सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ भदौ ।
२०७३ भदौ ९ गते जिल्ला अस्पताल म्याग्दीका प्रमुख बरिष्ठ चिकित्सक रोशन न्यौपानेले एक सय जनालाई शल्यक्रिया मार्फत जटिल किसीमको प्रसुती सेवा दिएको खुसीयालीमा भोज खाउँ भनि मोवाईलमा पठाएको सन्देश अस्पताल विकास समितिका अध्यक्ष चन्द्रकुमार केसीले सामाजिक सञ्जाल फेसबुक स्टाटस पोष्ट गर्नुअघिनै नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले विद्युत महशुल नतिर्ने ग्राहकहरुको सूची तयार गरीसकेको थियो । (हेर्नुहोस तस्विर अस्पताल विकास समितिका अध्यक्ष केसीले चिकित्सक न्यौपानेले पठाएको मोवाईल सन्देश सहित फेसबुकमा राखेको स्टाटस)
प्राधिकरणले तयार गरेको सूचिमा तिन वटा मिटरबक्स जडान गरेको जिल्ला अस्पतालको नाममा २०७३ साउन सम्मको तिर्नबाँकी विद्युत महशुल (बिलम्ब शूल्क बाहेक) डेढ लाख रुपैया भन्दा बढी छ । बिलम्ब शूल्क जोड्दा करिब दुई लाख पुग्ने प्राधिकरणका कर्मचारीहरुले बताएका छन् । जिल्ला अस्पतालको नाममा जडित ग्राहक नम्बर ००१–०५–२०२को मिटरबक्सको ४९ हजार भन्दा बढी र ग्राहक नम्बर ००१–०५–२०१ को मिटरबक्सको ४० हजार रुपैयाँ भन्दा बढी बक्यौता छ ।
००१–०५–२०५ नम्बरको मिटरबक्सको २०७२ पुष ९ गते चार लाख १८ हजार ५१३ रुपैया महशुल भुक्तानी भएको थियो । यो मिटरबक्सको ७६ हजार ९७९ रुपैयाँ अग्रिम भुक्तानी भएकाले असारसम्मको महशुल भुक्तानी भएर एक हजार ४१ रुपैयाँ बाँकी रहेपनि साउन र भदौको मटिर रिडीङ गर्दा ६३ हजार रुपैयाँ बिल आएको छ ।ग्राहक नम्बर ००१–०५–२०१ नम्बरको मिटरबक्सको २०७२ पुषमा ५७ हजार ५२२ रुपैया महशुल तिरेको थियो । माघमा पाँच हजार ७७०, फागुनमा चार हजार बिस, चैतमा चार हजार ५६०, बैशाखमा चार हजार ४२०, जेठमा चार हजार ४२०, असारमा पाँच हजार ३२०, साउनमा पाँच हजार १२० र भदौमा छ हजार ६४२ रुपैयाँ बिल आएको २०१ नम्बरको मिटरबक्सको माघ देखि यता महशुल भुक्तानी भएको छैन् ।
यसैगरी ग्राहक नम्बर ००१–०५–२०२ नम्बरको मिटरबक्सको माघमा आठ हजार ५२५, फागुनमा सात हजार ८०५, चैतमा पाँच हजार १८५, बैशाखमा चार हजार ९३५, जेठमा पाँच हजार ५१५ असारमा छ हजार ११५, साउनमा पाँच हजार ३२५ र भदौमा मिटर रिडीङ गर्दा पाँच हजार ७८१ रुपैयाँ बिल आएको छ । २०७२ असोज २४ गते ५९ हजार र पुष ९ गते एक लाख १७ हजार ३५२ रुपैयाँ २०२ नम्बरको मिटरबक्सबाट महशुल भुक्तानी भएपनि माघ यताको बक्यौता रहेको छ ।एक सय वटा शल्यक्रिया भएको खुसीयालीमा भोज आयोजना गर्ने म्याग्दी जिल्ला अस्पताल प्राधिकरणले विद्युत महशुल नतिरेर लाईन काट्नुपर्ने ग्राहकहरुको सूचिमा दोस्रो नम्बरमा छ । नियमित महशुल नतिरेर बक्यौता राख्ने सरकारी कार्यालयहरुको सूचिमा बेनपा १ र २ को वडा तथा बाबियाचौर गाविसको कार्यालय पनि छ । पटक पटक महशुल तिर्न अनुरोध गरेपनि अस्पतालले आनाकानी गरेको प्राधिकरणका ईञ्जिनियर निरज पौडेलले बताउनुभयो ।
