पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १३ साउन ।
म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक दर्जनौ ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध हुदा उत्तरी म्याग्दीको दश गाविसका साथै मुस्ताङको सिधा यातायात सम्र्पक बिच्छेद भएको छ । स्थानीय बासिन्दा, पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने आउने तिर्थयात्रीहरु ७६ किलोमिटर दुरीको सडकमा कम्तीमा पाँच ठाउँमा गाडी परिवर्तन र पैदलयात्रा गर्न बाध्य भएका छन् ।DSC02273

मुस्ताङमा उत्पादीत गाजर लगायत तरकारी र म्याग्दीको उत्तरी क्षेत्रबाट आलु निकासीमा समस्या भएको छ । म्याग्दी खण्डको चमेरे, बैसरी, रातोपानी, घट्टखोला र काभ्रेभिर लगायतका स्थानमा खसेको पहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएको प्रहरी नायव उपरिक्षक विश्वराज खड्काले बताउनुभयो ।

उहाँका अनुसार चमेरे खण्डको दुई ठाउँमा करिब बिस मिटर सडक मानिस समेत हिड्न नमिल्ने कालीगण्डकीमा भासीएको छ । यसैबीच म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, प्रनाउ खड्का लगायतको टोलीले पहिरोले क्षत्ती गरेको सडकको स्थलगत निरिक्षण गरि खुलाउन पहल थालेको जनाएको छ ।

म्याग्दी र मुस्ताङ जोड्ने ब्यापारीक, पर्यटकीय, धार्मीक हिसावले महत्वपूर्ण बेनी जोमसोम सडक खुलाउन सडक डिभिजन कार्यालय बागलुङसंग समन्वय गरेको प्रजिअ आचार्यले बताउनुभयो । दानाको घट्टेखोलामा डोजर परिचालन गरेर बाढीले कटान गरेको सडक मर्मत सुरु भैसकेको छ । अन्य ठाउँमा पनि पहिरो पन्छाउने, नयाँ ट्याक खोल्ने र मर्मत गर्न पहल गरिरहेको प्रजिअ आचार्यले बताउनुभयो ।