बस्ती संरक्षणको माग गर्दै फुलबारीका बासिन्दा बेनीमा

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ साउन ।
गत हप्ता रितुङ खोलामा आएको बाढीका कारण जोखिममा परेको म्याग्दीको ओखरबोट १ फुलबारीका बासिन्दाहरुले बस्ती संरक्षणको माग गरेका छन् ।DSC02386

कटानका कारण घरबार बिहीन भएका पीडितहरुको एक टोलीले आईतबार जिल्ला स्थित सम्बद्ध सरकारी कार्यालय तथा राजनितिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउदै बस्ती संरक्षणका लागि सहयोग गर्न अनुरोध गरेका हुन् ।

वडा नागरीक मञ्चका संयोजक मानसिङ सापकोटाको नेतृत्वमा गाविस सचिव र पिडितहरु सहितको टोलीले प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेल, जिल्ला भुसंरक्षण अधिकृत दिवाकर पौडेल लगायत सरकारी अधिकारीहरुलाई कटानको समस्याका बारेमा अवगत गराएका छन् ।DSC02385 यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चाका पदाधीकारीलाई पनि भेटेर फुलबारीमा कटान नियन्त्रणका लागि दिगो योजना सञ्चालनका लागि पहल गर्न अनुरोध गरिएको स्थानीय बासिन्दा चुडामणी सापकोटाले बताउनुभयो ।

रितुङ खोलाको कटानका कारण ६ घरपरिवार विस्थापित भैसकेको छन भने करिब ५० घरधुरीको बसोबास रहेको फुलबारी गाउँनै जोखिममा परेको छ । यसैगरी एक वटा झोलुङगे पुल, खानेपानी आयोजनाको पाईप, सिचाई कुलोको नहरमा पनि क्षत्ती गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्य लगायत कार्यालय प्रमुखहरुले तत्काल थप कटान हुन नदिन रोकथामको काम गर्न ग्यावियन पर्खाल लगाउन सहयोग गर्ने आश्वासन दिनुभएको छ । यसैगरी राजनितिक दलका नेताहरुले राजनीतिक र प्रशासनीक रुपमा फुलबारी गाउँ संरक्षणको योजना अघि बढाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।