ताजा समाचार:
Search

गर्भपतनले स्वास्थ्यमा जोखिम

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,भदौ ७ गते ।
साउन अन्तिम हप्ता बेनी स्थित जिल्ला अस्पतालमा एक दम्पती तनाव लिएर पाइपुगे । दुई सन्तानका अभिभावक बनिसकेका करिब तिस वर्षका यो जोडीको तनावको कारण थियो, अनिच्छित गर्भ ।

उनिहरु परिवार नियोजनको साधन प्रयोग नगरेका कारण रहन गएको गर्भलाई पतन गराउन अस्पताल पुगेका थिए । यो जोडी त उदाहरणमात्रै हुन म्याग्दीमा बढ्दो क्रममा रहेको गर्भपतन गर्ने दम्पतीहरुको । म्याग्दीका स्वास्थ्य संस्थामा गर्भपतन गराउने र बच्चा जन्माउनेहरुको संख्या समान जस्तै देखिनुले गर्भपतनको सुबिधा विकृती बन्न थालेको संकेत गरेको छ ।

गर्भपतनलाई परिवार नियोजनको साधनको रुपमा लिने र गर्भपतन गर्नेको बढ्दो दरसंगै प्रजनन् स्वास्थ्यमा जोखिम देखिएको चिकित्सकहरुले बताएका छन् । परिवार नियोजनका साधन नअपनाउने तर गर्भपतनलाई परिवार नियोजनको माध्यम बनाउँदा प्रजनन् स्वास्थ्यमा चुनौती देखिएको हो ।

पछिल्लो चार वर्षको अवधिमा जिल्लाका सूचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा लिनेको संख्या एक हजार जनाले बढेका छन् । आर्थिक वर्ष २०७२७३ मा एक हजार २८१ जनाले गर्भपतन सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क सहायक बसन्त पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार सोही अवधिमा स्वास्थ्य संस्थामा आएर प्रसूुती हुनेको संख्या एक हजार ३८१ जना छ । पर्भपतन गराउनेहरुको यो संख्या सरकारी स्वास्थ्य संस्थाहरुको मात्र हो । निजी अस्पताल, जिल्ला बाहीर गएर तथा गर्भमै लिङ्ग पहिचान गरि भु्रण हत्या गर्नेहरुको लेखाजोखा छैन् ।Capture

सूचिकृत नभएका अबैध निजी क्लिकबाट गर्भपतन गराउनेहरुको स्वास्थ्य थप जोखिममा परेको छ । आर्थिक वर्ष २०६९७० मा स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनेको संख्या २८१ जना रहेकोमा ०७०७१ मा ७८० जना र ०७१७२ मा एक हजार एक सय ५६ जना थियो । गर्भपतन गर्नेमा धेरैजसो २० देखि ३० वर्ष उमेर समूहका छन् ।

नेपालको कानुनले महिलाले चाहेको अवस्थामा १२ हप्तासम्मको गर्भपतन गर्न पाउने व्यवस्था गरेको छ । बेनी स्थित जिल्ला अस्पताल, बेनी हस्पीटल एण्ड रिसर्च सेन्टर, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र १२ हप्ता सम्मको गर्भपतन गराउनका लागि सूचिकृत छन् । लुलाङ, सिङ्गा, भुरुङ तातोपानी, पिप्ले, ताकम, भकिम्ली, रुम, ज्यामरुककोट, पाखापानी, शिख, भगवती र अर्मन स्थित सरकारी स्वास्थ्य संस्थाले नौ हप्ता सम्मको मात्र गर्भपतन गर्न पाउँछन् ।225

जिल्ला अस्पताल र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा गर्भपतन गर्नका लागि एक हजार रुपैयाँ र अन्य स्वास्थ्य संस्थामा पाँच सय रुपैयाँ शूल्क तिर्नुपर्छ । गर्भपतन गर्नेको पहिचान गोप्य राख्ने गरिन्छ । औषधिको सहायताले मेडिकल र सर्जिकल बिधिबाट गर्भपतन हुन्छ ।
सुरक्षित गर्भपतन सेवामा सहज र सर्वसुलभ हुँदा असुरक्षित गर्भपतन घटेपनि सेवा लिनेको संख्या अस्वभावीक रुपमा बढ्नु चुनौती भएको जिल्ला स्वास्थ्य कार्यालयकी परिवार स्वास्थ्य कार्यक्रम संयोजक सिनीयर अनमी लिला गौतमले बताउनुभयो ।

