म्याग्दीमा वैंकहरुको लगानी वढ्दो

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,साउन २४ गते ।
पहाडी जिल्ला म्याग्दीमा बैङ्किङ लगानी बढ्दै गएको छ । सदरमुकाम बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा शाखा रहेका विभिन्न बैङ्क तथा वित्तिय संस्थाको लगानीसंगै निक्षेप संकलन र मुनाफा पनि बढेको छ ।

ब्यापार, व्यवसाय, घरजग्गा, बैदेशिक रोजगार, कृषि, पशुपालन, होटल तथा रेष्टुरेष्ट लगायतका क्षेत्रमा बैङ्कीङ तथा वित्तिय संस्थाले लगानी बढाएका हुन् । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७१/७२ मा म्याग्दीमा बैङ्कीङ लगानी दुई अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।cover 1आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा बैङकिङ लगानी बढेर चार अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । बैङ्क तथा वित्तिय संस्थाका जिल्ला स्थित शाखाहरुले उपलब्ध गराएको तथ्याङ्क अनुसार यहाँ निक्षेप संकलनको तुलनामा कर्जा लगानी बढी छ । गत आर्थिक वर्षमा मात्रै निक्षेप भन्दा सत्तरी करोड रुपैयाँ बढी कर्जा लगानी भएको छ ।

यसैगरी जिल्ला स्थित बैङ्कका शाखाले आर्थिक वर्ष २०७२/७३ मा तिन अर्व ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । अघिल्लो आर्थिक वर्षमा जिल्लामा बैङ्क तथा वित्तिय संस्थाले दुई अर्ब २१ करोड निक्षेप संकलन गरेका थिए ।

आर्थिक वर्ष २०७१/७२ मा बिस करोड रुपैयाँको हाराहारीमा मुनाफा गरेका म्याग्दी स्थित बैङ्क तथा वित्तिय संस्थाका शाखाहरुले आर्थिक वर्ष २०७२/७३ मा २२ करोड ९० लाख नाफा गरेको जनाएका छन् ।

ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्नु, लगानीको दायरा फराकीलो बनाउनु, राष्ट्र बैङ्कले क्षेत्रनै तोकेर निश्चित प्रतिशत लगानी गर्नुपर्ने नितीगत ब्यवस्था गर्नु र सर्वसाधारणको बैङ्कीङ सेवाप्रतीको आकर्षणले लगानी बढेको राष्ट्रिय वाणिज्य बैङ्कको बेनी शाखाका प्रबन्धक धु्रबराज पनेरुले बताउनुभयो ।

म्याग्दीमा १३ वटा बैङ्कको २० वटा शाखा छन् । दरवाङमा बाणिज्य बैङ्क र ताकमको शिवाङबाट ग्लोबल आईएमई बैङ्कले शाखारहित बैङ्कीङ सेवा प्रवाह गरेका छन् । गरिमा बिकास बैङ्कको बेनी, बाबियाचौर, दरवाङ र भुरुङ तातोपानीमा शाखा छन् । प्रभु बैङ्कले बेनी र दरवाङ शाखाबाट सेवा दिँदै आएको छ ।

सरकारी स्वामित्वका नेपाल बैङ्क, राष्ट्रिय वाणिज्य र कृषि विकास सहित माछापुच्छ्रे, सिटीजन्स, ग्लोबल आईएमई, बैङ्क अफ काठमाडौ लुम्बीनी बेनीमा शाखा सञ्चालन गरेका वाणिज्य बैङ्क हुन् । यसैगरी कैलाश, काष्ठमाण्डप, ग्रिन र फेवा विकास बैङ्क तथा पश्चिमाञ्चल फाईनान्स कम्पनीको बेनीमा शाखा छन् ।

