ताजा समाचार:
Search

म्याग्दीको विकासमा गत आर्थिक वर्षमा सवा अर्ब रुपैयाँ भन्दा बढी परिचालन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ साउन ।
म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७२/७३ मा सञ्चालित विकास योजना तथा कार्यक्रमहरुको प्रगतिको विषयमा बिहीबार बेनीमा समिक्षा गरिएको छ ।

जिविसले आयोजना गरेको कार्यक्रममा सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति विवरण सार्वजनिकरण गरिएको थियो ।

प्रस्तुत विवरण अनुसार गत आर्थिक वर्षमा म्याग्दीको विकासका लागि बागलुङमा रहेका तिन वटा डिभिजन सहितका सरकारी कार्यालयले एक अरब भन्दा बढी र १९ वटा गैरसरकारी संस्थाहरुले करिब १६ करोड रुपैयाँ परिचालन गरेका छन् । कार्यक्रममा सहभागिहरुले बजेट परिचालन भएअनुसार भौतिक उपलब्धि हुन नसकेको टिप्पणी गरेका छन् ।
सरकारी कार्यालय, निर्माण ब्यवसायीको प्रक्रियागत र लापरबाहीले हुने ढिलासुस्ती, समन्वयको कमी, गुणस्तरमा ध्यान नदिनु, बजेट सक्न आर्थिक वर्षको अन्तमा हतार हतारमा काम गर्नु र लक्षित समुदायका लागि बिनियोजन हुने बजेटको योजना निर्माण र परिचालनमा उनिहरुकै सहभागिता नभएको भन्दै सहभागिले प्रश्न उठाएका थिए ।

समिक्षा कार्यक्रमको समापनका क्रममा जिल्लाका सबै राजनीतिक दलहरुको तर्फबाट मन्तब्य व्यक्त गर्नुभएका नेपाली काग्रेस म्याग्दीका सचिव हरिकुमार श्रेष्ठले बजेट लगानी भएअनुसार कार्यक्षेत्रमा देखिनेगरी काम हुन नसक्नु दुर्भाग्य भएको बताउनुभयो ।DSC02844उहाँले बजेट खर्च गरेको आधारमा योजनाको प्रगती मापन गरिदाँ यस्तो समस्या आएको बताउँदै गुणस्तर र दिगोपना आवश्यक रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले विकास योजनालाई दिगो, गुणस्तरीय र प्रभावकारी बनाउन जनसहभागिता तथा पारदर्शीता जरुरी रहेको बताउनुभयो ।

बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, जिशिअ रामप्रसाद अधिकारी, प्रमुख जिल्ला ईञ्जिनियर ओमबहादुर केसी, जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवाल, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेल र स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले विषयगत समितिको तर्फबाट प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रगति विवरणको विषयमा सहभागि राजनितिक दल र संघ संस्थाका प्रतिनिधिहरुले जिज्ञाशा, गुनासो तथा प्रश्न राखेका थिए । केही सरकारी कार्यालयबाट सञ्चालन हुने योजनाहरुमा कर्मचारीको नियतबस ढिलासुस्ती, झञ्जट र कमीसनको चलखेल भएको भन्दै सहभागीले सचेत पनि बनाएका छन् ।

सम्बन्धित कार्यालयका प्रमुखहरुले उत्तर दिएका थिए । स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको अध्यक्षता, योजना अनुगमन तथा प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलको सञ्चालन र प्रमुख जिल्ला ईञ्जीनियर ओमबहादुर केसीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।