प्राधिकरणले दुई महिनासम्म महशुल नतिरेमा लाईन काट्न सक्छ् । दुई महिनापछि महशुल तिर्दा २५ प्रतिशत बिलम्ब शूल्क जोडिन्छ । अस्पतालको उपचार सेवा प्रभावित हुने भएकाले लाईन काट्न नसकेको ईञ्जिनियर पौडेलको भनाई छ । केन्द्रले कम्तीमा तिन महिनासम्म महशुल नतिर्ने २२० जना ग्राहकहरुबाट २६ लाख ७८ हजार ६३ रुपैया बक्यौता उठाउन बाँकी रहेको छ ।
प्राधिकरणले बजार र ग्रामिण क्षेत्रमा महशुल नतिरेका ग्राहक पहिचान गरि लाईन काट्न कर्मचारी खटाएको समाचार सार्वजनिक भएपछि अस्पताल विकास समितिका अध्यक्ष केसीले अस्पतालको नाममा विद्युत बक्यौतानै नरहेको, प्राधिकरणको विवरण र समाचार गलत भएको भन्दै फेसबुक मार्फत प्रचारबाजीमा उत्रिएका छन् ।
अस्पतालले महशुल नतिरेको समाचार सार्वजनीक गरेर अस्पताल विकास समितिले गरेका सकारात्मक कार्यलाई ओझेलमा पार्न खोजेको, अस्पतालको विकास, सेवा सुबिधा विस्तार, परिवर्तन गर्न नचाहेको, अस्पतालको बिजुलीको बिल पदाधीकारीले खल्तीबाट तिर्नुपर्छ भनेको जस्ता तर्कहरु केसीका अनुयायीहरुले गरिरहेका छन् ।
उसो भए नेपालको कुन कानुनले सकारात्मक र राम्रो काम गर्ने व्यक्ति, संस्था, कार्यालयले पानी, बिजुली, टेलीफोन जस्ता सेवा सुबिधा उपभोग गरेवापत शूल्क तिर्नु नपर्ने ब्यवस्था गरेको छ ? यस्तो तर्क गर्नेहरुमा प्रेश स्वतन्त्रताको पक्षधर हौ भन्ने पनि छन् । उनिहरुको आसय महशुल तिर्न बेवास्ता गर्नेको समाचार लेख्न हुन्न भन्ने छ ।
अस्पतालमा केही सेवा सुबिधा, भौतिक पुर्वाधार थप भएको र सहयोग भित्र्याएकोमा प्रशंसा कमाएको विकास समितिको नेतृत्वले गरेको प्राधिकरणको विवरण र समाचार गलत भएको तर्क गरेपनि अस्पतालले विद्युत महशुल नतिरेको सम्बन्धि पर्याप्त तथ्य र प्रमाणहरु छन् । अस्पताल विकास समितिका अध्यक्ष केसीले २०५ नम्बरको मिटरबक्सबाट मात्रै अस्पतालमा विद्युत खपत भएकाले अरु मिटरबक्सको बारेमा आफूलाई जानकारी नभएको तर्क गर्नुहुन्छ ।
‘हामीले व्यक्तिगत पैसा उठाएर भोज खाने गरेका छौ । व्यक्तिगत पैसाले भोज खाँदा तपाईहरुलाई किन टाउको दुखाई ?’ केसीले प्रश्न गर्नुभयो ‘अस्पतालमा प्रयोग नभएको बिजुलीको बक्यौता हामीले किन तिर्ने ?’ केसीले अन्य दुई वटा मिटरबक्स मध्य एउटा जनस्वास्थ्य र अर्को मिटरबक्स आवास गृहमा जडान गरिएको विद्युतको भएको दावी गर्नुभयो ।
अस्पताल विकास समितिसंग मिलेर भोज खान हतारीने अस्पतालका चिकित्सक र कर्मचारीहरुले बिजुलीको बिल बक्यौता तिर्न भने किन बेवास्ता गरेका होलान् ? विद्युत प्राधिकरणले तिन वटै मिटरबक्स अस्पतालको नाममा दर्ता भएकाले जसले प्रयोग गरेपनि महशुल तिर्ने विषयमा अस्पतालनै जिम्मेवार र जवाफदेही हुनुपर्ने बताउँछ । ‘अस्पतालको नाममा रहेको बिजुलीको बिल अस्पतालले नतिरे विद्युत प्राधिकरणले तिर्ने ?’ प्राधिकरणका एक कर्मचारीले प्रश्न गर्नुभयो ।