नेपाल बैङ्कले ७२ करोड ७२ लाख, गरिमाले ७२ करोड, माछापुच्छ्रेले चालीस करोड, कृषि विकासले ४५ करोड, राष्ट्रिय वाणिज्य बैङ्कले तिस करोड लगानी गरेका छन् । बेनीमा हालै शाखा खुलेको फेवा विकासको बाहेक अन्य बैङ्कका शाखाको लगानी १२ करोड भन्दा माथि छ । नेपाल बैङ्क लिमिटेडले गत आर्थिक वर्षमा छ करोड ४९ लाख रुपैयाँ नाफा गरेको छ । त्यस्तै गरिमा, काष्ठमाण्डप, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य बैङ्क र पश्चिमाञ्चल फाईनान्सको शाखाले दुई करोड रुपैयाँ भन्दा बढी नाफा गरेको जनाएका छन् ।
कर्मचारीको लापरबाहीका कारण सुन कर्जामा समस्या देखिएपछि कृषि विकास बैंकको बेनी शाखाको नाफा ४१ लाख ७२ हजार रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष चार करोड २९ लाख रुपैया नाफा गरेको कृषि विकास बैङ्कले लगानी पनि ४९ करोड रुपैयाँ बाट घटाएर ४५ करोड ७५ लाख रुपैयाँमा झारेको छ ।

सुनकर्जामा देखिएको समस्या समाधान गर्ने काम अन्तिम चरणमा पुगेकाले आगामी वर्ष लगानी र नाफा बृद्धी हुने शाखा प्रबन्धक धनेन्द्र अधिकारीले दावी गर्नुभयो । बेनी बाहिर रहेको गरिमा र प्रभु बैङ्कका शाखाको नाफा पनि अघिल्लो वर्षको तुलनामा बढेको छ । बेनीमा सबै भन्दा बढी गरिमा विकास बैङ्कले ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अन्य बैङ्कका शाखाको निक्षेप कम्तीमा आठ करोड रुपैयाँ देखि बढीमा ५८ करोड रुपैया सम्म छ । धेरै जसो बैङ्क तथा वित्तिय संस्थाको शाखाले बाहिरबाट ल्याएर बेनीमा लगानी गर्न थालेका छन् । निक्षेप संकलनको तुलनामा कर्जाको माग बढी भएकाले केन्द्रिय कार्यालयबाट पुँजी ल्याएर भएपनि लगानी गरेको पश्चिमाञ्चल फाईनान्स लि.का शाखा प्रबन्धक गणेश पौडेलले बताउनुभयो ।

बेनी नगरपालिकाको अलावा बाबियाचौर, कुहुँ, बरंजा, अर्मन, ताकम, बिम, देविस्थान, हिस्तान, पात्लेखेत, पिप्ले, भगवती, बेग, घार, भुरुङ तातोपानी, दाना लगायत गाविसहरुमा कर्जा लगानी भएको बैङ्कहरुले जनाएका छन् । बेनी र बाबियाचौरमा बाहीरबाट लगानी भित्रीएपनि दरवाङ र भुरुङ तातोपानीमा भने तरलताको तुलनामा कर्जा लगानी हुन सकेको छैन ।

ग्रामिण क्षेत्रका सर्वसाधारणमा बचत गर्ने बानीको विकास भएकाले निक्षेप संकलन बढेको तर लगानीको अवसर न्युन रहेको प्रभु बैङ्कको दरवाङ शाखाका प्रबन्धक जागृत पुनले बताउनुभयो । ग्रामिण क्षेत्रबाट अझै कर्जाको माग अपेक्षाकृत रुपमा आउन नसकेको उहाँको भनाई छ । बैङ्क कर्मचारीहरुका अनुसार ग्रामिण बजार क्षेत्रमा बेनीमा जस्तो धेरै सहकारीसंग निक्षेपमा प्रतिस्पर्धा नहुनु र बिदेशबाट आउने रेमिटेन्स बैङ्कमा जम्मा गर्नाले पनि निक्षेप बढी भएको हो ।

बेनी र वरपरका सर्वसाधारणहरुले निक्षेपका लागि सहकारी र कर्जाका लागि बैङ्कबाट सेवा लिने गरेको देखिएको छ । बढी ब्याज पाईने भएकाले सहकारीमा पैसा जम्मा गर्ने सेवाग्राहीले कर्जा आवश्यक पर्दा बैङ्कमा जाने गरेको बैङ्क तथा वित्तिय संस्थाका कर्मचारीहरु बताउँछन् । केही व्यक्तिहरुले बैङ्कबाट कर्जा लिएर सहकारीबाट बढी ब्याजदरमा परिचालन गरेको पनि बैङ्कीङ क्षेत्रमा चर्चा छ ।

