म्याग्दीमा मोवाईल चोरको बिगबिगी

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ साउन । म्याग्दीमा पछिल्लो समय मोवाईल फोन चोरीको घटना बढेको छ । सदरमुकाम र आसपासका बजार क्षेत्रबाट प्रहरीले एक हप्तायता सात वटा हराएका मोवाईल बरामद गरि सम्बन्धित व्यक्तिलाई बुझाई सकेको छ ।

अधिकांश मोवाईल चोरी घर, पसलमै राखेको अवस्थामा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो । घर तथा पसलमा चार्जमा राखेको अथवा छाडेर अन्य कुनै काममा गएको अवस्थामा मोवाईल चोरी हुने भएको पाइएको छ ।DSC02502

साथमै राख्नुपर्ने मोवाईलको संरक्षण नगर्ने र सुरक्षामा ध्यान नदिदा चोरीका घटना बढेका प्रहरी निरिक्षक गुरुले बताउनुभयो । आईफोन, आईप्याड देखि एनड्रोईड फोनहरु धेरै चोरी भएका छन् । धेरै मूल्य पर्ने भएकाले मोवाईल चोरी र बिक्री गर्ने कार्यमा गिरोहनै सक्रिय बनेको प्रहरीको अनुमान छ । प्रहरीले सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ४ र गत वर्ष ८ वटा चोरी सम्बन्धि मुद्दा दर्ता भएको प्रहरी कार्यालयमा यो आर्थिक वर्षको दुई हप्तामै विगतका वर्षजत्तिकै मोवाईल चोरीको उजुरी आएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । प्रबिधिको विकासले गर्दा मोवाईल चोरीको घटना छिट्टै पहिचान हुने गरेको छ ।

मोवाईल ट्यागिङ, जिपीएस, डेटा आदी प्रबिधिको प्रयोगबाट चोरी भएको मोवाइल कहाँ कसले लगेको छ भन्ने पत्ता लाग्ने गर्छ । अत्याधुनीक प्रबिधि जडित भएकाले आईफोन चोर्नेहरु अझ छिटो प्रहरीको फन्दामा पर्ने गरेका छन् ।