ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी,साउन १३ गते ।
१६ वर्षको कलिलो उमेरमै परिवार छाडेर धेरै पैसा कमाउने सपना बोकेर साउदी कतार हानिएका कृष्ण विकले सोचे अनुसार त्यहाँ पैसा कमाउन सक्नुभएन । विकले साउदीमा धेरै दुःख पाउनुभयो । चर्को घाममा पसिना बगाउँदा पनि उहाँले यता परिवारको मन बुझाउन सक्नुभएन । सात समुन्द्र पारी बस्दा चाहे अनुसारको पैसा कमाउन नसकेपछि विकले स्वदेश फर्किने निधो गर्नुभयो ।
प्रदेशमा गर्ने परिश्रम स्वदेशमै गर्न सके छोटो समयमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण विकले प्रस्तुत गर्नु भएको छ । जिल्लाको मुना गाविस ३ स्थायी घर भइ हाल बेनीनगरपालिका ७ मङगलाघाटमा जग्गा भाडामा लिएर व्यवसायिक बंगुरपालन गर्नुभएका विकले चार वर्षमै पचासलाख भन्दा वढी कमाउन सफल हुनुभएको छ । उहाँले पैसा मात्र कमाउनुभएको छैन समाजमा इज्जत र प्रतिष्ठा समेत कमाउनुभएको छ ।
धेरै लगानी गर्न नपर्ने र थोरै समयमा आम्दानी गर्न सकिने भएकाले बंगुरपालनपालन व्यवसाय रोजाइमा परेको युवा किसान विकको भनाई छ । चार वर्ष अघि ६ वटा पाठाबाट सुरु गरेको फर्ममा अहिले ८७ वटा बंगुरहरु छन् । सुरुमा दुइलाख पचास हजार लगानी गरेको हुँ विकले भन्नुभयो,‘अहिले २० लाख रुपियाँ वरावरका बंगुरहरु छन् ।’ फर्मको सवै हिसाब गर्दा पचास लाख भन्दा बढीको सम्पत्ती भएको उहाँले बताउनुभयो ।
महिनामा ७ वटा बंगुर विक्री गरेर मासिक एकलाख पचासहजार आम्दानी गर्ने विकले बताउनुभयो । बंगुरपालन व्यवसायको आम्दानीले विकले बेनीमै घरघडेरी जोडीसक्नुभएको छ । बंगुरपालन व्यवसायबाटै मैले मङगलाघाटमा यही वर्ष ५० लाख रुपियाँमा घर खरिद गरे, विकले भन्नुभयो ‘साउदी वसेको भए अहिले सम्म बेनीमा घर किन्न सक्ने थिएन होला ।’
प्रति बंगुर चालिसहजार सम्ममा विक्री हुने उहाँका भनाई छ । बंगुरको मासु विक्री गर्न विकले बेनी बजारमै आफ्नै फ्रेस हाउस पसल खोल्नुभएको छ । उत्पादित बंगुर बेनीमा खपत हुने भएकाले कुनै समस्या नभएको उहाँको भनाई छ । परिवारसँगै वसेर व्यवसायमा रमाउँदा आनन्द महशुस हुने उहाँले अनुभव सुनाउनुभयो । विक जस्तै जिल्लामा पछिल्लो समय विदेशबाट फर्किएर बंगुरपालन व्यवसायमा रमाउने युवा किसानहरु प्रशस्त छन् । बंगुरका पाठापाठी र मासु बिक्री गर्न कुनै समस्या नरहेको उनीहरुको भनाइ छ । वर्षको चार पटकसम्म ब्याउने बंगुरले एक पटकमा १२ देखि १६ वटासम्म बच्चा जन्माउने किसान डम्बर विकले बताउनुभयो । १० वर्ष साउदी कतारमा बसेर स्वदेश फर्केका विकले बेनीको मङगलाघाटमा व्यवसायिक बंगुरपालन व्यवसाय गर्नुभएको छ ।
जिल्लामा युवाहरुले सुरु गरेको बंगुरपालन व्यवसाय फस्टाउँदै गएको जिल्ला पशुसेवा कार्यालय म्याग्दीका वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले बताउनुभयो । परम्परागत रुपमा एक दुई वटा बंगुर पाल्दै आएका यहाँका किसानले हिजोआज व्यवस्थित तरिकाले व्यवसाय गर्न थालेका छन् । गाउँ गाउँमा समूह, सहकारीका साथै व्यक्तिगत रुपमा बंगुरपालन गरेर किसानले यथेष्ट आम्दानी गर्न थालेका छन् ।जिल्लामा अहिले ३० जना भन्दा वढी युवा व्यावसायिक तरिकाले बंगुरपालन व्यवसायमा लागेका छन् । चार वर्षयता व्यावसायिक रुपमा बंगुरपालन गर्ने युवाको संख्या बढेको वरिष्ठ पशु चिकित्सक चापागाईले बताउनुभयो । थोरै समयमा मनग्य आम्दानी हुने भएपछि युवा बंगुरपालन व्यवसायतर्फ आकर्षित बनेको उहाँको भनाई छ । सहकारी खेती बंगुरपालन कार्यक्रमअन्तर्गत आव २०७२/७३ मा साढे आठ लाख रुपियाँ अनुदान वितरण गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।