अहिले बैङ्कहरुले बचतमा वार्षिक चार देखि पाँच प्रतिशत ब्याज दिन्छन भने र कर्जाको ब्याजदर वार्षिक दश प्रतिशतसम्म छ । १६ देखि बिस प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्ने सहकारीले निक्षेपमा ११ देखि १५ प्रतिशतसम्म ब्याज दिन्छन् ।

बैङ्कमा राखेको पैसा निकालेर सहकारीमा जम्मा गर्ने सोच बनाएका धाईरीङका नारायण उपाध्यायले अलमल ब्यक्त गर्नुभयो । सहकारीले बढी ब्याज दिने सुरक्षा नहुने र बैङ्कमा सुरक्षा भएपनि ब्याज नपाउने समस्याले अलमल परेको उहाँको भनाई छ ।
बेनीमा ३० भन्दा बढी सहकारीहरु पनि सञ्चालनमा छन् । केही सहकारी संस्थाको कारोबार वाणिज्य बैङ्कको शाखाको भन्दा बढी छ । जिल्लाभर करिब ४० हजार जनाले बैङ्क तथा वित्तिय संस्थामा खाता खोलेर कारोबार गरेको अनुमान छ । रेमिटेन्सले म्याग्दीको अर्थतन्त्र धानेपनि बचतका लागि बैङ्कमा निक्षेपको रुपमा भने न्युन मात्रामा पुग्ने गरेको छ ।

जिल्लामा भित्र्ने रेमिटेन्सको धेरै हिस्सा उपभोग, घरजग्गा र बसाईसराईले बाहिरीने गरेकाले थोरै मात्र निक्षेपको रुपमा बैङ्कसम्म आउने प्रभु बैङ्कको बेनी शाखाका प्रबन्धक निरोज पन्तले बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका अनुसार २०७२ असार देखि पुष मसान्तसम्म म्याग्दीमा पाँच अर्ब ८१ करोड रुपैयाँ रेमिटेन्स भित्र्ीएको देखिएपनि सोही अवधिमा बैङ्कहरुको निक्षेप भने दुई अर्ब ६९ करोड मात्र रहेको पन्तले बताउनुभयो ।

बैङ्क तथा वित्तिय संस्थाहरुमा पर्याप्त तरलता र प्रतिस्पर्धाले गर्दा बजार क्षेत्रका ब्यवसायीहरुको बैङ्कीङ सुबिधामा सहज पहुँच स्थापित भएको छ । बैङ्कीङ लगानीको चालीस प्रतिशत हिस्सा ब्यापार, व्यवसायले ओगटेको छ । कृषि कर्जाको चर्चा धेरै भएपनि दश प्रतिशतको हाराहारीमा मात्रै लगानी भएको अनुमान छ । ब्यापार पछि धेरै लगानी हुने क्षेत्रमा घरजग्गा, व्यक्तिगत, हायर पर्चेज र सुन कर्जा रहेका छन् ।

बैङ्कको सुबिधाले लाखौ करोडौ रकम बोकेर हिड्नुपर्ने देखि लगानीका लागि व्यक्तिबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । पुराना व्यवसायीले व्यवसाय विस्तार गर्ने र नयाँ थपिने क्रम बढ्नुमा प्रमुख कारण बैङ्क तथा वित्तिय संस्थामा सहज पहुँच र प्रतिस्पर्धा रहेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव राजेश शाक्यले बताउनुभयो । एक दशकअघि बेनीमा थोरै संख्यामा बैङ्क हुँदा धितो र योजना भएपनि सहज रुपमा कर्जा पाउन सक्ने अवस्था थिएन् ।

शान्ति स्थापना पश्चात निजी क्षेत्रका बैंक, वित्तिय संस्थाका शाखाले व्यवसायी खोज्दै सहज रुपमा कर्जा उपलब्ध गराउन थालेका छन् । बैङ्कहरुको लगानीका लागि प्रतिस्पर्धा हुँदा सुनचाँदी, घरजग्गा, कपडा, हार्डवयर, सूचना प्रबिधि, होटल, फर्नीचर, यातायात लगायतका व्यवसाय गर्ने ब्यवसायीहरुलाई सजिलो भएको महासचिव शाक्यले बताउनुभयो ।