‘सुबिधा छ भनेर परिवार नियोजनका साधन नअपनाउने र अनिच्छित गर्भधारण गरी गर्भपतन गराउने समस्या देखिएको छ’ गौतमले भन्नुभयो ‘सुबिधालाई विकृतीको रुपमा लिइदा जनस्वास्थ्यमा जोखिम बढेको छ ।’

अनिच्छित गर्भका कारण शारीरिक, पारिवारिक र सामाजिक असर पर्ने अवस्थामा अन्तिम विकल्पको रुपमा सरकारले दिएको गर्भपतनको सुबिधालाई धेरैले परिवार नियोजनको साधन बनाएका छन् । स्वास्थ्यकर्मीहरुका अनुसार धेरैजसो दम्पतीहरु परिवार नियोजनप्रती संवेदनशिल नहुने र साधन नअपनाउँदा गर्भपतन गर्न बाध्य भएका छन् ।

लामो समयसम्म टाढीएका दम्पती भेट भएपछि एक अर्काबीच अविश्वास तथा शंका पैदा हुने डरले परिवार नियोजनका साधन प्रयोग नगर्दा अनिच्छित गर्भका कारण तनावमा पर्ने धेरै छन् । गर्भपतनको अर्को कारण परस्त्री र परपुरुषबीच हुने शारीरिक सम्बन्ध हो ।

मेलाजात्रामा हुने आकस्मीक भेटघाट र हतारको माया प्रेमसंगै हुने गल्तीले पनि कतिपय अबिवाहित युवती तथा किशोरीहरु सामू गर्भपतन गर्नुपर्ने अवस्था निम्तिएको छ । जवरजस्ती करणी पनि अनिच्छित गर्भ रहनुको अर्को कारण हो भने लिङ्ग पहिचान गरि भ्रूण हत्या गर्ने समस्या पनि उत्तीकै छ ।

पश्चिमाञ्चल विकास क्षेत्रमा गर्भपतन गर्नेको संख्याको आधारमा म्याग्दी पाचौ स्थानमा छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले बिस वर्ष भन्दा कम उमेरमा गर्भपतन गर्ने, दोहोराएर गर्भपतन गर्ने र जथाभावी औषधि सेवन गर्दा स्वास्थ्य समस्या उत्पन्न भइ अस्पतालमा पुग्नेहरुको संख्या पनि बढ्दो क्रममा रहेको देखाएको छ ।

आर्थिक वर्ष २०७१७२ मा बिस वर्ष भन्दा कम उमेरमा गर्भपतन गर्नेको संख्या १०९ जना रहेकोमा ०७२७३ मा यो संख्या ११६ जना पुगेको छ । मेडीकलको तुलनामा सर्जीकल बिधीबाट गरिने गर्भपतन जोखिमयुक्त मानिन्छ । निजी क्लिक र औषधी पसलमा गर्भपतन गरि स्वास्थ्य समस्या देखिएपछि आर्थिक वर्ष २०७२७३ मा १४६ जना सरकारी स्वास्थ्य संस्थाको सम्र्पकमा आएका थिए ।gar

यो संख्या अघिल्लो वर्ष ६५ जना थियो । जिल्लामा बिस प्रतिशतले दोहोराएर गर्भपतन गरेको तथ्याङ्क छ । दोहोराएर गर्भपतन गर्नेहरु कमै मात्र एउटै स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले दोहोराएर गर्भपतन गर्न नदिने र यसका कारण देखिने स्वास्थ्य समस्याको बारेमा परामर्श दिने भएकाले नयाँ ठाउँमा जाने गर्छन् । गर्भ रहेको नौ हप्तासम्म लिङ्ग पहिचान हँुदैन् ।

लिङ्ग पहिचान गरेर भ्रूण हत्या गर्नेहरु जिल्ला बाहीरका निजी अस्पताल जान्छन् । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीमा धेरैले नौ हप्ताअघिनै गर्भपतन गरेका छन् । नौ देखि १२ हप्तासम्मको गर्भपतन गर्नेहरुको संंख्या आर्थिक वर्ष २०७१७२ मा ६९ जना छ ।