जिल्ला अस्पतालका लेखा अधिकृत रामप्रसाद शर्माका अनुसार अस्पतालले गत आर्थिक वर्ष २०७२७३ मा पानी र बिजुलीका लागि १० लाख १४ हजार २६६ रुपैयाँ खर्च गरेको छ । धेरै वर्षपहिलेदेखिको बक्यौता रहेको, त्यसैमाथि जरिवाना थपिने र बिजुली पानीको महशुल तिर्न पर्याप्त बजेट नआउँदा समस्या भएको शर्माले बताउनुभयो । ५० हजार पानीमा बाहेक अरु सबै बिजुलीमा खर्च भएको शर्माको भनाई छ ।
उहाँका अनुसार अस्पताल परिसरको आवास गृहमा बस्ने कर्मचारीहरुबाट बिजुलीको बिल तिर्न गत वर्ष एक लाख १३ हजार २७० रुपैयाँ संकलन अस्पताल विकास समितिको खातामा जम्मा गरि प्राधिकरणलाई तिरीएको छ । यस वर्ष अस्पताललाई पानी, बिजुलीको बिल तिर्न दुई लाख रुपैयाँ मात्र बजेट प्राप्त भएको लेखा शाखाका कर्मचारीहरुले बताएका छन् । मन्त्रालयले उपलब्ध गराउने बजेटले नपुगेपछि अस्पताल विकास समितिले आन्तरीक स्रोतबाट तिरेको दावी गरेको छ ।
यसैबीच जिल्ला अस्पतालले गत आर्थिक वर्षमा अतिथि सत्कार शिर्षकमा एक लाख ५१ हजार रुपैयाँ बजेट खर्च गरेको छ । यो शिर्षकमा हुने खर्चमा भोजभतेर, पाहुना स्वागत पनि पर्छ । लेखा शाखाको विवरण अनुसार विद्युत महशुलको बक्यौता रहेर बदनाम हुनुमा अस्पताल प्रशासन नेतृत्वकर्ताको बेवास्ता प्रमुख कारण देखिन्छ । लेखा शाखा र अस्पताल विकास समिति बजेट नभएकाले जनस्वास्थ्य र क्वाटरको मिटरबक्सको बिजुलीको बिल सम्बन्धित प्रयोगकर्ताले तिर्नुपर्ने तर्क गर्छन् ।
जनस्वास्थ्य र क्वाटरमा बस्ने कर्मचारीहरु भने कार्यालयको नाममा आएको बिजुलीको बिल कसरी व्यक्तिगत रुपमा तिर्ने भनी प्रश्न गर्छन् ? आफूले क्वाटरमा प्रयोग गरेको बिजुलीको बिल पनि अस्पताल विकास समितिले तिरीदेओस भनेर आस गर्ने अस्पतालका कर्मचारीहरु अस्पताल विकास समितिलाई उचालेर भोज भतेरमा रमाउन खोज्नु ‘ऋण खोजेर घ्यु खानु’ जस्तै हो ।
विद्युत महशुल तिर्न ध्यान नदिने तर भोज खान हतारीने कस्तो नैतीकता र संस्कार हो ? विद्युत महशुल बक्यौता राखेर अस्पतालको लाईन काट्नुपर्ने अवस्था निम्त्याउनु र एक लाख १३ हजार म्याग्दीबासीको उपचार स्थल जिल्ला अस्पतालको बद्नाम गराउने काम अस्पताल प्रशासनबाटै भएको छ ।
अर्कोतर्फ जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यकक्षमा मान्छे भेटिदैनन् पङ्खा घुमीरहेको, बत्ति बलीरहेको भेटिन्छ । विद्युतको मितब्ययी प्रयोग गरेर बिलको रकम घटाउने र बक्यौता तिर्न जनस्वास्थ्य कार्यालयले पनि आवश्यक ठानेको छैन । म्याग्दीको स्वास्थ्य क्षेत्रमा भोज भतेर तथा प्रचारबाजी भन्दा पहिले गुणात्मक सुधार, प्रभावकारी र सर्वसुलभ सेवाको आवश्यकता छ ।