म्याग्दीमा स्थानीयतह पुनसंरचनाको बहश सुरु (हेर्नुहोस नयाँ खाका )

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
साउन १४ गते ।

नयाँ संविधान अनुसार स्थानीयतहको पुनसंरचना गर्न म्याग्दीमा छलफल र वहशलाई तिव्र पारिएको छ । स्थानीय राजनीतिकदल,नागरिक समाज,पत्रकार र विभिन्न संघसंस्थाहरुका विच स्थानीयतहको पुनसंरचना वारेमा अन्तरक्रिया र छलफललाई तिव्र पारिएको हो । नयाँ संविधान अनुसार स्थानीयतहको पुनसंरचना गरिने भएकाले यो महत्वपूण अवसरलाई सदुपयोग गर्न नागरिकहरुमा आग्रह गरिएको छ ।

स्थानीयतह पुनसंरचना प्राविधिक सहयोग समितिले जिल्लामा रहेका सरोकारवाला पक्षहरुसँगको छलफललाई तिव्रता दिएको छ । समितिले छलफललाई तिव्रता दिए लगत्तै स्थानीय स्तरमा पुनसंरचनाका वारेमा चासो व्यक्त गरिएको छ ।13892126_1288841584467092_7793434951670248522_n

जिल्लाको ग्रामिण भेगमा वसोवास गर्ने स्थानीयवासीहरुले अव बन्ने गाउपालिकाको संरचनाका वारेमा चासो दिन थालेका छन् । उनीहरुले भुगोल,जनसंख्या र प्राशसनिक सुगमतालाई आधार मानेर पुनसंरचना गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालहरुमा म्याग्दीको स्थानीय तह कस्तो हुने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ । सामाजिक सञ्जाल फेसबुकमा सरोकारवाला निकायहरुले आ–आफ्नो धारणा पेश गरेका छन् ।

जिल्लाका राजनीतिक दल र अन्य सरोकारवाला पेश गरेको पुनसंरचनाको खाकामाथि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न टिकाटिप्पणीहरु भएका छन् ।

छलफलका क्रममा विभिन्न सरोकारवाला निकायहरुले स्थानीयतहको पुनसंरचना सम्बन्धि फरफरक तरिकाले खाका प्रस्तुत गरेको स्थानीय विकास अधिकारी एवम् स्थानीयतह पुनसंरचना प्राविधिक सहयोग समितिका संयोजक चिरञ्जीवी पौडेलले बताउनुभयो । उहाँले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि प्राप्त भएका खाकाहरुलाई सार्वजनिक गर्नुभएको छ ।

जिल्लामा क्रियाशिल राजनीतिकदलहरुले एक नगरपालिका सहित चार गाउँपालिका बनाउने गरि नयाँ सिमांकनको प्रस्ताब गरेका छन् । दलहरुले गरेको प्रस्ताब अनुसार हाल साविकको बेनी नगरपालिकामा भकिम्ली, बरंजा, बावियाचौर, कुहुँ र पात्लेखेत गाविसलाई समावेश गर्ने उल्लेख छ । नयाँ गाविस समावेश गरि बन्ने बेनी नगरपालिकाको केन्द्र बेनीबजारलाई नै तोकिएको छ ।

त्यस्तै दलहरुले गरेको धौलागिरी गाउँपालिकाको सिफारिसमा गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, मराङ, मल्कवाङ गाविस र कुइनेमंगलेको १–३ सम्मका वडाहरुलाई राख्ने र गाउँपालिकाको केन्द्र ताकम तोकिएको छ । त्यसैगरि प्रस्तावित

मालीका/मंगला गाउपालिकामा विम, देविस्थान, दरबाङ, ओखरवोट, रूम, निस्कोट र अर्मन गाविसहरू राख्ने र गाउँपालिका केन्द्रमा दरबाङलाई तोक्ने उल्लेख छ । दलहरुले प्रस्तावित रघुगंगा गांउपालिकामा वेग, भगवती, पिप्ले, दग्नाम, चिमखोला, पाखापानी, झीं गाविसहरू र कुइनेमंगले को ४ –९ सम्मका वडाहरू समाहित गर्ने उल्लेख गरिएको छ भने गाउँपालिका केन्द्रमा पिप्ले वा मौवाफाँट तोकिएको छ ।

त्यस्तै, प्रस्तावित अन्नपूर्ण वा निलगिरिका साथै कालीगण्डकी तिनमा एक विकल्प रोज्न सकिने गाउँपालिकामा राम्चे, हिस्तान, घार ,शिख, नारच्याङ, दाना, दोवा र भुरुङ तातोपानी गाविसहरू समाहित गर्ने र पोखरेबगरलाई गाउँपालिका केन्द्र तोक्ने उल्लेख गरि सुझाव पेश भएको पौडेलले बताउँनुभयो ।

स्थानीयतहको पुनसंरचनाका वारेमा जिल्लावासीहरु सँग सुझाव लिने काम भइरहेको उहाँले बताउनुभयो । एक नगरपालिका र ३५ गाविसहरु रहेको यस जिल्लामा नगरपालिका सहित पाँचवटा स्थानीयतह बनाउने आयोगको प्रस्ताव बमोजिम समितिले काम थालेको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी पौडेलले जानकारी दिनुभयो ।

पहिलो चरणमा जिल्लाका क्रियाशिल राजनीतिक दल,नागरिक समाज, पत्रकार र विभिन्न संघसंस्थाहरुले स्थानीयतहको पुनसंरचनाको खाका पेश गरेको सहयोग समितिका सदस्य सचिव एवम योजना अनुगमन तथा प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । सवै क्षेत्रबाट प्राप्त भएका राय सुझावहरुलाई वृहत छलफल गरि अन्तिम रुप दिएर आयोग समक्ष पेश गरिने उहाँले बताउनुभयो ।

स्थानीयतह पुनसंरचना वारेमा जनताको राय र सुझाव लिन गाविस सचिवहरुलाई कार्यक्षेत्रमा परिचालन गर्ने तयारी जिविसले गरेको उहाँले बताउनुभयो । स्थानीयस्तरमा भने पुनसंरचना गर्दा व्यापक रुपमा छलफल र अन्तरक्रिया गरिनुपर्ने ग्रामिण भेगका स्थानीयवासीहरुको मत रहेको छ ।

हेर्नुहोस विभिन्न सरोकारवाला पक्षहरुको प्रस्ताव

स्थानीय तह पुनर्संरचना सम्बन्धि प्रस्तावहरु