडितहरुको लागि मंगलबार पनि विभिन्न क्षेत्रबाट आर्थिक तथा जिन्सी सामाग्री सहयोग प्राप्त भएको छ । लायन्स क्लब अफ पोखरा फेवा फिस्टेल सिटीले बेगखोलाका बाढी पीडितहरुलाई १२ बण्डल जस्तापाता सहयोग गरेको छ । कल्वका बाबुराम अधिकारीको नेतृत्वमा आएको टोलीले बाढीले घर बगाएपछि टहरा बनाएर बसेका बाढी पीडितहरुलाई आवास ब्यवस्थापन सहज होस भन्ने उद्देश्यले जस्तापाता सहयोग गरेका हुन् ।
यसैगरी बेगखोलाका बाढी पीडितहरुका लागि प्रवासी नेपाली म्याग्देली संघ (मोना) युकेले बेलायतबाट पठाएको सत्तरी हजार रुपैयाँ ओमकुमारी शान्ति कोषलाई हस्तान्तरण गरिएको छ । मोना युकेका आपतकालीन राहत संयोजक किसन जिसीको संयोजकत्वमा संकलन भएको उक्त रकम शान्ति कोष मार्फत बाढी पीडितलाई उपलब्ध गराइने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, प्रहरी नायव उपरिक्षक विश्वराज खड्का र नेपाल रेडक्रस सोसाईटीका शाखा सभापति लेखबहादुर हमालको उपस्थितीमा कोषका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरिएको थियो ।
यसैगरी कुहुँ ६ घर भई हाल बेनीमा बस्ने सलीना राम्जालीले आफ्नो १४ औ जन्मदिनको अवसर पारेर विपन्नको उपचार र विपद्मा सहयोग गर्दै आएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई पाँच हजार पाँच रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै बेगखोला र देविस्थानका बाढी पहिरो पीडितहरुका लागि बेनी नगरपालिका ६ मंगलाघाटमा रहेको मंगला आमा समूहले घरदैलो गरेर नगद संकलन गरेका छन् ।
मंगलबार पुस्तकालयचोक देखि मंगलाघाट क्षेत्रमा घरदैलो गरेर १८ हजार आठ सय रुपैया संकलन गरिएको र समूहका पदाधीकारीहरुले थप गरेर पिडितहरुलाई उपलब्ध गराइने मंगला आमा समूहकी अध्यक्ष टकसरा रानाले जानकारी दिनुभयो ।
भदौ १६ गते राती बेगखोलामा आएको बाढीले ११ घर, तथा पहिरोले बेगमा थप चार घर भत्कीएको थियो । बेगखोलाको बाढीमा एक जना वेपत्ता भएका छन् । भदौ १९ गते देविस्थान ५ घरथोकमा पहिरोमा पुरीएर एक जना वेपत्ता भएका थिए भने चार घर विस्थापित भएका छन् ।