बेनी–जोमसोम सडक खुलाउन पहल

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ भदौ ।
पहिरो र बाढीका कारण अवरुद्ध भएको बेनी जोमसोम सडक खुलाउन म्याग्दीका सरोकारवालाहरुले पहल थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, सडक डिभिजन लगायत कार्यालय र राजनितिक दलहरुको आईतबार बसेको बैठकले जति सक्दो छिटो सडक सञ्चालन गर्न काम अघि बढाउने निर्णय गरेका हुन् ।

बेगखोलाको बाढी, भिरकाटे, जलथले लगायतका ठाउँमा खसेको पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडकको बेनी घाँसा खण्ड अवरुद्ध भएको छ ।begप्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले सडक डिभिजन कार्यालयलाई सडक मर्मत गरी सवारी आवागमन सहज बनाउन अनुरोध र माथिल्लो निकायमा सिफारीस गरिएको बताउनुभयो ।

बेगखोलामा बाढी र कटान नरोकीएकाले सडक मर्मतमा समस्या भएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ, म्याग्दीको उत्तरी क्षेत्रमा उत्पादीत आलु निकासी, खाद्यान्न, निर्माण सामाग्री ढुवानी, स्थानीयबासी, पर्यटक र तिर्थयात्रीलाई आवत जावत गर्न समस्या भएको छ ।
बेगखोला खण्डमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ । बिहीबार राती आएको बाढीले बेगखोलाको ११ घर, एक वटा बेलीब्रिज, एक वटा झोलुङ्गे पुल, एक किलोमिटर सडक र बिजुलीका पोल बगाएको थियो ।

बाढी पिडितहरुको शिवीरमा खानेपानी ब्यवस्थाका लागि खानेपानी तथा सरसफाई सब डिभिजन र विद्युत सुबिधाका लागि नेपाल विद्युत प्राधिकरणलाई आवश्यक प्रक्रिया अघि बढाउन विपद् ब्यवस्थापन समितिले सिफारीस गरेको छ ।

बैठकले बेगका बाढी पहिरो पिडितहरुको सहयोगका लागि भित्र्ने राहत वितरणलाई व्यवस्थित र सहज बनाउन समन्वय गर्ने निर्णय गरेको छ । बाढी पिडित १४ जना बालबालीकाहरुलाई गुड नेवर्स ईन्टरनेशनलले पाठ्यपुस्तक, काली, कलम, पोशाक लगायतका शैक्षिक सामाग्री सहयोग गर्ने भएको छ ।

यसैगरी बेगको बादुकमा पहिरोले विद्यालयको भवन भत्काएको छ भने छ वटा घर जोखिममा परेका छन् । कृष्ण निमावी बादुकको दुई कोठे भवन भत्कनुका साथै छ वटा घर पहिरोको जोखिममा परेको जनाइएको छ ।