ताजा समाचार:
Search

म्याग्दीका २९ वटा सडकमा अस्थाई रुट कायम गर्न सिफारीस

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ७ भदौ ।
म्याग्दीका २९ वटा ग्रामिण सडकमा सवारी सञ्चालनका लागि अस्थाई रुट कायम गर्न सिफारीस गरिएको छ ।

राजनीतिक दल, जिविस, नगरपालिका, यातायात ब्यवसायी सहित बसेको जिल्ला यातायात ब्यवस्थापन समितिको बैठकले हाल सवारी सञ्चालनमा रहेका सबै सडकमा अस्थाई रुट कायम गर्न सिफारीस गरेको हो ।

बेनी–दरवाङ–ताकम–मुना, बागलुङ–रत्नेचौर–बेनी लगायत २९ वटा सडकमा अस्थाई रुट कायम गर्नका लागि धौलागिरी अञ्चल यातायात ब्यवस्था कार्यालय बागलुङलाई सिफारीस गरेको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले जानकारी दिनुभयो ।DSC01065यसअघि क्षेत्रीय यातायात ब्यवस्था कार्यालयमा १९ वटा सडकमा अस्थाई रुट कायम गर्न सिफारीस गरेपनि कार्यान्वयन भएको छैन् । यसपटक पुराना १९ र नयाँ थपिएका १० वटा सडकलाई रुट कायम गर्न सिफारीस गरिएको हो ।

रुट कायमका लागि सिफारीस भएका अन्य सडकहरुमा बेनी–पाखापानी, दरवाङ–बिम, पुलाचौर–कुहुँ, बेनी–भकुण्डे, गलेश्वर–पिप्ले–भगवती–बेग, हिस्तान–राम्चे–नागी, पोखरेबगर–घार–शिख, दरवाङ–फुलबारी–ओखरबोट–तमान, भिरकाटे–दोवा, हाडेभिर–बरंजा लगायत रहेका छन् ।

मौवाफाँट–दग्नाम, बेगखोला–बेग, सिमलचौर–कुहुँ, महभीर–दोसल्ले–टिकोट, भुरुङ तातोपानी–नारच्याङ, रत्नेचौर–अर्जम–भकुण्डे, दरवाङ–देविस्थान–जुक्जा, गलेश्वर–घतान–पात्लेखेत, महारानीथान–छाप–ठूलोखोला, बाबियाचौर–अर्मन, दरवाङ–ओखरबोट–रुम, दरवाङ–दुखु, ताराखेत–भरजुला–थाईवाङ–हिदी र महभिर घराम्दी सडकमा पनि अस्थाई रुट कायम गरि सवारी सञ्चालनका लागि अनुमती दिन सिफारीस गरिएको छ ।

हाल बेनी–जोमसोम बाहेक म्याग्दीमा रहेका सबै सडकहरुमा बिना अनुमती सवारी साधन सञ्चालन भैरहेको पाइएको छ । सवारी सञ्चालनका लागि यातायात ब्यवस्था कार्यालयले सडकमा रुट कायम गरि अनुमती दिनुपर्ने ब्यवस्था रहेको छ ।

म्याग्दीमा सोमबारदेखि प्रहरीले रुट कायम नभएका सडकहरुमा सार्वजनीक सवारी सञ्चालनमा रोक लगाएको छ । प्रहरीको निर्देशनपछि सवारी साधन नचल्दा ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम आउन जान तथा सामान ढुवानी गर्न समस्या भएको छ ।