म्याग्दीमा गरिबीले बढायो आत्महत्या

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,साउन २४ गते ।
बेनी नगरपालिका ११ भिरमुनीमा २०७२ असोजमा ४० वर्षिया महिलाले झुण्डीएर आत्महत्या गरिन् । भिरमुनीको आत्महत्याको घटना सेलाउन नपाउँदै नगरपालिकाकै ५ नम्बर वडामा पर्ने थाकनपोखरीमा पनि त्यस्तै घटना घट्यो ।

२२ वर्षकी अर्की युवतीले देहत्याग गरिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मासिक दुई वटाको अनुपातमा आत्महत्याको घटना दर्ता हुन्छन् । अधिकांशले आत्महत्या गर्नुको कारण भने समान छ । प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुको भनाईमा म्याग्दीमा बर्षेनी बढ्दै गएको आत्महत्याको प्रमुख कारण गरिबी हो ।Suicide-2

‘आत्महत्या गर्नेमा बढी विपन्न समुदायका महिला छन्’ प्रहरी निरिक्षक गुरुले भन्नुभयो ‘गरिबी, विपन्नता, अभाव र अशिक्षाका कारण आत्महत्याको बाटो रोजेको देखिन्छ ।’ भिरमुनीकी महिलाले ऋण तिर्न नसकेपछि आत्महत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । श्रीमानले घर ब्यवहारमा चासो नदिने र बरालीएर हिड्ने समस्या थियो ।

घरब्यवहार चलाउन लिएको ऋण तिर्न नसकेपछि उनि मानसीक तनावमा थिईन् । समाजमा बेईज्यत हुने डरले आत्महत्याको बाटो रोजेको हुन सक्ने घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक गुरुले बताउनुभयो ।

थाकनपोखरीकी युवतीले आत्महत्या गर्नुको पछाडी पनि गरिबी र परिवारको कमजोर आर्थिक अवस्था जोडिएको छ । कक्षा १२ पढ्दै गरेकी अबिवाहीत ति युवतीले डायरीमा (नोट) लेखेर आत्महत्या गरेकी थिइन । ‘सोसाईड नोट’मा उल्लेख भए अनुसार उनको नर्स बन्ने ईच्छा थियो । घरको कमजोर आर्थिक अवस्थाले उनको लक्ष्यमा ठेस लाग्यो ।

उनले दश जोड दुई तहको शिक्षा लाई पनि निरन्तरता दिन नसक्ने अवस्था आएपछि संसारबाट बिदा लिने कठोर निर्णय गएको नोटमा लेखेकी छिन् । भिरमुनी र थाकनपोखरीमा आत्महत्या गर्ने महिला र युवती दलित समुदायका हुन् । प्रहरीका अनुसार उनिहरुले त्यसअघि पनि दुई पटक आत्महत्याको प्रयास गरका थिए ।

ग्रामिण भेग, अशिक्षित, महिला र दलित समुदायमा आत्महत्याको समस्या बढेको प्रहरीको तथ्याङ्क छ । पछिल्लो तिन आर्थिक वर्षमा जिल्लामा आत्महत्या गर्नेको संख्या ५९ जना छ । ३३ जना महिला र २६ जना पुरुषले आत्महत्या गरेका हुन् । आर्थिक वर्ष २०७२७३ मा ११ पुरुष, १४ महिला, ०७१०७२ मा १३ महिला, १३ पुरुष र ०७०७१ मा ६ महिला र ८ पुरुषले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्ने धेरै २५ देखि ४० वर्ष उमेर समूहका छन् । अभिभावकहरुले घरब्यवहार चलाउन, ऋण तिर्न, छोराछोरी पढाउन नसक्ने अवस्था आएपछि मानसिक तनाव उत्पन्न भई आत्महत्या गरेको देखिन्छ । युवायुवतीले आत्महत्या गर्नुको कारण आवेगको निर्णय, पढाइ र प्रेममा असफलता, बेरोजगारी देखिएको छ ।