गर्भपतन प्रजनन् स्वास्थ्यका हिसावले जोखिमयुक्त भएको जिल्ला अस्पतालका चिकित्सक धिरन मल्लले बताउनुभयो । ‘गर्भपतनका कारण शारीरीक कमजोरी, पाठेघरको संक्रमण, बाँझोपन र रक्तअल्पताको समस्या देखिन्छ’ चिकित्सक मल्लले भन्नुभयो ‘पटक– पटक गर्भपतन गराउँदा शारीरिक र प्रजनन् स्वास्थ्यमा गम्भिर असर पर्छ ।’

गर्भपतन गराउनेको संख्या बढीरहेको म्याग्दीमा परिवार नियोजनको स्थाइ र अस्थाई साधन अपनाउनेको संख्या उत्साहजनक छैन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ४० प्रतिशत दम्पतीले मात्रै परिवार नियोजनको साधन प्रयोग गर्छन् ।

आर्थिक वर्ष २०७२७३ मा परिवार नियोजनका साधनहरु पिल्स, डिपो, आईयुसीडी, ईम्पलान्टका नयाँ प्रयोगकर्ताहरुको संख्या क्रमश ६४६, एक हजार ४०९, १३६ र ३५२ जना छ भने ५४ जनाले स्थाई बन्ध्याकरण गरेका छन् ।

अधिल्लो वर्ष पिल्सका ८११, डिपोका एक हजार ४६५, आईयुसिडीका ३०३ र ईम्पलान्टका नयाँ प्रयोगकर्ता १८१ जना थिए भने ९३ जनाले स्थाई परिवार नियोजन गरेका तथ्याङ्क सहायक पोख्रेलले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७२७३ मा गर्भपतन गराएका एक हजार ८० जनालाई र अघिल्लो वर्ष ९०६ जनालाई स्वास्थ्य संस्थाबाट परिवार नियोजनका अस्थाई साधन दिएर पठाइएको थियो । सरकारी स्वास्थ्य संस्थाले परिवार नियोजनका साधनहरु निशूल्क वितरण गर्दै आएका छन् ।
बैदेशिक रोजगारीका कारण अधिकांश चलायमान जनसंख्या रहेको म्याग्दीमा दम्पतीहरुले अविश्वास र शंका उत्पन्न हुने डर र भ्रम तथा नकारात्मक बुझाईका कारण परिवार नियोजनका साधनको प्रयोग कम रहेको जिल्ला स्वास्थ्य कार्यालयको परिवार नियोजन कार्यक्रमका संयोजक कौशल भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार स्वास्थ्य कार्यालयले परिवार नियोजनका साधनको प्रयोग बढाउन प्रचारप्रसार, दम्पतीहरुलाई परामर्श र जनचेतना अभिवृद्धीमा जोड दिएको छ । यसैगरी परियोजनाले परिवार नियोजनको अस्थाई र स्थाई साधनको प्रयोगमा वृद्धी गराई गर्भपतन गराउने दरमा कमी ल्याउन गत पुष देखि परिवार नियोजन सञ्चार अभियान सञ्चालन गरेको छ ।
नवबिवाहीत दम्पत्ती, २९ वर्षसम्मका बिवाहीत जोडी, सिमान्तकृत समुदाय र आप्रबासी तथा उनिहरुका परिवारलाई लक्षित गरेर अभियानले मार्फत विभिन्न गतिबिधि भएका छन् । अभियान मार्फत नवदम्पतीलाई परिवार नियोजनका साधनको बारेमा जानकारीमुलक सन्देश उपहार दिने, घरदैलो गर्ने, स्वास्थ्य संस्थामा खोप लगाउन आउने बच्चाका अभिभावक र प्रवासी जोडीलाई परामर्श दिने गरिएको कार्यक्रम संयोजक सरस्वती पुरीले जानकारी दिनुभयो ।
अनिच्छित गर्भधान हुनबाट रोक्ने, जन्मान्तर कायम राख्ने, २० वर्षअघि बच्चा जन्माउने दरमा कमी ल्याउने र गर्भपतन गराउनुपर्ने अवस्था आउन नदिन परिवार नियोजनका साधनको प्रयोगमा वृद्धी गर्ने उद्देश्य रहेको संयोजक पुरीले बताउनुभयो । बेनी नगरपालिकाको साथै दरवाङ, बिम, ओखरबोट, रुम, निस्कोट, बरङ्जा, भकिम्ली, बाबियाचौर र अर्मन गाविसमा अभियान सञ्चालन भएको छ ।