आगोलागीबाट तिन लाख रुपैया भन्दा बढीको क्षति

सन्तोष गौतम/विकल्प न्युज
म्याग्दी १० भदौ ।
बेनीको छुट्टा–छुट्टै ठाउँमा भएको आगोलागीबाट तिन लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

बेनपा ४ हाँडेभिरको चियापसल र बेनपा ७ मा रहेको जिल्ला स्वास्थ्य कार्यालयमा विद्युत सर्ट भएर आगोलागी हुँदा तिन लाख पाँच हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हाँडेभिरमा कर्णबहादुर गुरुङले सञ्चालन गरेको चिया पसलमा शुक्रबार बिहान विद्युत सर्ट भएर आगोलागी हुँदा फ्रिज, टि.भी, ग्यास चुलो र किराना पसलका सामानहरु जलेर दुई लाख ३५ हजार रुपैयाँ बराबरको क्षत्ती भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको ११ जना प्रहरी टोली, दमकल र स्थानीय बासिन्दाहरुले आगोलागी नियन्त्रणमा लिएका थिए ।

यसैगरी बिहीबार साँझ ६.३० बजेतिर जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक फाँटको रहेको युपिएसमा अचानक आगोलागी हुँदा कम्प्युटरको मनिटर, युपिएस, किबोर्ड, माउस, सूचना पाटी लगायतका सामान जलेर ७० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।