विकल्प न्यूज/बेनी
साउन ३१ गते ।
म्याग्दीको ताकम ४ स्थायी घर भएकी २६ वर्षीय इन्द्रा खत्री एक वर्ष देखि मिर्गौला रोगबाट पीडित छिन् । घरपरिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले मृगौला रोगको उपचार गर्न आर्थिक जुटाउन सकिनन् । उपचारमा सहयोग गर्न खत्रीले सवैमा अपिल गरेकी छिन् । म बाँच्न चाहन्छु उनले भनिन ‘तर म सँग उपचारका लागि पैसा छैन् ।’ उनी यतिखेर सहयोगको भिख माग्दै सदरमुकाम बेनीमा आएकी छिन् । म्याग्दीमा रहेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषले गरेको कार्यक्रममा उनले आफ्नो निजी आर्थिक स्रोतबाट उपचार गर्न संभव नभएकाले जिवन रक्षा गरिदिन अनुरोध गरेकी छिन् । आर्थिक अभावमा कसैले पनि मृत्युवरण गर्न नपोस भनेर स्थापना भएको संस्थाका वारेमा विभिन्न सञ्चार माध्यमबाट सुनेकाले आफ्नो रोगको उपचारका लागि कोष समक्ष अनुरोध गर्न आएको उनले बताइन । उनी आफ्ना बावु हेमवहादुर खत्रीका साथमा आएकी थिइन ।
सोमबारै शान्तकोषले खत्रीको उपचारका लागि अभियानको सुरुवात गरेको छ । स्थानीय पत्रकार सन्दीप खत्रीको संयोजकत्वमा कोषले इन्द्रा खत्री बचाउ अभियान सुरु गरेको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।आफन्तले मृगौला दान गरेमा मिर्गौला प्रत्यारोपण गर्न करिव सात लाख रुपियाँ जति खर्च लाग्ने अध्यक्ष शाक्यले बताउनुभयो ।
अभियानका सदस्यहरुमा म्याग्दी स्थायी घर भइ अष्ट्रेलियामा रहेका हरि कार्की र हरि गिरि रहेका छन् । त्यस्तै कोषका अन्य पदाधिकारीहरु पनि सदस्यमा रहेको कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभएको छ । कार्यक्रममा कोषका अध्यक्ष शाक्य र संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले पाँच हजारका दरले रु १० हजार सहयोग गर्नुभएको छ । साथै कोषका उपाध्यक्ष गौतमले दुइहजार, सचिव लोकेश पुन दुइहजार, सदस्य सुरेश पुन एकहजार र कृष्ण जिसीले एकहजार रुपियाँ सहयोग गर्नुभएको छ ।
कोषको यो १९ औं अभियान हो । खत्रीको जिवन रक्षाका लागि आर्थिक सहयोग गर्न सवैमा कोषले हार्दिक अपिल गरेको छ ।