सहकारीद्धारा सञ्चालीत सामुहिक बंगुर फार्मबाट १३ लाखको बंगुर बिक्री

विकल्प न्यूज/बेनी
साउन ३१ गते ।
पर्वतको माझफाँट २ मा सहकारीद्धारा सञ्चालीत सामुहिक बंगुर फार्मबाट वार्षिक १३ लाख रुपैयाँ बराबरको बंगुर बिक्री भएको छ ।

धौलागिरी बंगुरपालन सहकारी संस्थाले सञ्चालन गरेको सामुहिक बंगुरपालन फार्मबाट गत आर्थिक वर्ष २०७२७३ मा तेह् लाख रुपैयाँ मूल्यको बंगुर बिक्री भएको हो ।BangurPalan

दुई सय वटा भन्दा बढी बंगुर बिक्री गरेर सो आम्दानी भएको सहकारीका सञ्चालक बिजयकुमार श्रेष्ठले बताउनुभयो । म्याग्दी सदरमुकाम बेनीका २५ जना व्यवसायीहरु आवद्ध सहकारी संस्था मार्फत तिन वर्षअघि आठ लाख ५० हजार रुपैयाँ लगानीमा सामुहिक बंगुरपालन सुरु गरिएको थियो ।

सो फार्ममा पालीएका बंगुर बेनी बजारमा मासुका लागि बिक्री हुने गरेको छ । यसैगरी पाठापाठीहरु पाल्नका लागि म्याग्दी, पर्वत र मुस्ताङका कृषकहरुले खरिद गरेर लैजाने गरेका छन् । फार्ममै बध गरेर प्रतिकीलो दुई सय पचास रुपैयाका दरले मासु ब्यापारीलाई बिक्री गरिदै आएको छ ।

यसैगरी दुई महिनासम्म पालेर हुर्कीएका पाठापाठीलाई चार देखि पाँच हजार पाँच सय रुपैयाँ सम्ममा बिक्री गरिएको सञ्चालक श्रेष्ठले बताउनुभयो । हाल मासुका लागि बध गर्नयोग्य बिसवटा सहित एक सय वटा बंगुर रहेका फार्ममा चार जनाले रोजगारी पाएका छन् ।
म्याग्दी बेनी र पर्वत बेनी बजारको होटल तथा घरहरुमा धेरै भएर फालीएको खाना फार्ममा दानाको रुपमा लैजाने गरिएको छ । मासु र पाठापाठी बिक्रीका लागि बजारका साथै फार्मको क्षमत्ता विस्तार गर्ने योजना रहेको सहकारीका सञ्चालकहरुले बताएका छन् ।

पशु स्वास्थ्य प्राबिधिकको नियमित निगरानी रहेको सो फार्मको पुर्वाधार निर्माण र पाठापाठी खरिदका लागि जिल्ला पशु सेवा कार्यालय पर्वतले चार लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको छ ।