पिप्लेमा गत हिउँदमा १३ वर्षिया किशोरीले छिमेकीले गरेको गाली सहन नसकेर आत्महत्या गरेकी थिइन । स्याउला चोरेको आरोपमा छिमेकीले अश्लिल शब्द प्रयोग गरेर गाली गरेपछि आवेग र रिशले गर्दा किशोरीले आत्महत्या गरेको प्रहरीले जनाएको छ । ५० वर्ष भन्दा बढी उमेरका मानिसहरुले एक्लोपनाको महशुस गर्ने, मानसीक तनाव र जटिल रोगको पीडा सहन नसकेर आत्महत्या गरेको पाइएको छ ।

बेनी नगरपालिका १२ चिप्लेटीमा ५६ वर्षीया वृद्धाले २०७२ फागुनको शिवरात्रीको दिन सबै आफन्तलाई फोन गरेर आत्महत्या गरेकी थिइन् । मानसीक रोगको औषधि सेवन गरीरहेकी उनले श्रीमान बाख्रा चराउन गएको र घरमा कोही नभएको समयमा आत्महत्या गरेकी हुन् ।
आफन्त र परिवारका सदस्यको चहलपहल हुनपर्ने चाडपर्वको दिन घर सुनसान बनेपछि एक्लोपन महशुस गरेर उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बैदेशिक रोजगारी र सहरमा बढ्दो बसाईसराईले गर्दा ग्रामिण क्षेत्रका वृद्धवृद्धाहरुमा एक्लोपना महशुस भई तनावको समस्या देखिएको छ ।

पैसा, पहुँचवालाको बोलवाला हँुदै गएको समाजमा गरिब विपन्नको समस्यालाई बेवास्ता तथा मनोसामाजिक परामर्शको अभाव देखिएको छ । अर्कोतर्फ मानिसहरुमा आफ्नो क्षमत्ता, हैसियत भन्दा बढी सुख, सुबिधा, बिलाशीलाको महत्वाकांक्षा तथा चाहना पलाउने र नैतिक बिचलन बढ्दै गएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रध्यापक तारानाथ शर्मा मानिसको क्षमत्ता, चाहना र परिवेशबीचको अन्तरद्धन्द्धले मृत्युइच्छाको भावना जगाउने बताउँनुहुन्छ । गरिबी र आर्थिक अभावले मानिसको इच्छा पुरा गर्न बाधा सिर्जना गरेपछि निराशा, जिवनप्रती नकारात्मक सोच, मानसिक तनाव पैदा भई आत्महत्याको बाटो राज्ने शर्माको भनाई छ ।

‘राज्यले गरिब, विपन्न समुदायका लागि उपलब्ध गराउने सेवा सुबिधा उनिहरुसम्म नपुग्नुको परिणाम आत्महत्याको डरलाग्दो रुपलाई लिन सकिन्छ’ प्रध्यापक शर्माले भन्नुभयो ‘राज्यले लक्षित समुदायका लागि उपलब्ध गराउने सेवा सुबिधा कुनै समिति व्यक्तिहरुमा पुगेर रोकिँदा यस्तो अवस्था आएको हो ।’

गरिबी न्युनीकरण, रोजगारी सिर्जना, आयआर्जन वृद्धीका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट परिचालन हुने बजेट लक्षित समुदायसम्म पुग्न सक्ने हो भने उनिहरुको आर्थिक स्रोतमा पहुँच बढेर सामाजिक र आर्थिक समस्या न्युनीकरण हुने शर्माले बताउनुभयो ।
समाजमा निराशा र वितृष्णाको भावना बढ्दो छ भने त्यसलाई न्युनीकरणका लागि जिवन उपयोगी शिक्षा, मनोवैज्ञानिक परामर्श, क्षमत्तावानलाई अवसर र सम्मान हुने वातावरण छैन् ।
गरिबी र मानसिक बिचलनका कारण आत्महत्या बढेको देखिएकाले सचेतनामुलक अभियान सञ्चालन गर्ने तयारी गरेको म्याग्दीका प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो ।
‘समाजले गरिब, अशिक्षित, अपहेलित, विपन्न वर्ग र मानसीक रुपमा कमजोर भएकालाई सहानुभुती र सहयोगी ब्यवहार देखाउनुपर्छ’ प्रनाउ खड्काले भननुभयो ‘प्रहरीले सामाजिक संघ संस्थासंग समन्वय गरेर विद्यालय र समुदाय केन्द्रित सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।’