बेनीमा खानेपानीको हाहाकार

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १४ साउन ।
खानेपानी आपूर्ती बन्द भएपछि म्याग्दी सदरमुकाम बेनी बजारका बासिन्दाहरु समस्यामा परेका छन् ।

राम्चेको पुम्दीखोला र भकिम्लीको दूधेखोलाबाट बेनीमा खानेपानी ल्याउने पाईप पहिरोले फुटाएपछि बेनीमा पाँच दिनयता खानेपानी आपूर्ती हुन सकेको छैन् । बेनीका रहेका करिब एक हजार घरधुरीमा बसोबास गर्ने पन्ध्रहजार जनसंख्या खानेपानी आपूर्ती नहुँदा प्रभावित भएका छन् ।

धारामा पानी नआउँदा बजारबासीले वरपरका मुहानमा पुगेर खानेपानी ल्याउन थालेका छन् । पुम्दीखोलाको मुहानदेखि केहि तल चार ठाउँमा पाईप भाँचिएको छ भने चमेरे र राहुपारेमा पाईप बगाईदिएको छ । बेनीदेखि गलेश्वरको बीचमा दुई स्थानमा पाईप फुटेको छ ।beniफाइल तस्विर

भकिम्ली–९ तोराखेतबाट झरेको पहिरोले दूधेखोलाबाट पानी ल्याउने पाईपमा क्षति पु¥याएको बेनी खानेपानी तथा उपभोक्ता संस्थाले जनाएको छ । पहिरोले फुटाएको ठाउँमा नयाँ पाईप राख्ने र जडान गरेर खानेपानी आपूर्ती गराउन पहल गरिएपनि सडक अवरुद्ध हुँदा समस्या भएको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो ।

दुई ठाउँको मुहानबाट आउने प्रतिसेकेण्ड १३ लिटर पानी बेनी बजार माथिको बराहपाखोमा रहेको ट्याङकीमा संकलन गरि घर–घरमा वितरण गर्ने व्यवस्था मिलाइएको छ । आयोजनाको क्षमत्ता विस्तारको काम पनि भैरहेको छ ।