बेगखोलाको बाढी ः अरुलाई सूचना दिएर बचाएका पूर्णप्रसाद बेपत्ता

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी १७ भदौ ।

उत्तरी म्याग्दीको बेग गाविस ६ बेगखोलामा गएराती आएको बाढीले ११ घर बगाएको छ ।  बाढीले बगाएर स्थानीय ४८ वर्षिय पूर्णप्रसाद सिङ्जाली वेपत्ता भएका हुन भने उनका दाजु ५० वर्षिय दुतबहादुर सिङ्जाली भाग्ने क्रममा लडेर घाइते भएका छन् । राती १२ बजेपछि खोलामा बाढी आएको थाहा पाएपछि पूर्णप्रसादले छिमेकी र घरपरिवारका सदस्यहरुलाई सूचना दिएर भगाउनुभएको थियो ।DSC03544अरुलाई सूचना दिएर बचाएका पूर्णप्रसाद घरभित्र रहेको लालपूर्जा लगायतका कागजात निकाल्न जाँदा बाढीले बगाएर वेपत्ता हुनुभएको उहाँका भतिज ओमकुमार सिङ्जालीले बताउनुभयो । ‘हामीलाई सूचना दिएर बचाउनुभयो’ ओमकुमारले भन्नुभयो ‘भाग्नुस भन्दा भन्दै उहाँलाई बाढीले बगायो ।’

बाढीले बेगखोलामा रहेको सुरेन्द्र तामाङ, विर्खजंग पाईजा, धनबहादुर गर्बुजा, पूर्णप्रसाद सिङ्जाली, ओमकुमार सिङ्जाली, रत्नकुमार गर्बुजा, लोकबहादुर पुर्जा, मबहादर राम्जाली, टिक बहादुर बुढाथोकी, कमल पाईजा र निरबहादुर बुढाथोकीको घर बगाएको छ । यसैगरी बेग १ का सोमबहादुर नेपालीको घर पहिरोले बगाएको र ४ नम्बर वडाका तापीस बिकको घर पहिरोको जोखिममा परेपछि विस्थापित भएका छन् ।DSC03530बेनी–जोमसोम सडक छेउमा बेगखोला र कालीगण्डकी नदीको दोभानमा रहेको बेगखोलाको बस्ती बाढीका कारण बगरमा परिणत भएको छ । भागेर ज्यान बचाएपनि घर, खाद्यन्न, कपडा लगायत घरमा भएका सबै सामाग्री बाढीले बगाएको बाढी पिडित अतीमाया बुढाथोकीले बताउनुभयो । ‘ज्यान र शरीरमा लगाएको कपडा बाहेक सबै बाढीले बगायो’ बुढाथोकीले भन्नुभयो ।

बाढीले बेलीब्रिज र एक वटा झोलुङ्गे पुल, उत्तरी म्याग्दी र मुस्ताङमा विद्युत आपूर्ती गर्ने केन्द्रिय तथा वितरण प्रशारण लाईनको विद्युतको पोल बगाएको छ । करिब सात सय मिटर सडक बगाएकाले बेनी जोमसोम सडकमा सिधा सवारी सञ्चालन हुन सकेको छैन् । मानिसहरु आवत जावत गर्नका लागि अस्थाई पुल बनाउने तयारी भएको छ ।DSC03547बाढीका कारण स्थानीय बासिन्दाको ४१ लख ६० हजार रुपैया बराबरको धनमाल क्षत्ती भएको घटनास्थलमा पुगेका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो । ११ घरपरिवारका २५ जना पुरुष र ३२ जना महिला प्रभावित भएका छन् । बाढी पिडितको सहयोग, वेपत्ताको खोजी र अवरुद्ध बाटो खुलाउन प्रहरी, नेपाली सेनाको श्रीबक्स गुल्मका सैनी र कुश्मा स्थित शसस्त्र प्रहरी बलको टोलीका साथै स्वमसेवकहरु परिचालन भएका छन् ।

जिल्ला विपद् ब्यवस्थापन समिति र रेडक्रसले आपतकालीन राहत सामाग्री उपलब्ध गराएका छन् । बाढीले घर बगाएपछि विस्थापितहरुलाई नजिकै रहेको सुरक्षित ठाउँमा अस्थाई बसोबासको व्यवस्था मिलाइएको छ । सडक डिभिजन कार्यालयल बागलुङले नयाँ ट्याक बनाएर बेनी जोमसोम खुलाउने तयारी गरेको जनाएको छ ।