जनै पूर्णीमा मेलामा करिब साढे चार लाख भेटी संकलन

विकल्प न्यूज/बेनी
भदौ ५ गते ।
जनै पूर्णीमा पर्वको अवसरमा म्याग्दीको नांगी र खयर भारानीमा करिब साढे चार लाख रुपैयाँ भेटी संकलन भएको छ ।

राम्चे गाविसको १ र २ नम्बर वडामा पर्ने नांगी बाराही र शिख गाविसको पाउद्धारमा पर्ने खयर भारानीको दर्शन र पुजाआजा गर्न पुगेका भक्तजनहरुले चार लाख ४५ हजार रुपैयाँ भेटी चढाएका हुन् ।

नागी बाराही ताल र थानमा दुई लाख ४० हजार रुपैयाँ भेटी संकलन भएको नागी बाराही संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर खोरजाले बताउनुभयो । उहाँका अनुसार यस वर्षको जनै पूर्णीमामा नांगी बाराहीमा २८५ वटा भेडाको साड, पाठा र बोकाको बली चढेको छ ।khayar baraha tal 2यसैगरी अन्नपूर्ण हिमालको फेदीमा रहेको खयरभारानीमा पुगेका भक्तजनहरुले चढाएको भेटि र बली चढाएको भेडाको टाउको बिक्री गरेर दुई लाख पाँच हजार रुपैयाँ संकलन भएको खयरथान समितिका अध्यक्ष भिम तिलीजा पुनले जानकारी दिनुभयो ।

यस वर्ष खयरभारानीमा ३५० वटा भेडाको साड र पाठाको बली चढेको छ । जनैपूर्णीमाको भोलीपल्ट पाउद्धारमा आयोजित सांस्कृतीक कार्यक्रममा थप दुई लाख ५५ हजार ४७० रुपैयाँ उठेको छ । यसैगरी खोप्राको होटलमा दुई लाख ५६ हजार रुपैयाको ब्यापार भएको छ ।
पाउद्धारको बालशिक्षाको सहयोगका लागि खोप्रामा स्थापना गरिएको टहरामा आवास सुबिधा र चिया, खाजाको ब्यवस्था गरेर एक लाख ६० हजार १९० रुपैयाँ आम्दानी भएको छ । खयर थान समितिले खयरखोलाको भेडीगोठमा स्थापना गरेको टहराबाट दुई लाख बिस हजार रुपैयाँ आम्दानी भएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

खर्च कटाएर बचत भएको रकम गाउँका शिक्षा र सामाजिक क्रियाकलाप तथा खयर क्षेत्रको विकासमा लगानी गरिने उहाँले बताउनुभयो । यस वर्ष खेलमैदान निर्माणका लागि युवा कल्वलाई प्राथमिकता दिएर आमा समूह र बालशिक्षालाई आम्दानी बाडीने भएको छ ।

म्याग्दीको खयर, नांगी, प्यारीबाराही, रिखार लगायतका ठाउँमा रहेका तलाउहरुमा प्रत्येक वर्षको जनै पूर्णीमाको दिन धार्मीक मेला लाग्ने गर्छ । त्यहाँ पुजाआजा, दर्शन र भाकल गरेमा पुण्य र मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।