बेनीमा नौ दिनपछि खानेपानी वितरण सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ साउन ।
म्याग्दी सदरमुकाम बेनीमा नौ दिनपछि मंगलबारदेखि खानेपानी वितरण सुरु भएको छ ।

बेनी बजारमा खानेपानी ल्याउने पाईपमा पहिरोले क्षत्ती पु¥याएपछि साउन १० गतेदेखि खानेपानी वितरण हुन सकेको थिएन् । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तत्काललाई पाईप मर्मत गरेर अस्थाई रुपमा खानेपानी आपूर्ती गराई वितरण गरीएको जनाएको छ ।

दूधेखोला र पुम्दीखोलादेखि बेनीमा खानेपानी ल्याउन प्रयोग भएको पाईप विभिन्न ठाउँमा खसेको पहिरोका कारण टुटेपछि खानेपानी आपूर्ती बन्द भएको थियो । दुईतिरकै पाईप मर्मत गरेर मंगलबार साँझदेखि अस्थाई रुपमा खानेपानी वितरण सुरु गरिएको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो ।beni

दूधेखोला र पुम्दीखोलाबाट प्रतिसेकेण्ड १३ लिटरका दरले आउने पानी बराहपाखो सामुदायीक बन क्षेत्रमा रहेको टंकीमा संकलन गरेर बेनी बजारका करिब एक हजार घरधुरीलाई वितरण गरिदै आएको छ । निरन्तर पहिरो खसिरहने, बर्षा र सडक अवरुद्ध हुदा उपकरण लैजान समस्या हुँदा पाईप मर्मतमा ढिलाई भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

धारामा पानी नआएपछि बजारबासीहरुले सामुदायीक वन र व्यक्तिगत मुलबाट ल्याएको पानी बाँडेर तथा नजिकैको ठाउँबाट ओसारेर खानेपानीको जोहो गरेका थिए । हाल प्रतिसेकेण्ड बिस लिटर खानेपानीको माग रहेको बेनीमा खानेपानी आपूर्ती बढाउन क्षमत्ता विस्तार सम्बन्धि योजना सञ्चालन भैरहेको छ ।