रत्नेचौरमा प्रहरी बिट स्थापना

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी ५ भदौ । DSC03188म्याग्दी र बागलुङको सिमा क्षेत्रमा पर्ने बेनी नगरपालिका १ रत्नेचौरमा आईतबार प्रहरी बिट स्थापना भएको छ ।

शान्ति सुरक्षामा समुदायको सहज पहुँच स्थापित गरी अपराध, विकृती, दुब्र्यसनी र दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले स्थापना गरिएको हो । बिटको धौलागिरी अञ्चल प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक छवीलाल जोशी बञ्जाडेले उद्घाटन गर्नुभयो ।

बिटमा प्रहरी असईको नेतृत्वमा पाँच जना सुरक्षाकर्मी खटीएका छन् । सिमा क्षेत्रमा हुने अपराधीक गतिबिधि नियन्त्रण, विकृती, दुब्र्यसनी र दुर्घटना न्युनीकरणसंगै सुरक्षा व्यवस्था थप सुदृढ पार्न समुदायको माग अनुसार बिट स्थापना गरिएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो ।DSC03185प्रहरी बिट स्थापना गर्नका लागि रत्नेचौरको चेतनशिल आमा समूहले दुई तले तिन कोठे भवन उपलब्ध गराएका छन् । चन्दा संकलन, लाहुरे स्वागत र श्रमदान गरेर करिब आठ लाख रुपैयाको लागतमा निर्माण भएको भवन प्रहरी बिटको आफ्नै संरचना नबन्दासम्मका लागि उपलब्ध गराएको आमा समूहकी अध्यक्ष रुपा महतले बताउनुभयो ।

प्रहरी बिट स्थापना भएपछि शान्ति सुरक्षा सुदृढ र अपराधिक क्रियाकलाप तथा विकृतीजन्य क्रियाकलाप नियन्त्रणमा सघाउ पुग्ने स्थानीयबासिले विश्वास गरेका छन् । उद्घाटन कार्यक्रममा बरिष्ठ प्रहरी उपरिक्षक बञ्जाडेले अपराध नियन्त्रणका लागि प्रहरीलाई समाजको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले प्रहरी समाजको सेवक र सहयोगीको रुपमा अघि बढेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी केशव आचार्यले प्रहरी बिट स्थापना गर्न सहयोग गर्ने आमा समूह र स्थानीयबासीलाई धन्यवाद दिदै प्रहरी चौकीमा स्तरउन्नती तथा आफ्नै संरचना बनाउन पहल गर्ने बताउनुभयो ।

वडा सचिव रमेश पौडेलको अध्यक्षता, प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुको सञ्चालन र प्रहरी नायव उपरिक्षक विश्वराज खड्काको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नागरीक मञ्चका सहसंयोजक देवी रावलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा राजनितिक दलका प्र्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । जिल्ला प्रहरी कार्यालयले बेनी बजारको मंगलाघाटमा पनि प्रहरी बिट स्थापना गर्ने तयारी छ ।