धाईरिङमा महिलाहरुको तीज विशेष कार्यक्रम

विकल्प न्यूज/बेनी
भदौ १० गते ।

प्रगतिशिल आमा समूह धाईरिङ–३, ४ र ५ पर्वतको संयुक्त आयोजनामा बिहीबार धाईरिङको सल्यानमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान, दरखाने तथा तीजगीतसहित कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै व्यवस्थापिका संसदका सदस्य कल्पना चापागाईंले महिला दिदीबहिनीहरु अब उद्यम गरेर आर्थिक रुपमा सशक्त बन्नुपर्ने बताइन् । उनले महिलाहरु सधैं घरको चुलोचौकोमा मात्रै सीमित नभई सामाजिक र राजनीतिक क्षेत्रमा पनि क्रियाशिल हुनुपर्ने बताउँदै महिलाहरुले अधिकारको साथसाथै दायित्व पनि निर्वाह गर्नुपर्नेमा जोड दिएकी छिन् ।

सांसद चापागाईंले महिलाहरुलाई आयआर्जन तथा व्यवसायमुलक क्षेत्रमा लागेर व्यावसायिक र आत्मनिर्भर बन्नुपर्ने सुझाव दिएकी छिन् । स्थानीय निकायमा आउने लक्षित वर्गको बजेट सोही क्षेत्रमा खर्च गर्नुपर्ने बताउँदै समानताको कुरा भाषण र व्यवहार दुवैमा हुनुपर्ने उनको भनाई थियो ।14089283_1887422711485279_6817104083960439694_nयसैबीच सोही अवसरमा प्रगतिशिल आमा समूहको भवन निर्माणका लागि विभिन्न व्यक्तिहरुबाट ३० हजारभन्दा बढी रकम सङ्कलन भएको आमा समूहले जनाएको छ । कार्यक्रममा जिल्ला अपाङ्ग उत्थान समिति पर्वतका उपाध्यक्ष रुद्रलाल उपाध्याय, धाईरिङ गाविस सचिव मोहदत्त पौडेल, नेकपा माओवादी केन्द्र पर्वतका सचिवालय सदस्य टुङ्गनाथ आचार्य, नेपाली काँग्रेस धाईरिङका सभापति राजु आचार्य, एमालेका अध्यक्ष गोविन्द आचार्य, माओवादी केन्द्रका हरिप्रसाद आचार्य र राष्ट्रिय प्रजातन्त्र पार्टीका जशोदा विकले मन्तव्य राखेका थिए ।

यसैगरी स्थानीय कुलप्रसाद आचार्य, भीमलाल आचार्य, हरिलाल आचार्य, माझफाँट गाविस सचिव दुर्गाप्रसाद शर्मा, म्याग्दीको राखुपिप्ले गाविस सचिव चित्रनाथ शर्मा र पर्वतका पत्रकार अगन्धर तिवारीले मन्तव्य राखेका थिए । कार्यक्रमको अवसरमा सहभागी सबैलाई दर समेत खुवाइएको थियो भने आयोजक आमा समूहले तीजगीत प्रस्तुत गरेका थिए । कार्यक्रम आमा समूहका अध्यक्ष देवी पौडेलको अध्यक्षता, सदस्य सरस्वती पौडेलको स्वागत र जमुना आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।