ताजा समाचार:
Search

करिब दुई करोड अनुदानमा १८१ योजना तथा कार्यक्रम निर्माण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २६ साउन ।
बेनी नगरपालिका कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्ष २०७२७३ मा करिब दुई करोड रुपैया लगानीमा १८१ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको छ ।
एक करोड ९४ लाख नौ हजार १६४ रुपैयाँ अनुदान सहयोगमा लक्षित वर्ग सम्बन्धि १५२ वटा कार्यक्रम र २९ वटा योजना सम्पन्न भएको हो । नगरपालीका कार्यालयको अनुदान सहयोगमा उपभोक्ता समितिद्धारा सञ्चालित योजना तथा कार्यक्रममा समुदायको पनि नगद र श्रम सहभागिता रहेको छ ।DSC02822

१९१ योजना तथा कार्यक्रमका लागि एक करोड ९९ लाख ३३ हजार ५५४ रुपैयाँ बजेट बिनियोजन भएको थियो । दश वटा योजना तथा कार्यक्रम सम्पन्न हुन सकेको छैन् । बेनीमा बुधबार आयोजित वार्षिक समिक्षा गोष्ठिमा कार्यकारी अधिकृत छवीलाल सुवेदीले नगरपालीकाद्धारा सञ्चालित योजना तथा कार्यक्रमको प्रगति विवरण सार्वजनीक गर्नुभएको थियो ।

उहाँका अनुसार पिछडिएको वर्ग संग सम्बन्धि ५२, बालबालकिा तर्फका ३० र महिला लक्षित ३६ वटा योजना तथा कार्यक्रम सम्पन्न भएका छन् । गत वर्ष नगरपालीका क्षेत्रमा १८ किलोमिटर सडक स्तरोन्नति र ३.८ किलोमिटर नयाँ ट्याक निर्माण भएको छ ।

६२५ मिटर गोरेटो बाटो स्तरोन्नति भएको छ । ८ वटा खानेपानी आयोजना र ३ वटा सार्वजनीक शौचालय, २३० मिटर सिचाई कुलो र १ वटा लिफ्ट सिचाई आयोजना निर्माण भएको छ । नगरपालीकाले गत वर्ष आठ वटा विद्यालय, दुई वटा बालविकास, एक वटा प्रहरी चौकी भवन निर्माण गर्न अनुदान सहयोग गरेको थियो ।

तीन वटा आमा समूह र एक वटा स्वास्थ्य चौकी भवन मर्मत भएको छ । १.८ किलोमिटर ग्रामिण विद्युतीकरण लाईन विस्तारका साथै बेनीमा १८ वटा सौर्य सडक वत्ती जडान, बाढी व्यवस्थापन सम्बन्धि एक र तिन वटा नदी नियन्त्रण योजना अन्तरगत तटबन्ध गरिएको कार्यकारी अधिकृत सुवेदीले बताउनुभयो ।

नगरपालिकाको अनुदान सहयोगमा बेनीको खुल्ला मञ्च र भानु उच्च मावि परिसरमा खेलमैदान मर्मत भएको छ । बेनी नगरपालिकाले गत आर्थिक वर्षमा अघिल्लो वर्षको अल्याय सहित एक करोड ८० लाख ९८ हजार १५९ रुपैयाँ आन्तरीक आम्दानी गरेको छ ।
तीन हजार ९८५ जनालाई एक करोड ९७ लाख ३९ हजार ८०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । यसैगरी नगरपालीका क्षेत्रमा गत आर्थिक वर्षमा ८२१ जन्मदर्ता, २७५ बिवाह, चार वटा सम्बन्ध बिच्छेद, ३४ वटा बसाई सराई र १४६ वटा मृत्युदर्ता सम्बन्धि घटना दर्ता भएका छन् ।

कार्यकारी अधिकृत सुवेदीको अध्यक्षता, एलजीसिडीपी कार्यक्रम अधिकृत सोबिता कडेलको सञ्चालन, ईञ्जिनियर बिमलरञ्जन कार्कीको स्वागत र स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनितिक दलहरुको तर्फबाट नेपाली काँग्रेसका सचिव हरिकुमार श्रेष्ठ र ६ वडा नागरिक मञ्चका संयोजक राजेन्द्र श्रेष्ठले मन्तब्य व्यक्त गर्नुभएको थियो ।