बेनी–दरवाङ सडक मर्मतमा बेवास्ता

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ साउन ।
म्याग्दीको पश्चिमी क्षेत्रका बिस भन्दा बढी गाविसलाई सदरमुकामसंग जोड्ने बेनी–दरवाङ सडक मर्मतमा सरोकारवालाको बेवास्ताका कारण ढिलाई भएको छ ।बेनी नगरपालीका १३ स्थित फापरखेत र बाबियाचौर ५ लाम्पाटामा खसेको पहिरोका कारण करिब तिन हप्तादेखि बेनी–दरवाङ सडक अवरुद्ध छ ।DSC02308

पहिरोका कारण सिधा सवारी सञ्चालन नहुँदा यातायात सेवाका साथै ढुवानीमा समस्या भएपनि सडक डिभिजन कार्यालयले मर्मतका लागि बेवास्ता गरेको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले बताउनुभयो ।DSC02309 समितिले यसअघि एक पटक मर्मत गरेर सडक खुलाएको केही दिनमै पुन अवरुद्ध भएको थियो । यसअघिका वर्षमा जिविसले मर्मत सम्भार गर्दै आएको बेनी दरवाङ सडक गत आर्थिक वर्षमा सडक बिभागलाई हस्तान्तरण भएको थियो ।

बागलुङ स्थित सडक डिभिजनले बेनी–जोमसोम सडकलाई मात्रै प्राथमिकता दिएको र बेनी दरवाङ सडकको पहिरो पन्छाउन ध्यान नदिएकाले सर्वसाधारणले गुनासो गर्न थालेका स्थानीय विकास अधिकारी चिरिञ्जवी पौडेलले बताउनुभयो ।

सडक डिभिजन कार्यालय बागलुङका ईञ्जिनियर नारायण पौडेलले उपकरण नहुँदा समस्या भएको बताउनुभयो । डिभिजनसंग भएका तिन वटा डोजर मध्य एक वटा बेनी मालढुंगा, अर्को बेनी जोमसोम र एउटा बागलुङ बुर्तीवाङ सडक मर्मतमा परिचालन भएको छ ।
दिनहुजसो पहिरो खसेर अवरुद्ध हुने मालढुंगा बेनी सडक मर्मतका लागि राखिएको डोजर लगेर केही दिनभित्रै बेनी दरवाङ सडक मर्मत गर्ने ईञ्जिनियर पौडेलले बताउनुभयो । उहाँका अनुसार म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक खुलाउन मर्मत कार्य जारी छ ।

चमेरे, बैसरी, काभ्रे र घाँसा क्षेत्रमा दुई वटा डोजर परिचालन गरेर मर्मत कार्यलाई तिब्र पारीएको ईञ्जिनियर पौडेलले बताउनुभयो । निरन्तरको बर्षा, हिलो र पहिरो खसीरहने भएकाले मर्मतमा समस्या भएको छ ।