ताजा समाचार:
Search

मुस्ताङको स्याउ बोट बाटै बिक्री

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २७ साउन ।
मुस्ताङका स्याउ बगैचामा व्यापारीहरुको चहलपहल बढेको छ । पोखरा, काठमाडौ, धादीङ, चितवन, पर्वत, बागलुङ, म्याग्दी लगायतका ठाउँबाट आएका स्याउ ब्यापारीको चहलपहल बढेको हो ।

स्याउ पाक्ने र टिप्ने याम सुरु नहुदै ब्यापारीले कृषकलाई अग्रीम पैसा बुझाएर बगैचानै ठेक्कामा लिएका छन् । मुस्ताङका धेरै जसो कृषकहरुले स्याउ बिक्री गरेर पैसा पनि बुझीसकेको मार्फाको स्याङका कृषक आसबहादुर थकालीले बताउनुभयो ।

सडक सुबिधाको पहुँचसंगै मुस्ताङको स्याउले सहज रुपमा बजार र कृषकले भनेजस्तो भाउ पाएका छन् । एक दशक अघिसम्म डोको र खच्चर लगेर मुस्ताङ पुग्ने ब्यापारीलाई फकाई फुलाई स्याउ बेच्नुपर्ने बाध्यता थियो । बजारमा पुग्दा स्याउको खरिद मूल्य भन्दा ढुवानी खर्च बढी हुने गर्दथ्यो ।DSC02408मुस्ताङी स्याउको छुट्टै ख्याती र उच्च मागका कारण ब्यापारीहरु पैसाको बिटो बोकेर किसानको बगैचामै पुगेका हुन् । रासायनीक मल र बिषादीको प्रयोग नगरिएको, चिसो र स्वच्छ वातावरणमा उत्पादीत मुस्ताङको स्याउ स्वादीलो र रसीलो हुनाले ग्राहकले रुचाउने गरेका धादीङबाट आएका ब्यापारी कोप्चेन तामाङले बताउनुभयो ।

कृषकहरुले प्रतिव्यक्ती वार्षिक न्युनतम एक लाख रुपैयाँ देखि ७०/८० लाख रुपैयाँ सम्मको स्याउ बिक्री गर्छन् । मुस्ताङको ८६७ हेक्टर जमिनमा गोल्डेन, डेलिसेस, रिचारेड, रेड डेलिसेस र फुजी जातका स्याउ खेति भएको छ । कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागवेनी लगायतका गाविस स्याउ खेतीका लागि पकेट क्षेत्र हुन् ।

आर्कषक दाना र स्वादीलो भएकाले मुस्ताङको स्याउले बिदेशमा समेत बजार पाउन थालेको जिल्ला कृषि विकास कार्यालयका प्राबिधिक सहायक भिमबहादुर थकालीले बताउनुभयो । आर्थिक वर्ष २०७२/७३ मा पाँच हजार मेट्रिक्टन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार दुई सय मेट्रिक्टन उत्पादन हुने अनुमान गरिएको छ ।