सन्तोष गौतम/विकल्प न्यूज
भदौ १३ गते ।
आन्तरिक राजस्व कार्यालय पोखराको घुम्ती टोलीले म्याग्दीका साना व्यवसायी र घर घरधनीहरुबाट बाइस लाख रुपैया कर संकलन गरेको छ । बेनीमा आईतबार सम्पन्न भएको घुम्ती कर शिविरमा २० लाख ४८ हजार १५० रुपैया ब्यवसाय र एक लाख ५१ हजार ८५० रुपैया घरबाहल कर संकलन भएको हो ।म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा शनिबारदेखि बेनीमा सुरु भएको घुम्ती कर संकलन शिविरमा म्याग्दीका ८९७ जना साना उद्योगी तथा ब्यवसायीले कर बुझाएका संघका महासचिव राजेश शाक्यले जानकारी दिए । ८० जनाले घरबाहल कर तिरेका हुन् ।
वार्षिक बीस लाख रुपैया भन्दा कमको कारोबार गर्ने फर्म तथा ब्यवसाय सञ्चालक र घर भाडामा लगाएका घरधनीहरुले जिल्लामै कर तिर्ने अवसर पाएका हुन् । साना करदाताहरुको सुबिधाका लागि उद्योग वाणिज्य संघले वार्षिक रुपमा घुम्ती कर संकलन शिवीर आयोजना गर्दै आएको छ ।
कर तिर्नुपर्ने रकम भन्दा बढी खर्च गरेर पोखरा जानुपर्ने समस्या समाधानका लागि कर संकलनका लागि आन्तरीक राजस्व कार्यालयको टोलीलाई जिल्लामै बोलाउने गरिएको महासचिव शाक्यले बताए ।
नगरपालीका क्षेत्रका ब्यवसायीले दुई हजार पाँच सय र गाविसकाले एक हजार पाँच सय रुपैयाका दरले कर तिरेका हुन् ।
यसैगरी धरधनीहरुले घरबाहलबाट प्राप्त हुने आम्दानीको दश प्रतिशत कर तिर्नुपर्ने नितिगत ब्यवस्था छ । घरधनीले कर तिर्नुपर्ने ब्यवस्था भएपनि भाडामा बसेर ब्यवसाय गर्नेले कर तिर्नुपरेको ब्यवसायीहरुले गुनासो गरेका छन् ।
घरधनीहरुले घर बहाल कर ब्यवसायीको थाप्लोमा पारेको गुनासो गरेका हुन् । बेनीका साथै सिंगा, गलेश्वर, दरवाङ, बाबियाचौर, भुरुङ तातोपानी लगायत ठाउँका साना ब्यवसायीहरुले टोलीलाई कर बुझाएका हुन् ।
म्याग्दीमा दुई हजार ३६० जना ब्यवसायीले आन्तरीक राजस्व कार्यालयमा दर्ता गरेर प्यान नम्बर लिएका भएपनि घुम्ती टोलीमा कर तिर्ने भने न्युन भएका हुन् ।
गत वर्ष एक हजार पाँच सय प्यानमा दर्ता भएका ब्यवसायी हुँदा घुम्ती टोलीलाई एक हजार जनाले कर तिरेका थिए । यसैगरी वार्षिक बिस लाख रुपैया भन्दा बढीको कारोबार गर्ने १६० जना ब्यवसायीहरु मुल्य अभिवृद्धी कर (भ्याट)मा दर्ता भएका छन् । भ्याटमा दर्ता भएका उद्योगी ब्यापारीहरु भने पोखरामा गएर कर तिर्दै आएका छन् ।
सूचना नपाएको र टाढाबाट आउन नसकेर शिवीरको क्रममा कर बुझाउन नसकेका ब्यवसायीहरुलाई भदौ महिनासम्म कर तिर्नका लागि म्याग्दी उद्योग वाणिज्य संघले समन्वय गर्ने दितृय उपाध्यक्ष सुबिन श्रेष्ठले बताए ।