घरेलु तथा साना उद्योग विकास समितिको आर्थिक वर्ष २०७२/७३ को तथ्याङ्क अनुसार म्याग्दीमा एक हजार ४१९ घरेलु तथा साना उद्योग र एक हजार ५१९ व्यवसायिक फर्महरु सञ्चालनमा छन् । व्यक्ति र सहकारीबाट ऋण लिन भन्दा बैङ्कमा धितो राखेर कर्जा सुबिधा लिदाँ धेरै गुणा सस्तो पर्ने भएकाले सर्वसाधारण बैङ्कीङ सेवाप्रति आकर्षित भएका हुन् ।
व्यक्तिबाट ऋण लिदाँ वार्षिक २४ देखि ३६ प्रतिशतका दरले ब्याज तिर्नुपर्छ । कतिपयले मिटर ब्याज लगाउछन् । सहकारी संस्थाले पनि वार्षिक १९ देखि बिस प्रतिशतसम्म ब्याज लिन्छन् । सस्तो ब्याजदरका कारण सर्वसाधारण झञ्जटीलो प्रक्रिया भएपनि ऋणका लागि बैङ्कमा पुग्न थालेका हुन् ।
भेडापालन व्यवसाय विस्तारका लागि लगानीको खोजी गर्दै बेनी स्थित एक वाणिज्य बैङ्कको शाखामा आईपुगेका मल्कवाङका अमर छन्त्यालले व्यक्ति र सरकारीबाट ऋण लिएर ब्यवसाय गर्दा आम्दानीले ब्याज तिर्नै ठिक्क हुने बताउनुहुन्छ ।

‘चर्को ब्याजदरमा ऋण लिएर व्यवसाय गर्दा प्रगती गर्न सकिदैन’ पाँच वर्ष दक्षिण कोरीयामा काम गरेर फर्कीएका छन्त्यालले भन्नुभयो ‘सस्तो र सहुलियत ब्याजदरमा कृषि कर्जाको सुबिधा पाउने बारेमा जानकारी भएकाले बैङ्कमा आएको हो ।’

आर्थिक क्षेत्रका अध्यता हरु भने वार्षिक अरबौ रेमिटेन्स भित्र्ने र सोही मात्रामा हुने बैङ्कीङ लगानीले जिल्लाको आर्थिक विकास र रोजगारी र्सजनाका लागि अपेक्षाकृत योगदान गर्न नसकेको बताउँछन् ।

बजार केन्द्रित, बिलाशी र अनुत्पादक क्षेत्रमा भएको बैङ्कीङ लगानीले रोजगारी सिर्जना, गरिबी निवारण, उत्पादन र आयआर्जन वृद्धीमा खासै राम्रो भुमिका खेल्न नसकेको म्याग्दी बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्रध्यापक भोलानाथ घिमीरेले बताउनुभयो ।

उद्योग र ठूला कृषि फर्म नभएको म्याग्दीमा भएको बैङ्कीङ लगानी बाहिर उत्पादन भएका सामान ल्याएर गरिने ब्यापार, होटल तथा रेष्टुरेन्ट, यातायात जस्ता सेवामुलक क्षेत्र र घरजग्गामै केन्द्रित रहेको घिमीरेको तर्क छ ।

‘ब्यापार र सेवामुलक नाफा आर्जन गर्न सकिने व्यवसायमा बैङ्कीङ लगानीले प्राथमिकता पाएको छ’ घिमीरेले भन्नुभयो ‘यस्तो क्षेत्रमा भएको लगानीले बजारीया दुनियालाई सिङ्गारेको मात्रै छ ।’ सर्वसाधारणको दिगो आयस्रोत बन्न सक्ने कृषि र साना तथा मझौला क्षेत्रमा लगानी बढाउन सकेमा रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा मिल्ने प्रध्यापक घिमीरेको भनाई छ ।

बैङ्क तथा वित्तिय संस्थाहरुले ग्रामिण क्षेत्रमा तरकारी, सुन्तला, जडिवुटी खेती गर्ने, भेडाबाख्रा, गाईभैसी, कुखुरा पालन र मझौला उद्योग सञ्चालन गर्नेहरुलाई लगानीमा प्राथमिकता दिनुपर्ने सरोकारवालाहरुको भनाई छ । पर्यटकीय क्षेत्रमा सञ्चालन हुने होटल ब्यवसाय पनि म्याग्दीमा लगानीका लागि सुरक्षित र सम्भावना बोकेको अर्को क्षेत्र मानिएको छ ।