निरज थकाली/विकल्प न्यूज
मुस्ताङ, २० भदौ ।
मुस्ताङमा अवस्थित नेपाल र चीनबीचको कोरला नाका सञ्चालनमा ल्याउने चर्चा चलेको धेरै समय बिते पनि यसका लागि काम भने मन्द गतिमा मात्रै अघि बढेको छ ।
नाका सञ्चालनसँगै नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिनुका साथै नेपालमा विकासका धेरै सम्भावना खोलिने अनुमान गरिए पनि भौगोलिक अवस्थिति लगायतका धेरै कारणबाट नाका सञ्चालनमा ल्याउने काम तीव्रताका साथ अघि बढ्न नसकेको हो ।सम्भाव्यता अध्ययनका लागि पछिल्लो समयमा व्यवस्थापिका–संसदको विकास समितिका सदस्यहरुबाट भएको स्थलगत अवलोकन भ्रमणपछि कोरला नाका सञ्चालनमा ल्याइनुपर्ने सुझावसहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
ओली नेतृत्वको सरकारका उपप्रधानमन्त्री एवम् पूर्व प्रधानमन्त्री सहितको टोलीको अवलोकन भ्रमणले नाका सञ्चालनमा ल्याउने विषय राज्यको प्राथमिकतामा परेको प्रस्ट हुन्छ । पछिल्लो समयमा नाका सञ्चालनमा ल्याउने तयारी स्वरुप अत्यावश्यकीय कार्यालय स्थापना गर्ने कामलाई पनि अघि बढाइएको छ ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार नाका सञ्चालनमा ल्याउन अत्यावश्यकीय भन्सार कार्यालय एवम् सुरक्षा निकायका लागि जग्गा सीमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित निकायहरूमा पठाइसकिएको छ ।
भन्सारसहित क्वारेन्टाइन, अध्यागमन, सीमा सुरक्षालगायतका कार्यालयका लागि छोनुप गाविसस्थित नेचुङमा १०० रोपनी जग्गा सिमाङ्कन गरी स्वीकृतिका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, नेपाली सेनाका लागि लोमान्थाङमा एक हजार रोपनी जग्गा सीमाङकन गरिएको छ । कोरला नाका जाने मुख्य मार्ग जोमसोमदेखि कोरलासम्मको १०९ किलोमिटर बाटो स्तरोन्नति एवम् निर्माणका लागि बोलपत्र भैसकेको छ । मौसमको अनुकूलताका आधारमा आगामी फागुनदेखि काम सुरु हुने सम्भावना छ ।
पोखराबाट म्याग्दीको बेनीसम्म कालोपत्रे सडक र जोमसोम–लोमान्थाङ कच्ची मार्ग हुँदै चार हजार ६५० मिटर उचाइमा रहेको कोरला नाका पुग्न सकिन्छ । नाकाबाट ३० किलोमिटरको दूरी पार गरेपछि ढोङ्वासेन पुगिने र त्यहाँबाट केही पर शिगात्सेबाट आएको चाइना नेसनल हाइवे भेटिने भएकाले प्रदेश नं ४ का लागि उत्तरी सम्पर्कको यो एक उपयुक्त मार्ग हुने देखिन्छ ।
नाका सञ्चालनको विषय लामो समय अघिदेखि पटक पटक चर्चाका आइरहेको भए पनि त्यसले गति नपाएको स्थानीयबासीले बताएका छन् । नाका खोल्न सडकको सहज पहुँच, भन्सार, सुरक्षा लगायतको विषयमा प्राथमिकता दिनुपर्ने बताइएको छ ।